जीवन भोगाई

बदलिएको शान्ताको दैनिकी

मनको कुरा त्यो मनले बुझ्ने सहयोगी सञ्जालको अभाव, समस्या आईपर्दा सामना गर्ने नकारात्मक सीपको प्रयोग र पूर्व अवस्था ग्रहण गर्ने क्षमताको अभाव जो कोहिलाई हुन्छ । यस्तै यस्तै समस्या वीरेन्द्रनगर नगरपालिका–८ मा बस्ने शान्ता शर्मालाई पनि समस्या उत्पन्न हुन गयो ।

उनले मनोसामाजिक समस्यामा परेपछि औषधी सेवन गर्न थालिन् । ८ बर्षकै उमेरमा उनको आँखामा समस्या देखिन थाल्यो । उनको बुबाले उनलाई नेपाल पनि उपचारको लागि देखाए तर सम्भव भएन् । पछि भारतमा उनलाई उपचारको लागि उनको बुबाले लगेका थिए । भारतमा पनि उनको उपचारको लागि सम्भव भने भएन् । विभिन्न ठाउँमा उपचारको लागि लगे पनि कहि कतै सम्भव भने भएन् शान्ताको आँखाको उपचार ।

विदेशी डाक्टरसँग समेत देखाउँदा पनि भरपर्दो उपचार र आँखाको टिटमेन्ट हुन भने सकेन् । तर उनको आँखामा अरुको भन्दा भिजन कम भएपनि उनी पढ्न, लेख्नमा भने राम्रो थिईन् । सबै काम गर्नलाई भने सक्ने नै थिईन् । असहज भने भएको थिएन् । एस.एल.सि. पास पनि गरिन् ।

एस.एल.सि. पासपछि ईलाका हुलाक कार्यालयमा कर्मचारी आवश्यकताको विज्ञापन खुल्यो र त्यसमा उनले फर्म पनि लगाईन् । अन्तरवार्ता दिएपछि छनौंट भईन् पनि । आफुले राम्रो काम गर्दा गर्दै पनि उनको काम सन्तुष्ट भने मानिएन् । उनले त्यो बेला हातले नै लेख्ने भएर पनि ढिलो भएको होला तर आफु निरन्तर लागेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘त्यसै क्रममा माओवादीको युद्ध सुरु भयो मैले काम गर्ने ठाउँ रातारात आगो लाग्यो । थाहा त छैन मिलेमतोमा आगो लागे जस्तो पनि लाग्छ । सबै सामान जलेको थियो । प्रहरीको मुचुल्का पनि लगाईयो ।’ तर त्यति गर्दा शान्ताले त्यस ठाउँमा स्थान पाईनन् । आफु त्यस ठाउँबाट निस्कनु परेको बताईन् ।

आफुले ९ बर्षसम्म गरेको सेवालाई निरन्तर दिन पाए हुन्थ्यो भन्ने त थियो तर हुन सकेन् । त्यसमै जीवन बित्छ जस्तो लागेको शान्ताको जीवनमा परिवर्तन आयो । त्यसपछि उनलाई जीवनमा के गर्ने, कसो गर्ने भनेर पनि मनमा समस्या उत्पन्न हुन् थाल्यो । शान्ताको चार बहिनी थिए । चार बहिनी छोरी भएका कारण शान्ताका बुबाको दोस्रो बिवाह भएको थियो ।

बुबाले अर्की ल्याउँदा आमाको मन कस्तो भएको होला भन्ने आमाको महशुस शान्ताले लिने गर्थिन् त्यसकारण पनि आमाको पीरले शान्ताको मन खुसी भने थिएन् । यिनै–यिनै कुराले पनि उनलाई तनाव हुन्थ्यो ।

२०५६ सालमा उनको विवाह पनि भयो । उनको बिहे भएपछि उनले सोचिन् कुनै कुराको निकाश अब निस्किन्छ भन्ने त भयो तर त्यसो भने हुन सकेन् । सबै तिरको निकाश बन्द भैदियो, बाँधहरु बुझिए जस्तो भयो र झन उनलाई गाह्रो भयो ।

समस्या कै बाबजुद पनि उनलाई घरमा बस्न भने मन लागेन केहि काम गर्न पाए हुन्थ्यो भन्ने उनको मनले सोच्यो र एक प्राईभेट स्कुलमा पढाउँन थालिन् । उनले नेपाली र गणित विषय पढाउँने गर्थिन् । तर त्यहाँ पनि उनको कामप्रति कोहि सन्तुष्ट भने हुन सकेनन् । आँखाको कमजोरीसँगै मनोसामाजिक समस्यामा थिईन् उनी तर त्यो कुरा विद्यालयले बुझेन् । अरुले एक घण्टा लगाएर गर्ने काम उनी दुई घण्टा लगाएर भएपनि सक्ने गर्थिन् । यति गर्दा पनि उनको कामले प्राथमिकता भने पाउन सकेन् ।

घरको कोठा जेल जस्तै भयो
घरमा बस्दा उनको जिवन जेल जस्तै भएको थियो । एक दिन सुर्खेत नेत्रहिन संघको एक कर्मचारीले उनलाई भेटिन् । त्यसै क्रममा उनले अगरबत्ती बनाउने तालिम लिने अवसर पाईन् । र अगरबत्ती बनाउँने सामान लिएर उनले अगरबत्ती बनाउन थालिन् । २०७६ सालमा उनले दर्ता समेत गरिन् । उनले ५० हजार रुपैयाँबाट लगानी गरेको अगरबत्तीले अहिले उनको घर खर्च समेत धानेको छ । बजार व्यवस्थापनको लागि दुई जना कर्मचारी राखेर काम गर्न मन छ शान्तालाई ।

उनले भनिन्, ‘आत्मनिर्भर त भएको छु । यहि सिपले दुईजना कर्मचारीले जिविकोपार्जन गरेको देख्न पाए त्यो नै मेरो जीवनको उत्तम काम ठान्ने थिए र मन खुशी पनि हुने थियो । यो काम गर्ने शाहस भने आएको छ ।’ उनले अगरबत्तीको तालिम लिएपछि ११ ठाउँमा प्रशिक्षणको तालिम पनि दिएकी छिन् । ११ वटा प्रशंसा पत्र पनि उनीले पाईन् ।

शिक्षा विकाश निर्देशनालयको सामाजिक विकास मन्त्रालयबाट ६० हजार रुपैयाँ, वीरेन्द्रनगर नगरपालिकाबाट ४५ हजार रुपैयाँ पाएको उनले बताईन् । उनीसँग अगरबत्ती बनाउनका लागि प्राप्त सामान त छैन् तर पनि पछि हटेकी छैनिन् । पाँच हजारमा लिएको सिल गर्ने मेसिन भने छ त्यहिबाट उनले हाल काम गरिरहेकी छिन् । घर खर्च, छोराछोरीको पढाइ खर्च समेत टार्ने गरेको उनले बताईन् ।

मनोसामाजिक परामर्शमा
मनोसामाजिक समस्यामा परेर औषधी सेवन गर्न थालेको उनले २०६५ सालदेखि हो । माइग्रेन भनेर औषधी दिएको थियो शुरुमा तर म मनोसामाजिक समस्यामा परेको हो भनेर थाहा पनि भएन् ।

अहिले एनजाईटीको औषधी सेवन गरिरहेको उनले बताईन् । कोशिसमा आवद्ध भएपछि मनोसामाजिक सम्बन्धी तालिम पनि लिईन् । सिटिभिटि मान्यता प्रयाप्त प्रमाण–पत्र समेत उनले पाईन् । अहिले उनलाई आनन्द लाग्छ तर कहिले काँहि एक्लो महशुस भने उनलाई हुन्छ । उनले भनिन्, ‘यदि कोशिश हुने थिएन भने म पनि हुने थिएन होला । यस्ता खालका संस्थाहरु हाम्रा लागि भएपनि हुनुपर्छ ।’

‘आफुले दुख पाएको भएर होला दुख नै मन पर्छ, छोरा भन्दा पनि छोरीले पहिले जागिर खाओस र आत्मनिर्भर होस् भन्ने मेरो ईच्छा छ । कोशिस संस्था भनेपछि आनन्द लाग्छ, म आवद्ध भएको दुई बर्ष भयो । कोशिशले सिफ्ट मनि भनेर ११ हजार दिएको थियो । कोशिस संस्थामा आएपछि माईत आय जस्तो हुन्छ । चाडपर्वको बेला पनि यहि कोशिशमा बोलाएको भए हुन्थ्यो जस्तो हुन्छ ।’ उनले भनिन्, ‘दशैँको बेला टिका छोडेर भएपनि कोशिशमा आउन पाए आउँछु जस्तो लाग्छ । हाम्रो लागि भएपनि कोशिस संस्था रहिरहोस् ।’

बर्दियामा जन्मिएकी शान्ता शर्मा हाल वीरेन्द्रनगरमा बस्दै आएकी छिन् । मनोसामाजिक समस्याकै कारण धेरै आफुले विभेद, पीडा सहनु परेको उनले बताईन् । मानसिक तथा सामाजिक रुपमा आफुलाई विकास गर्न चाहन्छिन् उनी ।

मनोसामाजिक समस्या भएपछि व्यक्तिको व्यवहार वा क्रियाकलाप असामान्य हुन्छ । दैनिक क्रियाकलाप सुचारु रुपले सञ्चालन गर्न कठिन हुन्छ । यसले व्यक्तिहरुमा नकारात्मक भावना, सोचाई, धारणा र व्यवहारमा परिवर्तन आउने त गर्दछ तर समस्या भने सबैले बुझ्नुपर्ने शान्ताको भनाई छ । मनोसामाजिक समस्याकै कारण आफु शुभ कार्यमा जाँदा अशुभ हुन्छ भनि रोकेको पीडा उनले सुनाईन् ।

तपाईको प्रतिक्रिया