कोरोना संक्रमणबाट चीनभन्दा इटलीमा धेरै मानिसको मृत्यु

कोरोना भाइरस अर्थात् कोभिड नाईन्टिनको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ६ सय २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या चार हजार ३२ पुगेको छ ।

विश्वभर मृत्यु हुनेको संख्या ११ हजार तीन सय ८३ पुगेको छ । इटलीमा हिजो झण्डै ६ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ४७ हजार पुगेको छ । हिजो अन्य देशको मृत्युदर पनि उच्च रहेको छ । स्पेनमा दुईसय ६२ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ ।

त्यस्तै इरानमा शुक्रबार एकसय ४९ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या एक हजार चार सय ३३ पुगेको छ भने संक्रमितको संख्या १८ हजार ६ सय ४४ पुगेको छ । अमेरिकामा हिजो ४९ जनाको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन पाँच हजार ६ सय पाँच जना संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितको संख्या १९ हजार नाघेको छ ।

त्यस्तै हिजो फ्रान्समा ७८, स्वीट्जरल्याण्डमा १३, बेलायतमा ३३, नेदरल्याण्डस्मा ३०, बेल्जियममा १६ तथा दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ । भारतमा पनि संक्रमितको संख्या लगातार बढेको छ । शुक्रबार एकै दिन ५५ जना संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या दुईसय ४९ पुगेको छ । भारतमा हालसम्म पाँच जनाको मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय ८४ पुगेको छ । संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ९१ हजार पाँच सय ३३ पुगेको छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया