सशस्त्र द्वन्द्वको अन्त्यपछि फेरिएको ‘पिली गाउँ’


कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका–७ पिली गाउँ सशस्त्र द्वन्द्व अन्त्यपछि फेरिएको छ । कुनै बेला युद्धस्थलका रुपमा चिनिने पिली गाउँ अहिले युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास हुन चरणमा छ ।

खाँडाचक्र नगरपालिकामा पर्ने साविकको दाहाँ गाविसस्थित पिलीलाई युद्ध पर्यटकियस्थल बनाउन स्थानीयले अभियान थालेका छन् । माओवादी जनयुद्धको बेला तत्कालिन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको स्थान पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा स्थानीयले विकास गर्न लागेका हुन् ।

माओवादीले २०५२ सालबाट थालेको सशस्त्र द्वन्द्वका समयमा अन्तिम तथा सबैभन्दा बढी मानविय क्षति भएको पिली गाउँलाई युद्ध पर्यटन क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

२३ साउन २०६२ मा माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकिय स्थलका रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढेको स्थानीय मानबहादुर मल्लले बताए ।

‘माओवादी र तत्कालिन शाही सेनाको सबैभन्दा ठुलो युद्ध यही भएको थियो,’ उनले भने, ‘सबैभन्दा बढी मानविय क्षति भएको यस ठाउँलाई हामी युद्ध पर्यटन क्षेत्रका रुपमा विकास गर्न खोज्दैछौं ।’कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जानेहरुका लागि पिली बीच बाटोमै पर्दछ । जसका कारण पर्यट

कहरु पिलीमा गाडी रोकेर तत्कालिन माओवादी र शाही सेना बीच भएको भिडन्तको स्थान हेर्न चासोका साथ आउने गरेको हुनाले उक्त क्षेत्रलाई युद्ध पर्यटकिय स्थलका रुपमा विकास गर्न लागिएको पूर्व जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए ।

‘माओवादी जनयुद्ध बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई देशैभर चिनाउन र युद्धको अवशेषहरु देखाउन तथा स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना छ,’ उनले भने, ‘युद्ध पर्यटकिय स्थल र लडाई भएका ठाउँमा भग्नावशेष र लडाईमा प्रयोग भएका बंकरको संरक्षण गर्ने तयारी थालिएको छ, लडाई प्रयोग भएका हतियार समेत संकलन गर्ने तयारी गरेका छौं ।’

पिलीमा भएको लडाईमा माओवादीबाट १३ श्रमिक र ६२ जना सेना गरी ७५ जनाको सम्झनामा स्मारक बनाएको छ भने, माओवादीका २८ सेना .मारिएको बताइए पनि त्यसबारे उल्लेख भने गरिएको छैन ।

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर म्युजियम बनाउने लगायतका योजना रहेको पिली युद्ध पूर्व राष्ट्रियसभाका सदस्य जीवनबहादुर बुढाले बताए ।

‘कर्णाली राजमार्ग निर्माण क्रममा २०६२ वैशाखमा राखिएको तत्कालीन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा आक्रमण भएको थियो,’ उनले भने, ‘पिलीमा भएको लडाईँमा मारिनेको तस्वीर, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने लक्ष्य लिएका छौं ।’

माओवादी आक्रमणको निशाना बनेको पिलीमा कर्णाली राजमार्ग बनेसँगै स्थानीयको जीवनस्तर फेरिन थालेको छ । सडक निर्माणसँगै पिलीका ग्रामीण वस्तीहरु बजारमा परिणत हुँदै गएका छन । माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयले लोकतन्त्र बहालीपछि मात्र शान्तिको श्वास फेर्न पाएको स्थानीय अगुवा पुत्रबहादुर मल्ल बताउँछन् । ‘पहिले त गाउँमा डरत्रास मात्रै हुन्थ्यो,’ उनले भने, ‘सडक पुगेसँगै अन्य विकासका पूर्वाधार पनि गाउँमा पुगे ।’

पिलीको उकालोमा रेलिङसहितको पैदलमार्ग निर्माण गरिएको छ । भानाढुंग्री डाँडामा नेपाल टेलिकमले टावर खडा गरेसँगै सञ्चार सेवा सहज बनेको छ । गत वर्ष कर्णाली प्रदेशको पर्यटन मन्त्रालय मार्फत दुई करोड ६० लाख रुपैयाँ खर्चेर तीनवटा भवन र स्टिलको रेलिङसहितको बाटो बनाइएको हो ।

पर्यटकलाई लक्षित गर्दै होमस्टे


पिली गाउँमा पर्यटकलाई लक्षित गर्दै स्थानीयले होमस्टे पनि संचालन गरेका छन् । गाउँमा पर्यटकलाई लक्षित गर्दै होमस्टे संचालन ब्यवसाय गर्न थालेको स्थानीय तथा होमस्टे ब्यवसायी भरतबहादुर मल्लले बताए ।

‘गाउँमा पर्यटक आउने दर बढ्दै गएको छ,’ उनले भने, ‘पर्यटकहरु पारिवारिक वातावरण बस्न रुचाउने भएकाले होमस्टे संचालनमा ल्याएका हौं ।’ होमस्टे व्यवसायबाट स्थानीयले राम्रो आम्दानी र गाउँको लोक सस्कृति पनि प्रचार प्रसार हुदैँ जाने भएकाले स्थानीय खाना, स्थानीय भेषभुषा प्रयोग गर्न थालिएको जिल्ला समन्वय समितिका पूर्व सदस्य अनिल मल्लले बताए ।

‘गाउँमा सबै स्थानीय खाना परिकार दिने गरेका छौं ।’ उनले भने,–‘स्थानीय भाषा सस्कृतिको पनि विकास गर्न लागिएको छ ।’

छाउविरुद्ध विद्रोह गरेका महिला
चौध वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी तलसेराकी जमुना मल्लले गत फागुनदेखि गोठ छाडेर घरमा बस्न थालेकी छन् ।

गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डर हुने सुनाउँदै मल्लले गोठ छाडेर घर बस्न थालेपछि ढुक्कले सुत्न पाएको बताइन् । जमुना मात्र होइन, पिलीका हरेक महिला छाउगोठ छाडेर घरमै बस्न थालेका छन् । छाउगोठ छाडेर घर बस्न थालेपछि महिला पनि खुसी छन् ।

गोठ छाडेर घर बस्दादेउता रिसाउँछन्, घरपरिवार र आफैं बिरामी परिन्छ भन्ने सुनेका पिलीका सबै महिला अचेल गोठ छाडेर घरमा बस्न थालेका हुन् । डेढ वर्षअघि चुनाव जितेपछि सबै जनप्रतिनिधिसहितले पिलीलाई छाउगोठमुक्त घोषणा गर्न अभियान चलाउने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया