विभिन्‍न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय

Photo : thahakhabar

जुम्ला : हिमाली जिल्ला जुम्लामा फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र भएको छ । शैक्षिक सत्र सुरु भएसँगै जुम्लामा यतिबेला सामुदायिक विद्यालयले विभिन्‍न वहानामा शुल्‍क उठाउने गरेको पाइएको छ ।

विद्यालयहरूले भर्नाबापत प्रवेश शुल्क र अध्ययनरत पुराना विद्यार्थीहरूलाई कक्षा अपग्रेड गर्नका लागि भन्दै शुल्क अशुल्ने गरेको पाइएको हो । सरकारले सामुदायिक विद्यालयलाई कुनै शुल्क उठाउन नपाइने भन्दै निर्देशन गरेको छ । तर, तिला गाउँपालिका ३ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयले प्रति विद्यार्थी एक सय रुपैयाँ उठाउँदै आएको पाइएको छ ।

तिला गाउँपालिका ३ दानीवाडाकी उमा लुवार आफ्नो छोरो राजेश लुवारलाई कक्षा–६ मा भर्ना गर्न विद्यालयमा पुगिन्। तर, विद्यालयमा कार्यरत्त शिक्षकले नै १ सय शुल्क मागेपछि उनी झसंग भइन् । उनले भनिन्, ‘निःशुल्क शिक्षा भनेर विभिन्न सञ्चार माध्यममा समाचार सुन्छौँ तर व्यवहारमा त्यस्तो छैन ।’

उनले आफूहरू जस्ता न्यून आयस्रोत भएका नागरिकले दाउरा बेचेर पनि सामुदायिक विद्यालयमा शुल्क तिर्नुपर्ने बाध्यता रहेको सुनाइन् । शुल्क तिर्न नपरेको भए यही एक सय रुपैयाँ पनि छोरालाई कापी कलम किन्‍न हुने उनको गुनासो छ । त्यस्तै, कक्षा ९ मा अध्ययनरत दीपक थापाको पनि गुनासो उस्तै छ ।

उनी भन्छन्, ‘कहिले कक्षा कोठा व्‍यवस्थापन त कहिले आइडी, कहिले कक्षा अपग्रेडका लागि भन्दै हामीले शुल्क तिर्ने गरेका छौँ ।’ गत वर्षको भर्ना रजिस्टार हेर्दा सरस्वती माध्यमिक विद्यालयमा झण्डै ७ सय विद्यार्थी अध्ययनरत छन ्। प्रतिविद्यार्थी एक सयका दरले उठाएको रकमले ७० हजार पुग्छ ।

तपाईको प्रतिक्रिया