महिलाको उद्यमशिलता

हस्तकलाबाट मासिक १६ हजारसम्म आम्दानी


सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९, पातलगंगाका थारु समुदायका महिलाहरुले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । सीपमूलक कार्यमा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी मासिक १६ हजार रुपैयाँसम्मको आम्दानी आयआर्जन गर्दै आएका छन् ।

विशेषगरी स्थानीय तह, वन डिभिजन कार्यालयमार्फतको पहलमा ‘पातलगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योग’ अन्तर्गत यहाँका थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर आयआर्जनको माध्यम बनाएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तह नगरपालिका, वडा र वन डिभिजन कार्यालयले खरजस्ता विभिन्न प्रजातिका घाँसपातबाट बनेको ‘कटरा’ लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थालेका हुन् ।

उनीहरुले पेपल, फुलदानी, ढकिया, हर्केश, मुढा, म्याट, ट्रलगायतका सामग्री तथा सजावटका आकर्षक सामग्री बनाउँदै आएका छन् । यहाँका महिलाले समूह गठन गरी दर्ता गराएर काम गरिरहेको बताएका छन् ।

विभिन्न हस्तकलाका सामाग्री बनाएर बिक्रि वितरण गर्दै आईरहेकी लक्ष्मी चौधरी पातलगंगा हस्तकला सामग्री उद्यमी समूहमा आवद्ध भईन् । त्यस समूहले पातलगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योग २०८० चैत ८ गते दर्ता ग¥यो । लक्ष्मीले भनिन्, ‘घरमा खाली समय बस्नु भन्दा सिप सिकेर थोरै भएपनि केहि फाईदा हुन्छ । गर्न त घरमा नास्ता पसल पनि चलाउने गरेको छु । खाली समय हस्तकलाका सामग्री बनाउने गरेको छु ।’ पहिला आफ्नो घर कै दिदीले हस्तकलाका सामग्रीहरु बनाउने गरेको देख्दा लक्ष्मीलाई पनि खुब हस्तकलाका सामानबनाउन मन लाग्ने गरेको थियो । केहि समयपछि गाउँमै हस्तकला सामान बनाउने १५ दिने तालिम आएपछि उनले पनि तालिम लिईन् र हस्तकलाका सामान बनाउन थालिन् । उनले हस्तकलाका सामान बनाउन थालेको २ बर्ष भयो । उनले बनाएका सामान घरबाट नै बिक्रि वितरण गर्दै आएको उनको भनाई छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका–९, पातलगंगाकी मोहन कुमारी चौधरीले पनि हस्तकलाका सामान बनाउँने गर्छिन् । साँझ बिहान घरको काम सकेर खाली समयलाई नै सदुपयोग गर्दै उनले हस्तकलाका सामान बनाउने गरेको बताईन् । यस हस्तकलाका सामान बिक्रि गरेर मासिक ८ हजार हुने गरेको उनले बताईन् । उनले भनिन्, ‘दुई वटा छोराछोरी छन्, उनीहरुको पढाई खर्च र घरको खर्च टार्न सजिलो भएको छ ।’
आफुले सिप सिकेपछि श्रीमानसँग माग्नु नपरेको मोहनकुमारीले बताईन् । यो सिप सिकेर यो काम प्रति आफु धेरै सन्तुष्ट हुने गरेको उनको भनाई छ । लक्ष्मी र मोहनकुमारीले जस्तै सितली चौधरीले पनि हस्तकलाका सामान बनाउने गर्छिन् । सितली चौधरीले ३ महिनाको बच्चा हुँदा १५ दिने हस्तकला सामाग्री बनाउने तालिम लिएकी थिईन् ।

पहिले पातलगंगामा सहेली महिला समूह थियो, सहेली महिला समुहले वडा कार्यालयलाई महिलाको सिप वृद्धिको लागि तालिम दिन अनुरोध पनि गरे । जसबेला सिप वृद्धिको लागि वडा कार्यालयबाट एक लाख रुपैयाँ सहयोग लिएका थिए । कन्चनपुरमा माईत घर भएकी सितलीको सुर्खेतमा विहे भएको १२ वर्ष भयो । उनले करिब ४ वर्ष अपाङ्ग शसक्तिकरण केन्द्रमा काम पनि गरिन् । उनको माईती घरमा आफ्नी आमाले पनि हस्तकलाका सामाग्री बनाउने गरेको उनले सुनाईनन् । आमाले बनाएको देख्दा उनलाई पनि बनाउन मन लाग्थ्र्यो तर उनले माईती घरमा भने बनाउन पाईनन् । बिहे गरी आएपछि उनको बिहे घरमा पनि हस्तकलाका सामान बनाउने भएपछि उनलाई पनि सिक्न सजिलो भयो र तालिम पनि लिएपछि सहज भयो ।

उनले भनिन्, ‘यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’ उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ ।

विदेशसम्म जान्छन् हस्तकलाका सामग्री
पातलगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योग समितिका अध्यक्ष सपनाकुमारी चौधरीले महिलाद्वारा उत्पादित सामग्री एक सयदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा विक्री हुने गरेको बताईन् । हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उनको भनाइ छ । परम्परागत मौलिक हस्तकलाको जगेर्नासमेत भएको उनले बताईन् ।

अध्यक्ष सपनाकुमारीले भनिन्, ‘हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन्, आयआर्जनको दरिलो माध्यम समेत बनेको छ । मैले यो सिप सिकेको ३ बर्ष भयो । मासिक १६ हजार रुपैयाँसम्मको सामग्री विक्रि गर्ने गरेको छु ।’ हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उनको भनाई छ ।

महिलाबाट उत्पादित हस्तकलाका सामान विदेशसम्म जाने गरेको उनले बताईन् । उनले भनिन्, ‘ मैले बनाएका सामान पोखरा, विदेशसम्म जाने गरेको छ । विषेशगरी गिफ्टको रुपमा जाने गरेको छ ।’ सपनाकुमारीले उद्यम व्यवसाय गर्ने सोच रहेको बताईन् । महिलाले सीपलाई व्यवहारमा उतार्न सके राम्रो आम्दानी हुने र यसबाट आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष सपनाकुमारीको भनाई छ । आफुले हस्तकला सामग्री बनाउने तालिम पनि दिने गरेको बताईन् । अहिलेसम्म प्रशिक्षक भएर ५ पटक तालिम दिने गरेको उनले बताईन् ।
घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनको भनाई छ ।

महिलाले यहाँको परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेको अध्यक्ष सपनाकुमारीले बताईन् । उत्पादन भएका सामानले बजार पाउने गरेको उनको भनाई छ । हस्तकलाको बढि माग हुदाँ पातलगंगाका थारु समुदायका महिलाहरुले रातको १२÷१ बजे सम्म पनि बनाउने गरेको उनले जानकारी दिईन् ।

थारु समुदायका महिलाहरुले हस्तकलाका सामाग्रि सबैले घरबाट नै बिक्रि वितरण गर्ने गरेका छन् । हस्तकलाका सामग्री बनाउन १ देखि ९ दिनसम्म लाग्ने गरेको महिलाहरुले बताएका छन् । पातलगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योग समितिका अध्यक्ष सपनाकुमारी चौधरीका अनुसार महिलालाई सिप विकास तालिम भनेर वीरेन्द्रनगर नगरपालिकाबाट २ लाख ४ हजार, वन डिभिजन कार्यालयबाट ८० हजार रुपैयाँ प्राप्त भएको थियो । पातलगंगा हस्तकला सामाग्रि उद्यमी समुह उद्योगमा ३८ जना महिलाहरु रहेका छन् । हस्तकला सामाग्रि बनाउने सिपले आयआर्जनसँगै समाजमा रोजगारी सिर्जना गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया