स्वास्थ्य संस्थामा छैन प्रयोगशाला : कर्मचारी नहुँदा लाखौंका उपकरण प्रयोगविहीन

सुर्खेत : भेरीगंगा–११ रामघाट स्वास्थ्य चौकी भवन बन्दै गर्दा पुष्पा ओलीलाई लागेको थियो अब निजी मेडिकलमा धाउने दिन सकिए । घरको आँगनमै भव्य स्वास्थ्य चौकीको भवन बन्यो ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवरवाले स्वास्थ्य र शिक्षालाई प्रमुख मुद्दा बनाए । चुनाव सकिएको वर्षदिन नपुग्दै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सुरु हुने हल्ला चल्यो । नभन्दै स्वास्थ्य संस्थामा प्रयोगशालाका उपकरण पनि ल्याइयो ।

उपकरण नै आएपछि उनले मनमनै सोच्न थालिन् । अब साचिक्कै छिन्चु र मेहलकुना जानुपर्ने बाध्यता हट्ने भयो । दुई चार पैसा भए पनि जोगिने भयो । तर उनको सोचाई, सोचाइमा मात्रै सीमित भयो । उपकरण आए पनि स्वास्थ्य संस्थामा प्रयोगशाला सुरु भएन । अहिले पनि ओलीलाई स्वास्थ्य परिक्षणका लागि छिन्चु जानुपर्छ ।

‘रगत र दिसापिसाप जाँच्नुप¥यो भने कहिले छिन्चु त कहिले मेहलकुना जान्छु ।’ ओली भन्छिन् ‘आँगनमै स्वास्थ्य संस्थाको ठूलो भवन मात्रै भएर के गर्नु ? कहिलेकाँही औषधिसमेत पाउँदैन ।’ भेरीगंगा – १३ रामघाटका तपेन्द्र बुढालाई स्वास्थ्यमा समस्या आउँदा प्रयोगशाला सेवा लिन मेहलकुना जानुपर्छ ।

‘गाउँको स्वास्थ्य संस्थामा चेकजाँच मात्रै हुन्छ, न औषधि पाइन्छ न प्रयोगशाला छ’ उनी भन्छन् ‘लाखौंका उपकरणहरु थन्काइएका छन् तर नागरिकले पैसा खर्च गरेर नीजि स्वास्थ्य क्लिनिकमा धाउनुपर्छ ।’ तपेन्द्र र पुष्पा मात्रै होइन । स्वास्थ्य संस्थामा ल्याव (प्रयोगशाला) सेवा भएर पनि कर्मचारी नहुँदा नागरिकले सेवा पाउन सकेका छैनन् ।

गत आर्थिक वर्षमा संघीय सरकारको स्वास्थ्य महाशाखाले भेरीगंगा नगुरपालिकाका विभिन्न स्वास्थ्य कार्यालयका लागि ल्याव सेवा सञ्चालनका लागि आवश्यक उपकरणहरु उपलब्ध गराएको थियो ।
तर ल्याव सेवातर्फका कर्मचारी नहुँदा भेरीगंगाका कुनै पनि स्वास्थ्य संस्थामा ल्याव सेवा सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य संस्थामा ल्याव सेवा सञ्चालन नहुँदा भेरीगंगा नगरपालिकाका नागरिक रोगको परिक्षणका लागि निजी मेडिकलहरुमा धाउनुपर्ने बाध्यता रहेको छ ।

यता स्वास्थ्य चौकी रामघाटका प्रमुख कृष्ण रावतले पनि स्थानीय तहले कर्मचारी खटाउन नसक्दा ल्याव सेवा सञ्चालन गर्न नसकिएको बताए । ‘ल्याव सेवा सञ्चालनमा नआउँदा कतिपय सामाग्रीहरुको म्यादसमेत सकिन थालेको छ’ रावत भन्छन् ‘नगरपालिकाले कर्मचारी खटाउन नसकेपछि सेवा सञ्चालन गर्न सकेका छैनौं ।’ दैनिक करिव ५० जनाभन्दा बढी बिरामी आउने स्वास्थ्य संस्थामा दैनिक ५-६ जनामा रोग चेकजाँचका लागि पीरक्षणका लागि निजी स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

ल्यावमा प्रयोग हुने कतिपय केमीकलको म्यादसमेत सकिएको प्रमुख रावतको भनाइ छ । यता भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले भने अर्काे आर्थिक वर्षदेखि ल्याव तर्फका कर्मचारी व्यवस्थापन गरिने बताइन् । ‘नगरपालिकासँग समन्वयमा ल्यावका सामग्रीहरु ल्याएको होइन जसले गर्दा हामीले कर्मचारीका लागि बजेट व्यवस्थापन गर्न सकेनौं’, उनी भन्छन् ‘आगामी आर्थिक वर्षदेखि नगरका सबै स्वास्थ्य संस्थामा ल्याव सेवा सञ्चालनमा आउने छ ।’

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि छैन

सरकारले स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधिहरु निःशुल्क पाउने व्यवस्था गरेको छ ।

सबै नागरिकसम्म स्वस्थ्यको पहुँच पु¥याउन र विपन्न नागरिक उपचारबाट बन्चित नहोस् भन्नका लागि निःशुल्क औषधिहरु वितरण गर्दै आएको छ । तर भेरीगंगा नगरपालिका ११ को रामाघाट स्वास्थ्य चौकीमा भने अत्यावश्यक चार प्रकारका औषधिहरु छैनन् ।

सर्पदंश र विषादी सेवा गरेका बिरामीको लगायत चार प्रकारका औषधिहरु स्वास्थ्य संस्थामा छैन । जसमध्ये विष सेवन र सर्पको टोकेका विरामीहरुलाई दिइने औषधि अत्यावश्यक मानिन्छ ।

‘हामीले केन्द्रमासम्म खबर गरेका छौँ तर केन्द्रबाट सिधै स्वास्थ्य संस्थालाई औषधि दिँदैन’ प्रमुख रावतले भने ‘नगर स्वास्थ्यले झिकाएपछि मात्रै संस्थाले लिन पाउँछन्, जसले गर्दा महिनादिनसम्म औषधि अभाव हुँदै आएको छ ।’

तपाईको प्रतिक्रिया