कोरोना संकट र विपदमा सामुदायिक रेडियोको भुमिका

जहाँ पनि सहज रुपमा लैजान मिल्ने र सुनेर मात्र पुग्ने साधन भएकोले पनि सुचना प्राप्तिका लागि आमसञ्चारको सबैभन्दा उपयुक्त माध्यम रेडियो नै हो । त्यसैले संकट र विपद्मा पनि रेडियोकर्मीले जोखिम मोले रै भए पनि महामारी र विपद्को समयमा सूचना तथा सन्देशहरु प्रशारण गर्नुपर्दछ । सरकारले यस्तो अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीको लागिसमेत गम्भिर भएर सोच्नु पर्दछ । विगतमा नेपालका सामुदायिक रेडियोहरु शासन ब्यवस्था र अन्य विपद्विरुद्ध लड्यौं, अब कोरोनाविरुद्ध लडौं ।

विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतिय चुम्वकिय तरङ्गको सिद्धान्तको प्रतिपादन सन १८६० मा भए पनि रेडियोको प्रसारण भने सन् १९१९ देखि भएको हो । अमेरिकाको पिटसवर्ग शहरमा वेष्टिङ हाउस कम्पनीले विश्वमानै पहिलो पटक व्यवसायिक रेडियो प्रसारण सुरु गरेको हो । त्यसको लगतै सन १९२० को दशकमा बेलायतबाट रेडियो प्रसारणले गति लियो । सन १९२२ मा ब्रिटिस ब्रोडकाष्टिङ कम्पनीको स्थापना भएको रेडियो सन् १९२७ मा आएर ब्रिष्टिस ब्रोडकाष्टिङ् कर्पाेरेशनमा परिणत भएको थियो । जुन रेडियो आज संसार भर बीबीसीको नाम बाट परिचित छ । सबैभन्दा पहिले स्थापना भएको रेडियो बीबीसी रेडियोले आज संसारभरका मानिसहरुलाई धेरै भाषामा समाचार प्रसारण गरिरहेको छ । यसरी सुरु भएको रेडियो प्रशारणको प्रविधिले बिस्तारै विश्वव्यापीकरणको रुप लिन पुग्यो ।

नेपालमा रेडियो विकासको इतिहास फर्केर हेर्दा ताररहित सञ्चार प्रबिधिलाई आत्मसाथ गर्दै राज्यव्यवस्था परिवर्तनको सन्र्दभमा द्रुतमार्गबाट सुचना सम्प्रेषण गर्नकालागी रेडियो सञ्चलनमा आएका पाइन्छन् । विस २००७ सालमा राणा विरुद्ध थालेको शसस्त्र आन्दोलनदेखि लिएर तत्कालिन शशस्त्र द्वन्द्वको समयमा तत्कालिन माओवादीले सञ्चालनमा ल्याएको डोको रेडियो नै किन नहोस् यि दुवै प्रतिनिधिमुलक घटना हुन् । राणा शासकहरुको विरोधमा भूमिगत रुपमा देशको प्रमुख बजारहरमा आन्दोलनको तयारी हुँदै थियो । एक्कासी रेडियोको आवाज नेपाली जनताले सुन्न थाले । २००७ सालको मंसिर २८ गते बिहान ८ः३० बजे रेडियो प्रसार सुनिन थाल्यो ‘यो नेपाल प्रजातन्त्र रेडियो हो अहिले हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ ।’ राणा शासनको विरुद्धमा विराटनगरको जुटमिलको एउटा बन्द कोठाबाट त्यतिबेला आकाशवाणी सेट राखेर ४१ मिटर ब्याण्ड सर्टवेभमा प्रसारण प्रारम्भ गरिएको थियो । यसरी संघर्षको लागी सञ्चालनमा आएको रेडियोले तत्कालिन समयमा संघर्षका समाचार प्रसारित गर्न उपयोगि माध्यम मानिएको थियो । यसरी २००७ सालमा प्रजातन्त्र प्राप्त भएपछि चैत्र २० गतेदेखि औपचारीक रुपमा नेपालमा रेडियो बज्न थालेको हो ।

भने शसस्त्र द्वन्द्वको समयमा पनि तत्कालिन नेकपा माओवादीले आफ्नो एजेण्डा तथा गतिविधिहरु जंगल जंगलबाट डोको रेडियो गैरकानूनी ढङ्गले भएता पनि प्रशारण गरेको थियो । २०५४ जेठ ९ मा आएर रेडियो सगरमाथाले इजाजत प्राप्त गरेपश्चात मात्र नेपाली सञ्चार जगतमा निजि क्षेत्रबाट एफएम प्रणालीको इतिहास सुरु भएको हो । नेपालमा मात्र नभएर दक्षिण एशियाकै पहिलो सामुदायिक एफएम रेडियोको रुपमा सरगमाथाले आफ्नो प्रशारण सेवा सुरु ग¥यो ।

नेपाली रेडियोको इतिहासलाई नजिकबाट निहाल्ने हो भने यसको सबैभन्दा छिटो विकास भएको पाइन्छ । हाल नेपालमा तीनसय ५० भन्दा बढी सामुदायिक रेडियोहरुले समुदायस्तरबाट सेवा प्रवाह गरिरहेको छन् । पछिल्लो तथ्याङक अनुसार नेपालका ९० प्रतिशत नागरिकसम्म एफएम रेडियोको पहँुच पुगेको छ भने ६० भन्दा धेरै भाषामा समाचार एवं कार्यक्रमहरु प्रशारण गरेर भाषा संस्कृतिको प्रबद्र्धनमा समेत रेडियोले अमूल्य योगदान पु¥याउदै नागरिकको सूचनाको साथि एफएम रेडियो नै बनेको छ । त्यतीमात्र होइन नेपाल जस्तो अविकसित मुलुकका लागि रेडियोले समग्र जनतालाई विकासको मूलधारमा ल्याउनको लागि नागरिकलाई सुसुचित पार्ने र नराम्रो पक्षको खबरदारी गर्नको लागि पनिठूलो भूमिका खेल्दछ । स्थानीय भाषामा सामाग्री प्रसारण गर्ने हुनाले यस्ता रेडियोबाट प्रसारित सामग्रीप्रति नागरिकको चासो र जनबिश्वास रहन्छ ।

संकट र विपतमा भुमिका ः

समुदायमा सामुदायिक रेडियोको विश्वासमात्रै होइन समुदायको अपनत्वसमेत रहेको छ । सुखमा सूचना र मनोरञ्जन दिने मात्र होइन आपत्, विपद् र संकटको बेला सही सूचना प्रवाह गरेर नेपालको सामुदायिक रेडियोहरुले कयाँै नागरिकको ज्यान तथा स्वास्थ्य जोगाएको ताजा इतिहास हामीमाझँ छर्लङ्ग छ । चाहे त्यो विस २०७१ सालको बाढी पहिरोको प्रकोपको बेला पूर्वसूचना प्रणली प्रशारण र उद्दारको लागि पहलकदमीमा खेलेको भुमिका होस् चाहे त्यो २०७२ सालको बिनासकारी भुमम्पको बेला सूचना सन्देश प्रवाह गरेर किन नहोस, नेपाली समुदायको अगाीड हाम्रा सामुदायिक रेडियोहरु विश्वासिलो सहयोगी साथी बनेका छन् । हाल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वसमुदाय नै आक्रान्त बनि महामारीको चपेटामा परिरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण देखिएको छ ।
यो लेख तयार पार्दा सम्म विश्वभर साढे १२ लाखभन्दा बढी कोरोना संक्रमित, करिब ७० हजारको मृत्यू भईरहेको छ भने २ लाख ६० हजार संक्रमितहरु निको भइसकेको जोनहप्किन्स विश्वविद्यालयले तथ्यांक सार्वजनिक गरेको छ भने नेपालमा हालसम्म नौ जना संक्रमित फेला परेता पनि कसैले पनि ज्यान गुमाउनु नपरेको सुखद् पक्ष रहेको छ । व्यक्तिको माध्यमबाट यसको छिटो संक्रमण फैलने हुँदा उक्त संक्रमण फैलन नदिन नेपाल सहित विश्वका धेरै मुलकहरुले लकडाउन गरिररहेका छन् ।

शक्ति पुथकिकरणको सिद्धान्त अनुसार राज्यका अंगहरु व्यवस्थापिका कार्यपालिका र न्यायपालिका पछिको दायित्व संचार क्षेत्रको भएको र त्यसमाथि पनि नेपालजस्तो भौगोलि बिकटता र विकासोन्मुख मुलुकमा सूचना स्रोतको अधिकांश हिस्सा ओगटेको सामुदायिक रेडियोहरुको सामु ठुलो र गह्रौ जिम्मेवारी थपिएको छ । कोरोना संक्रमण हुनबाट जोगिन सरकारले लिएको राष्ट्रिय अभियानलाई साथ दिनुका साथ साथै तथ्यपरक र यथार्थ जानकारी तथा सूचाना सन्देशहरु प्रशारण गरी आम नागरिक र समुदायलाई नै सचेत बनाउनु र संक्रमण भइहालेमा कसरी स्वास्थ्यलाभ लिन सकिन्छ भनि जानकारी दिनु अहिले सामुदायिक रेडियोहरुको प्रमुख दायित्व हो । हाल सामुदायिक एफएम रेडियोहरुलो निम्न कार्यमार्फत कोरोना जोखिम न्यूनिकरणमा भुमिका निर्वाह गर्न सक्दछन् ।
– पुर्व कोरोना चरण, कोरोना चरण र कोरोना पछिको चरणमा स्वास्थ्यको कसरी ख्याल राख्ने भन्नेमा हचुवामा जानकारहरुको धारणा नभई उपलब्ध स्वास्थ्यकर्मी तथा बिशेषज्ञहरुसँग अन्र्तवार्ता लिएर,
– सकारका विभिन्न अंग र निकायहरुले तयार पारेको सचेतनामुलक सामग्रीहरु पिएसएका रुपमा सशुल्क र निःशुल्क रुपमा प्रशारण गरेर,
– यस्तो अवस्थामा समचार बुलेटिनको संख्या बढाउने, यस्तो अवस्थामा अरु बिषयबस्तुहरु कम प्राथमिकतामा पर्ने भएकोले कोारोना भाइरससँग समबन्धित रेडियो सामग्रीहरु लाई बढी स्थान दिई प्रमुख प्राथमिकताका साथ प्रशारण गर्ने ।
– संघ, प्रदेश र स्थानिय सरकार अन्तर्गतका स्वास्थसंस्था र सुरक्षा संयन्त्र आदिले कोारोना नियन्त्रणका लागि गरिरहेको प्रयासहरुको बारेमा रेडियो सामाग्रीहरु प्रशारण गर्नेे ।
– कुन–कुन समस्यामा कस्तो निकायलाई कसरी सम्र्पक गर्ने भनि स्वास्थ्यकर्मी, प्रशासन, सुरक्षा संयन्त्र, र उद्दार टोली आदिको सहज पहँुच स्थानियमा पु¥यान सक्नेगरी सम्र्पक ठेगाना, टेलिफोन नम्बर, टोलफ्रि नम्बर र मोबाइल नम्बरहरु पिएसएको रुपमा प्रशारण गर्ने
– स्थानिय प्रशासनले लकडाउनको बेलामा दिने सुचना तथा माईकिङ गर्दाका बखत आवश्यक पर्ने अडियो सन्देशहरु निःशुल्क रुपमा रेकर्ड गरेर उपलब्ध गराउने
– महामारी र बिपत्तिको समयमा चोरी र तस्करी घटनाहरुको सम्भावना बढी भएकोले यस्तो बिषयमा पर्याप्त मात्रामा सजक र सावधान हुन नागरिकलाई सुचित गर्ने ।

समुदायिक रेडियो र रेडियोकर्मीहरुको लागि पनि यो माहामारी अरु माहामारी जति सजिलो छैन । सुरुमा आफु जोगिदै अरुलाई सचेत बनाउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । यस्तो अवस्थामा स्वंयम रेडियोकर्मिहरुले सुचना संकलन र अन्र्तवार्ताहरु सकेसम्म टेलिफोन, इमेल इन्टरनेटबाट नै लिने गरौ । त्यो सम्भव नभएको अवस्थमा मास्क तथा पञ्जा लगाएर तोकिएको दुरीमा बसी सम्बन्धित पक्षसँग सुचना लिने र प्रशारण गर्ने गरौ । स्टुडियो भित्रको कम्प्यूटर, ल्यापटप, मिक्सर तथा रेकर्डर सामाग्रिहरु प्रयोग गर्दा पञ्जाको प्रयोग गर्ने र सेनिटाइजर साथमै बोकेर हिड्ने गरौँ ।

एफएम रेडियोहरुबाट आम नागरिकहरुले सहजै सुचना प्राप्त गर्न सक्दछन् । पत्रिका तथा अनलाइन जस्तो ध्यान दिएर पढ्नुपर्ने र टेलिभिजन जस्तो स्क्रिन अगाडि एकटकले बसेर हेर्नुपर्ने भएको र जाहाँ पनि सहज रुपमा लैजान मिल्ने र सुनर मात्र पुग्ने साधन रेडियो भएकोले सुचना प्राप्तीको लागि सञ्चारका सबैभन्दा उपयुक्त एफएम रेडियो नै हो । देशभर ७७ वटै जिल्लाहरुबाट प्रशारण भइरहेका एफएमहरु जहाँ पत्रिका, टिभि र अन्य संचार माध्यमको पहँुच हँुदैन, त्यहाँ रेडियो पुग्ने भएकोले यति बेलाको कोरोना बिरुद्धको लडाँइमा समुदाय स्तरबाट संचालित सामुदायिक रेडियोहरु आफ्नो कर्तव्यबाट टाढा नभई स्वःसुरक्षा अपनाई समयमानै यो महामारी बिरुद्धको राष्ट्रिय अभियानमा सरिक हुन जरुरी छ । (कँडेल सामुदायिक रेडियो प्रशारक संघको, कर्णली प्रदेशका सदस्य हुन् । २०७६ चैत २५ गते युगअाव्हान दैनिकमा प्रकाशित ।

तपाईको प्रतिक्रिया