बाढीपहिरोले कालीकोटमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध

कालीकोट, २० साउन ।
साता दिनदेखिको अविरल वर्षाले कालीकोटका रास्कोट, नरहरिनाथ र सान्नी त्रिवेणीमा खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । बाढी पहिरोले कालीकोटमा २२ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्लाभर १ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । पाँचसय घरहरुमा आशिंक क्षति पुगेको छ ।

पहिरोले रास्कोट नगरपालिकाका २९ वटा खानेपानी स्किम बाढी पहिरोले बगाएको छ भने १४ वटा सिँचाई कूलो भत्काएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताए । ‘क्षरास्कोट त टापुजस्तो भयो । नगर प्रमुख बरालले भने, ’हिँड्ने सडक छैन, पिउने पानी छैन, विद्युत् नहुँदा मिल चल्दैन, खोलाका घट्ट सबै बगिसके ।’ नगर प्रमुख बरालकाअनुसार रास्कोटमा मात्र ३ सय ६० परिवार विस्थापित भएका छन् ।

पहिरोले रास्कोट नगरपालिकामा खानेपानी र सिँचाईको सेतुका रुपमा प्रयोग भएका फुगाड, लडे खोला, बगाने खोला, घट्टे खोला, बुढीसैन, तुसारे खोलामा आएको बाढीले सबै संरचना क्षतिविक्षत पारेको छ । बडोलतोला, बलेढुंगा, घट्टेगडा, लहरेला, चोक्टेबगर, तामाकोट, पुछुडेबाडा, सेराचौर, औल, बड्डाला, गैरा, पुच्छेगाउ, ओखलढुंगा, डाडागाउँ, बाइती, सिम र बाखरकोट, फडेराडा, राताखाल, कुमालवाडा बस्तीका बासिन्दालाई जोखिमबाट बचाउन विद्यालय र चउरमा राखिएको नगरले जनाएको छ । पहिरोमा हराएकालाई पाँच दिनसम्म प्रहरीले खोजे पनि भेटाउन सकेको छैन । बाढीपहिरोले कर्णाली करिडोरको फुगाडमा हालिएको बेलिब्रिज क्षतिग्रस्त छ । गाउँ पुग्ने सडक पनि सबै अवरुद्ध छन् ।

नरहरिनाथमा चारसय ९४ घरधुरी विस्थापित
बाढी पहिरोले नरहरिनाथ गाउँपालिकामा चारसय ९४ घर परिवार विस्थापित भएको पालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनकाअनुसार आठ सय ८५ घर पहिराको जोखिममा छन् । गाउँपालिकामा २१ घर पहिरोले भत्किएका छन् ।

स्थानीय तह र प्रहरीको तथ्यांक बाझियो
बाढी पहिरोले क्षति भएका भौतिक संरचना र नागरिकको चलअचल सम्पत्तिको स्थानीय तहले बढाइचढाई गरेर क्षतिको विवरण दिने र प्रशासनले बुझ्दै छ भन्दै क्षतिलाई न्यूनीकरण गर्ने गरेको पाइएको छ । आइतबार बिहानसम्म प्रहरीले जिल्लाभर ६१ घर भत्किएको मुचुल्का तयार पारेको भने अन्य क्षति पनि स्थानीय तहले दिएको विवरणभन्दा कम छ ।

प्रहरीकाअनुसार रास्कोट १ बडोलतलामा नौ परिवारका ५८ जना, लहरेला सागाटियामा २५ घर परिवारमात्र विस्थापित भएका छन् । धेरैजसो घाम लागेपछि आफ्नो घर फर्किसके । त्यस्तै, नरहरिनाथमा पनि प्रहरीकोभन्दा पालिकाले क्षति धेरै देखाएको छ । प्रहरीले सबैभन्दा बढी नरहरिनाथ ४ माझगोठीमा २५ घरपरिवारका एकसय एकसय ३७ जना विस्थापित भएको जनाएको छ भने गाउँपालिकाले दुईसय ३२ घरधुरी विस्थापित देखाएको छ ।

सान्नी त्रिवेणीमा प्रहरीले १० घरमा ५० जना विस्थापित भएको जानकारी दिएको छ भने पालिका उपाध्यक्ष होइजा बुढाले ५० घरका एकसयभन्दा बढी विस्थापित भएको सुनाइन् । बाढी पहिरोको विस्तृत रुपले तथ्यांक संकलन प्रहरीमार्फत भइरहेकोले आउने बुधबारको जिल्ला विपद् ब्यवस्थापन समिति बैठकमा सबै विवरण आउने प्रजिअ चन्द्रप्रसाद गैरेले बताए ।

अझै राहत पाएनन्
पहिरोको अनुगमन गर्न हेलिकप्टर चढेर मुख्यमन्त्री लगायतको टोली गाउँ पुगे पनि पीडित परिवारले अझै राहत पाउन सकेका छैनन् । नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाका पहिरो पीडितको बिचल्ली छ । स्थानीय सरकार र प्रहरी प्रशासनले क्षतिको सबै विवरण दिन सकेको छैन । क्षतिको विवरण नहुँदा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले पनि पीडितलाई सहयोग सकेका छैनन् । (कान्तिपुर)

बाढीपहिरोले कालीकोटमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध

YUGAAWHAN NATIONAL DAILY (2077-04-20)

बाढीपहिरोले कालीकोटमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध

सिपाही कामरेडकाे पिडा : अध्यारोमा धकेलिएको जिन्दगी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds