कोरोना संक्रमण देखिए पकेट एरिया लक डाउन गरिने

काठमाडौं : देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिए सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेकका सेवा तथा पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए ।

‘अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ ।’ कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए ।

उनका अनुसार देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ । स्थानीय तहले पनि स्वास्थ्यकर्मी परिचालन गरेका छन् । नेपालमा अहिलेसम्म साढे चार सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कसैमा संक्रमण नदेखिएको देवकोटाले बताए। संक्रमित देशबाट आउनेहरुले कोरोना फ्री सर्टि्फिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनले टेकु अस्पतालमा चार र पाटन अस्पतालमा दुई जना गरी ६ जना आइसोलेसनमा रहेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया