प्रदेश अस्पतालमा डाक्टर नआउँदा विरामीलाई उपचारमा समस्या


कर्णाली प्रदेश अस्पताल सुर्खेतमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नहुदाँ दुई विभाग बन्द भएका छन् । विगत तीन हप्तायता ओपीडी र सघन अप्रेसन दुबै विभाग बन्द भएका हुन् । न्यूरोलोजिस्ट डाक्टर निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किएपछि विगत तीन बर्षदेखि दिदै आएको न्यूरो सेवा प्रभावित भएको हो ।

सेवा सञ्चालनमा आएदेखि नै काम गर्दै आएका न्यूरोलोजिस्ट डा.खड्कालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाका लागि मात्रै प्रदेश अस्पताल खटाएको थियो । तर डा. खड्का स्वतस्फूर्त रुपमा साढे दुई बर्ष बढी प्रदेश अस्पतालमा बसेर सेवा दिएका थिए ।

हाल प्रदेश अस्पतालमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नहँुदा विरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा दिनहुँ टाउको र मुटु रोग सम्बन्धिका विरामी बढ्दै गएका छन् । तर विशषेज्ञ न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नै नभएपछि विरामीको उपचारमा समस्या भएको हो ।

हाल अस्पताल आउने टाउको र मुटुरोग सम्बन्धिका सामान्य विरामीलाई जनरल फिजिसियनले हेर्दछन् । तर जटिल खालका विरामीलाइ उपचार गर्न सम्भव छैन । टाउको र मुटुरोग सम्बन्धि प्रदेश अस्पताल पुग्ने विरामीहरु उपचार नपाई रित्तोहात फर्किन बाध्य छन् । जसले गर्दा अस्पतालप्रति आम नागरिक तथा विरामीको धारणा परिवर्तन हुन थालेको छ ।

अस्पतालमा न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टरको स्थायी दरबन्दी रिक्त छ । कर्णाली प्रदेश सरकार मातहतमा रहेको यो अस्पतालमा संघीय सरकारले छात्रवृत्तिमा पढेका डाक्टरलाई रोटेशनमा काज पठाउने बाहेक स्थायी पदपूर्ति गर्न पाउँदैन ।

प्रदेश सरकारको उदासिनताका कारण कर्णाली प्रदेश लोकसेवा आयोगले समेत पाँचौं तह माथिका डाक्टर पदपूर्तिका लागि विज्ञापन नखुलाउँदा प्रदेश अस्पतालमा दरबन्दी पूर्ति गर्न सकस परेको हो । यसअघि प्रदेश लोकसेवा आयोगले खुलाएको सातौँ र आठौँ तहका चिकित्सकको विज्ञापन पनि स्थगित भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको यस अस्पतालमा मन्त्रालयले समेत आवश्यक अस्थायी दरबन्दीमा डाक्टर पठाउन सकेको छैन । तर यसअघि अस्थायीका लागि मन्त्रालयले खुलाएको आवेदनमा चिकित्सकहरु नै आएनन् ।

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालमा आउन इच्छुक न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टरका लागि अस्पतालले आन्तरिक स्रोतबाट पनि व्यवस्थापन गर्ने तयारी गरेको छ । तर डाक्टर नै आउँदैनन् ।

‘नेपालमा कार्डियोलोजिस्ट र न्युरोलोजिस्ट डाक्टरहरु खासैै कम नै छन् । त्यसैमा झन् कर्णाली भन्ने बित्तिकै आउन मान्दैनन्’ उनले भने, ‘यहाँ आउन चाहाने डाक्टरलाई आन्तरिक स्रोतबाट भएपनि थप सुविधासहित हामी स्वागत गर्न तयार छौं ।’उनका अनुसार डाक्टरहरू नहुँदा दैनिक हुने सडक दुर्घटनाबाट घाइते तथा अन्य न्युरोको उपचार गर्न अस्पताल आएका विरामीलाई बाहिर पठाउनुपर्ने अवस्था आएको छ ।

खटाइएका डाक्टर अँझै हाजिर भएनन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतमा खटाएका कार्डियोलोजिस्ट र न्युरोलोजिस्ट दुई डाक्टरहरु अँझै हाजिर भएका छैनन् । न्युरोलोजिस्ट डा. ओमविक्रम शाह र कार्डियोलोजिस्ट डा. सुतप यादव फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो । तर अहिलेसम्म पनि हाजिर भएका छैनन् ।

गत भदौ १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले न्युरोलोजिस्ट डा. ओमविक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो ।

जसमध्ये पहिलो चरणको ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पताल सुर्खेतमा हाजिर भइ रमना लिएर गइसकेका छन् । अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन् ।

त्यस्तै पहिलो चरणको ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टर ओमविक्रम र सुतप दोस्रो चरणमा सुर्खेत आउनुपर्ने हो । तर अहिलेसम्म पनि उनीहरु प्रदेश अस्पताल सुर्खेतमा हाजिर नभएका हुन् । उनीहरू नआउँदा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले समेत यो विषयमा फोन गरेर समन्वय गर्दा पनि ती डाक्टरहरू कर्णाली आउन नचाहेको बताइन्छ । खड्का सहितको टोलीले काठमाडौँ पुगेर मन्त्रीलाई समेत यो समस्याबारे जानकारी गराएको थियो । तर यो बिषय सुनुवाइ भएको छैन । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालको कमजोरीका कारण नभई स्वयम् आउने डाक्टरहरूको कर्णालीलाई हेर्ने नजर फरक रहेका कारण समस्या भएको हो ।

त्यस्तै आकर्षक सेवा सुविधा र व्यक्तिगत सहजता खोज्ने प्रवृत्तिले पनि प्रायः डाक्टरहरू कर्णालीमा आउन मान्दैनन् । भने पछिल्लो समय प्रदेश अस्पतालले दिन सेवाका विषयमा पनि टिप्पणी हुन थालेको छ । पछिल्लो समय भौतिक संरचना निर्माणमा ठुलो उपलब्धि हासिल गरेपनि प्रदेश अस्पताल डाक्टरहरूको रोजाइमा भने पर्न सकेको छैन । यसको उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर नहुनु हो ।

गर्मीसँगै विरामीको चाप बढ्दै
गर्मी बढेसँगै प्रदेश अस्पताल सुर्खेतमा विरामीको चाप पनि बढ्दै गएको छ । दैनिक अस्पतालमा ६ सय बढि विरामी उपचारका लागि धाउने गरेका छन् । गर्मी बढेसँगै अस्पतालमा सेवा लिने विरामीको घुइँचो लाग्ने गरेको छ ।

अस्पतालका अनुसार विगत तीन आर्थिक वर्षमा मात्रै चार लाख १६ हजार तीन सय ३७ जना बिरामीले सेवा लिएका छन् । जसमा तीन लाख ६९ हजार ६ सय १७ जनाले ओपिडि सेवा लिएका छन् । भने ४६ हजार सात सय २० जना बिरामीले अस्पतालबाट इमरजेन्सी सेवा लिएका हुन् । तथ्यांक अनुसार सेवा लिने बिरामीको संख्या हरेक बर्ष दोब्बरले बढ्दै गएको छ ।

आर्थिक बर्ष २०७७÷०७८ मा कुल ५३ हजार एक सय ८३ जनाले ओपिडि सेवा लिएकोमा आर्थिक बर्ष ०७८÷०७९ मा दोब्बर बढिले बढेर सेवा लिनेको संख्या एक लाख २४ हजार चार सय ६८ पुगेको थियो । त्यस्तै आर्थिक बर्ष ०७९÷०८० मा एक लाख ९१ हजार नौ सय ६६ जना बिरामीले अस्पतालबाट ओपिडि सेवा लिएका छन् ।

यता इमरजेन्सी सेवा लिने बिरामीमध्ये आर्थिक बर्ष २०७७÷०७८ मा आठ हजार नौ सय २३ जना, आर्थिक बर्ष २०७८÷०७९ मा १६ हजार ६ सय २० र आर्थिक बर्ष २०७९÷०८० मा २१ हजार एक सय ७७ जना रहेको अस्पतालले जनाएको छ ।

बिरामीको बढ्दो चापलाई मध्यनजर गरी हाल तीन सय शैयाको प्रदेश अस्पताललाई पाँच सय शैयामा स्तरबृद्धि गर्ने काम भइरहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए । पाँच सय शैयाको अस्पताल संचालनका लागि हाल भवन निर्माणको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए ।

पछिल्लो समय डा. खड्काको नेतृत्वमा अस्पतालले भौतिक पूर्वाधारमा फड्को मार्दै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरण सहित सेवा विस्तार र सुधारमा जोड दिने कोसिस गरेको छ । तर विशषेज्ञ डाक्टरहरुलै आउन नमानेपछि समस्या भएको हो ।

तपाईको प्रतिक्रिया