वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गरिदै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गरेर भए पनि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘गृहकार्य’ थालेको छ । शनिबार बसेको नेकपा सचिवालयको बैठकले संविधान संशोधनको लागि कार्यदल गठन गरेको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र कानुनविद् तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको ३ सदस्यीय कार्यदल गठन गरेको हो । अहिले नेकपाले वामदेवलाई नै प्रधानमन्त्री बनाउन बाटो फुकाउने गरी प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको हैसियत एकै बनाउन संविधान संशोधन गर्न लागेको छ ।

संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको स्रोतले जानकारी दिएको छ । मौजुदा संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था छ । संविधानको धारा ७६ (१)मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उसकै अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने व्यवस्था छ ।

कार्यदलले यो व्यवस्था परिवर्तन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र तल्लो (प्रतिनिधिसभा) र माथिल्लो सदनका सदस्यहरूको हैसियत बराबर बनाउन गृहकार्य गर्ने स्रोतले जानकारी दियो । स्रोतका अनुसार वामदेव केही समयदेखि जसरी पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको निर्वाचन हारेपछि उनी उपनिर्वाचनका लागि ठाउँ खोज्दै हिँडे ।

काठमाडौं–७ सम्म आइपुग्दा १४ ठाउँ प्रयास गरे पनि उपनिर्वाचनका लागि परिस्थिति अनुकूल बनेन । त्यसपछि गौतमले राष्ट्रियसभाबाट भए पनि प्रधानमन्त्री बन्ने दाउ हेरिरहेको नेकपाका सचिवालय तहका नेता बनाउँछन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न संविधान बाधक छ । तर, अध्यक्ष प्रचण्डले संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बन्न बाटो खोलिदिने बताएपछि वामदेव हौसिएको स्रोतको दाबी छ ।

गत पुस १८ गते अगावै संविधान संशोधनका लागि पार्टीभित्र सहमति तयार पार्ने प्रचण्डको आश्वासन थियो । तर ओली तयार नभएपछि वामदेव आफैं उमेदवार बन्न रोकिएका थिए । पछिल्लो पटक नेकपाको समीकरण बदलिएको छ । पार्टी सचिवालयमा प्रचण्ड–नेपाल समूहको बहुमत छ । स्थायी कमिटी र केन्द्रीय कमिटीको अवस्था पनि त्यस्तै छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसन मोलमोलाइ गरेको अडियो टेप बाहिरिएसँगै बहिर्ग्मित भएपछि ओली थप रक्षात्मक बनेका छन् ।
यही मौका पारेर अध्यक्ष प्रचण्डले संविधान संशोधन गरेर भए पनि वामदेवलाई प्रधानमन्त्री बनाउने बाटो खोज्दै हिँडेको र यही खेलोमा कार्यदल गठनको प्रस्ताव ल्याएको स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया