बाँके र बर्दियालाई कर्णालीमा गाभ्न समिति गठन

नेपालगञ्ज : बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने भएको छ ।

यसका लागी नेपालगञ्ज उपमहानगरका प्रमुख धवलशम्सेर राणा सहित नेकपा, नेपाली कांग्रेस, राप्रपा लगायत दल र अरु सरोकारवालाको छलफल भएको छ । छलफलबाट १७ सदस्यीय समिति गठन भएको नेकपाका नेता रत्न खत्रीले बताए । बैठकले कर्णालीमा समायोजनका लागि बाँके र बर्दियाका सांसद, दल र सरोकारवालादेखी जनतासँग छलफल चलाउने पनि निर्णय गरेको छ ।

आन्दोलन गर्ने सम्मको योजना छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँकेमा कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको हो । संविधान निर्माणको समयमा समेत सुर्खेतसँग मिसिनुपर्ने आवाज उठे पनि मधेस आन्दोलनका कारण चर्किन सकेको थिएन । पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले सार्वजनिक कार्यक्रममा नेपालगञ्जको विकासका लागि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउँदै आएका छन् ।

नेपालगञ्जका उद्योगी व्यवसायीहरु पनि आर्थिक हिसावले पनि नेपालगञ्ज कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा रहेका छन् ।
समितिले आन्दोलनको वातावारण तयार पार्नका लागि बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद लगायतसँग छलफल गर्ने, बर्दियासँग समन्वय गरि अघि बढ्ने सहमति गरेको छ । समितिमा राजनीति दलको समेत प्रतिनिधित्व रहेका कारण यसपटक आन्दोलन बलियो बन्ने राप्रपाका नेता ऋषिराज देवकोटाले बताए

तपाईको प्रतिक्रिया