ऐतिहाँसिक कर्णाली खस साम्राज्यको इतिहाँस


हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको ऐतिहाँसिक वास्तुकलाको नमुना काँक्रेविहारको १४ औं शताब्दीतिर यिनै अशोक चल्लले निर्माण गरेको मानिन्छ ।

प्राचिन लिच्छ्वीकालिन समयमा विशाल नेपाललाई भौगोलिक आधारमा विभिन्न क्षेत्रहरु, विषयहरु वा जिल्लाहरुमा विभाजन गरिएको थियो । प्राचीन लिच्छ्वी शासनकालमा भौगोलिक रुपमा टाढा रहेका क्षेत्रहरुमा केन्द्रको शासन अधिकारको पहँच पुग्न सकिरहेको थिएन । लिच्छ्वीकालिन केन्द्रिय शासन कमजोर हुन गएकोले केन्द्रको नियन्त्रणबाट स्वशासित भै लिच्छ्वीकालिन विषयपति सामन्तहरुले विस्तारै आफ्नो शक्तिलाई बलियो बनाउँदै लगे ।

यसका साथै केन्द्रमा भइरहेको राजनितिक गतिविधि, खिचातानिको कारण पूर्व तथा पश्चिम क्षेत्रका जिल्लाहरुले स्वतन्त्र हुने अवसर पाए । केन्द्रको शासकहरुमा देखिएको कमजोरीको कारण यी स्थानीय शासकहरुले आफ्नो क्षेत्रहरुलाई झन शक्तिशाली बनाउँदै लगे । यसरी लिच्छ्वीकालमा एक विशाल देश नेपाल काठमाडौं उपत्यका राजधानी भएको नेपाल राज्य (नेपाल मण्डल), सिम्रौनगढ राजधानी भएको तिरहुत (कर्नाटक) राज्य र सिंजा राजधानी भएको खस (सिंजा) राज्य गरी तिन राज्यहरुमा विभाजित भएको थियो ।

बाह्रौं शताब्दीतिर सिंजा उपत्यकालाई राजधानी बनाई पूर्वमा त्रिशुली नदी पश्चिममा कुमाउ, गढावाल, उत्तरमा तिब्बत र दक्षिणमा गंगाको मैदानसम्म पैmलिएको ऐतिहाँसिक रुपमा दक्षिण एसियाकै शक्तिशाली मानिएको विशाल राज्यलाई खस साम्राज्य मानिन्छ । खस साम्राज्यमा विकेन्द्रित शासन व्यवस्था लागु गरी गण्डकी प्रदेशका गोर्खा, लमजुङ, कास्की र पर्वत भेगका गुरुङ जातिका मुखियाहरूले खस साम्राज्यका अधीनस्थ सामन्तका रूपमा स्थानीय शासन समेत चलाएका थिए ।

जसको स्थापना खस जातीका राजा नागराज जावेश्वरले गरेका थिए । जहाँ पन्ध्रौं शताब्दीको प्रारम्भसम्म करिब तीनसय वर्ष नागवंशले शासन गरेको लिखित इतिहाँस भेटिन्छ । यहाँ खस साम्राज्यका संस्थापक राजा नागराजदेखि अन्तिम राजा अभय मल्लसम्मका विभिन्न कालखण्डमा शासन गरेका नागवंशीय राजाहरुको शासनकालका सम्बन्धमा इतिहाँसमा भेटिएका तथ्यहरुलाई एकत्रित गरी चर्चा गर्ने प्रयास गरिएको छ ।

खस साम्राज्यका संस्थापक राजा नागराज (वि. सं. १२०७)
खस सम्राज्यको स्थापना हुनु पहिले पश्चिम नेपाल टुक्रा टुक्रामा विभाजित थियो । अहिलेको सेती महाकाली क्षेत्र कुमाउँका शासकको अधिनमा थियो । मगरातमा मगर मुखियाको शासन थियो । गण्डकी प्रदेशको उत्तरी भागमा गुरुङ जातिका कविला राज्यहरु थिए । आठौं शताब्दीतिर कुमाउतिरबाट खसहरु तिब्बत पसे । कालान्तरमा तिनै खसका सन्तान नागराज र देवराज तिब्बतका राजा भए । तिब्बतको खाडी प्रदेशका शासक नागराजले आफ्नो बिजय अभियान दक्षिणतर्फ आरम्भ गरी लिपुलेख, यारी, उरही भञ्ज्याङबाट सिंजा, दुल्लु, सुर्खेत र डोटी प्रदेशलाई आफ्नो अधिनमा पारे ।

नेपाली भाषाको श्रीपाली वंशावलीमा “बडामहाराज नागराजले बडुवालराजा, पालराजा, थापाराजा, खड्काराजा, विष्टराजा र जाडेराजाकन मारिकन खारीकोटको राज्य बढाएको हो । बडामहाराजको पालामा दशँै दिशा जिती सिंजानगरीमा सुनको दरबार लगायाको हो” भनेर लेखिएको छ । यसबाट नागराज आउनुपूर्व सिंजा क्षेत्र वरपर ससाना भुरेटाकुरे खस राज्यहरु स्थापित रहेको कुरा प्रमाणित हुन्छ । वि. सं. १२०७ मा नागराजले जुम्ला स्थित सिंजा उपत्यकालाई राजधानी बनाई सिंजा साम्राज्यको स्थापना गरेका थिए ।

यहि सिंजा साम्राज्य अर्थात खस राज्यका संस्थापक नागराजले आफ्नो जीवनकालसम्म राज्य विस्तारको अभियानलाई निरन्तरता दिइरहे । राजा नागराजपछि क्रमशः चापराज, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्लले वि. सं. १२६४ सम्म राज्य सञ्चालन गरेको देखिन्छ ।
क्राचल्ल (वि. सं. १२६४–१३१३)
वि. सं. १२६४ क्राधिचल्लका छोरा क्राचल्ल खस साम्राज्यका छैठौं राजा भएका थिए । उनले पनि आफ्ना पुर्खाको राज्य विस्तारको अभियानलाई तिब्र गतिमा अघि बढाए । वि. सं. १२८० मा राजा क्राचल्लको नेतृत्वमा खस सेनाले कुमाउमाथी आक्रमण गरे । यस युद्धमा धेरै मानिसहरुको हताहत भयो तर पनि खस सेनाले कुमाउमाथी विजय प्राप्त गरिछाडे ।

कुमाउस्थित बालेश्वर मन्दिरमा प्राप्त कुमाउका कत्युरी राजाले गरिदिएको ताम्रपत्रमा नागराजका पाँचौं पुस्ताका उत्तराधिकारी क्राचल्लले इ. सं. १२०५ देखि सिंजामा राज्य गरेको र इ. सं. १२२३ मा कुमाउमाथी विजय प्राप्त गरेको कुरा उल्लेख गरिएको छ ।

यसप्रकार राजा क्राचल्लको पालामा खस राज्यको सीमाना पश्चिममा कुमाउ, पूर्वमा त्रिशुली, उत्तरमा तिब्बतदेखि दक्षिणमा गंगाको समथर मैदानसम्म फैलिएको थियो । राज्य विस्तारको दौडानमा राजा क्राचल्लले खस राज्यको राजधानी कहिले सिंजा, कहिले दुल्लु, धुलिकोट र सुर्खेत पनि बनाएका थिए ।

अशोक चल्ल (वि.सं. १३१३–१३४४)
वि. सं. १३१३ मा राजा क्राचल्ल पछि उनका छोरा अशोक चल्ल खस सम्राज्यका सातौं राजा बनेका थिए । विभिन्न समयमा पाइएको अभिलेख अनुसार अशोक चल्ल ज्यादै प्रख्यात एवम् पराक्रमी राजा थिए । उनको पराक्रमले खस सम्राज्य पश्चिममा कुमाउदेखि पनि अगाडी बढाएर लद्दाकसम्म सीमा विस्तार गरेका थिए ।

यिनले आफ्नो राज्य विस्तारको साथै राज्य सञ्चालनमा विशेष ध्यान दिएका थिए । विभिन्न ठाउँहरुबाट यिनले कर उठाएर निर्माणको अभियान सुरु गरी खस राज्यलाई सम्पन्न बनाएका थिए ।

राजा अशोक चल्लले विद्वानहरुको कदर गर्थे । त्यसैले उनको दरबारमा विद्वानहरुको खुलेर स्वागत हुन्थ्यो । यिनी स्वयम हिन्दु धर्मका अनुयायी भएतापनि बुद्ध धर्मप्रति यिनको विशेष आस्था रहेको थियो । हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको ऐतिहाँसिक वास्तुकलाको नमुना काँक्रेविहारको१४ औं शताब्दीतिर यिनै अशोक चल्लले निर्माण गरेको मानिन्छ ।

जितारी मल्ल (वि. सं. १३४४–१३६९)
वि. सं. १३४४ मा राजा अशोक चल्लपछि उनका छोरा जितारी मल्ल खस साम्राज्यका आठौं राजा बनेका थिए । यिनले पनि आफ्नो पिताको राज्य विस्तारको अभियानलाई निरन्तरता दिइरहे । यिनको पालामा यिनले काठमाडौं उपत्यकामा तिन पटकसम्म आक्रमण गरे । वि. सं. १३४४ ताका उनी राजा हुने बित्तिकै पहिलो पटकको काठमाडौं उपत्यका स्थित मल्ल राजाका सेना र खस फौज बिच स्वयम्भुको डाँडामा घमासान युद्ध भएको थियो । यस युद्धमा आठसय खस सैनिकहरुको मृत्यु हुँदापनि यिनी कत्तिपनि विचलित भएनन् । अन्ततः उपत्यकाका मल्लराजाका सैनिकहरु तथा जनताद्वारा खाद्य सामाग्रीहरु लिएर जंगलभित्र पस्न बाध्य भए ।

त्यस्तै चौध महिनापछि अर्थात वि. सं. १३४५ को फागुन महिनामा दोस्रोपटक र वि. सं. १३४६ मा तेस्रोपटक उपत्यका माथी आक्रमण गरेका थिए । तेस्रो अक्रमणताका उपत्यकाका राजा आनन्द मल्लका सैनिकहरु युद्धमैदान छोडी भाग्नु परेको थियो । सो समयमा राजा जितारी मल्लले नुवाकोटसम्म विजय गरी केहि समय देउपाटनमा बसेर उपत्यकामा आगो लगाउँदै विजय उल्लासका साथ जुम्ला फर्किएका थिए ।

तर राजा जितारी मल्ल धर्मप्रति आस्थावान भएकाले काठमाडौं उपत्यकाबाट फर्किने बेलामा स्वयम्भु र पशुपतिनाथमा विधिवत पूजा गरी फर्केका थिए । राजा जितारी मल्लले आफ्नो वंशभन्दा फरक चल्लको सट्टा किन मल्ल राखे भन्ने सन्दर्भमा भने त्यति स्पस्ट जानकारी पाइएको छैन । मल्ल उपाधिको प्रयोगले राजवंशीय शासनलाई अँझ वैभवशाली बनाउने भएकोले मल्लको प्रयोग गरेको हो भनि कतिपय इतिहाँसकारहरुको भनाइ रहि आएको छ ।

अर्थात राजा जितारीले विजय भएको गौरवस्वरुप मल्ल लेखाएको कुरालाई मान्न सकिन्छ । राजा जितारी मल्लका दुई छोराहरु अक्षय मल्ल र आदित्य मल्ल थिए । अक्षय मल्ललाई उनका पिता राजा जितारी मल्ल हुँदा पश्चिमतर्फको प्रशासन हेर्ने जिम्मा दिइएको थियो । त्यही भएर अक्षय मल्ललाई महासामन्त राजकुमार पनि भनिएको पाइन्छ । राजकुमार अक्षय मल्लको राजा जितारी मल्लको निधन हुनुभन्दा पहिले नै असामहिक मृत्यु भएको थियो ।

रिपु मल्ल (वि.सं. १३६९–१३७०)
राजकुमार अक्षय मल्लका भाई आदित्य मल्ल पश्चिम तिब्बतको शाक्यमठमा गएको बखत अक्षय मल्लको मृत्यु भएको थियो । अक्षय मल्ल निःसन्तान भएकाले राजा जितारी मल्लको मृत्युपछि वि.सं. १३६९ मा जितारी मल्लका भतिजा अर्थात भाई आनन्द मल्लका छोरा रिपु मल्ल खस साम्राज्यका नवौं राजा भएका थिए ।

राजा रिपु मल्ल धार्मिक प्रवृत्तिका थिए । उनी काठमाडौं उपत्यकाको भ्रमण गर्दा पशुपतिनाथ, स्वयम्भुनाथ जस्ता पवित्र मन्दिरहरुको दर्शन, दानपुण्य गरेका थिए । उनी यसपछि लुम्बिनी पनि गएका थिए ।

त्यसबेला लुम्बिनी पनि खस साम्राज्य अन्तर्गत नै पर्दथ्यो । लुम्बिनीको अशोक स्तम्भमा रिपु मल्ल र यिनका छोरा संग्राम मल्लको नाम उल्लेख भएको पाइन्छ । राजा रिपु मल्ल हिन्दु धर्म मान्ने भएतापनि बुद्ध धर्मका उपासक थिए । त्यसैले पनि उनी युद्ध गर्नुभन्दा शान्तिपूर्ण वातावरण चाहन्थे ।
आदित्य मल्ल (वि.सं.१३७०–१३८५)
जितारी मल्लका कान्छा छोरा आदित्य मल्ल तिब्बतको शाक्यमठमा महन्त भिक्षु भएर बसेका थिए । आफ्ना पिता जितारी मल्ल र दाजु अक्षय मल्लको मृत्यु भएको र रिपु मल्ल राजा भएको थाहा पाएपछि तिब्बतको भुटान शाक्यमठबाट आफ्नो शिक्षादिक्षा पुरा गरी उनी जुम्ला फर्किए । वि.सं. १३७० मा आदित्य मल्लले राजा रिपु मल्लमाथी कु गरी खस साम्राज्यको शासनसत्ता आफ्नो हातमा लिदै उनी खस साम्राज्यका दशौं राजा बनेका थिए । राजा आदित्य मल्लले भने आफ्नो पुर्खाको राज्य विस्तारको अभियानलाई जारी राखे ।

उनले काठमाडौं उपत्यकामा दुईपटकसम्म आक्रमण गरे । वि. सं. १३७८ मा खस सेनाले भक्तपुरमा आक्रमण गरी पराजित गरेका थिए । यस युद्धमा धेरै मानिसहरु मर्नुको साथै उपत्यकाको धेरै ठुलो क्षति भएको थियो ।

यस्तै वि. सं. १३८५ मा भएको दोस्रो आक्रमणमा नुवाकोट तथा फर्पिङमाथी कब्जा गर्नुको साथै ललितपुरमाथी घेराउ गरेर हाहाकार मच्चाएका थिए । अन्त्यमा ललितपुरका जनताबाट भारी रकम उठाएर बुझाएपछि मात्र खस सेना फिर्ता भएको थियो ।
पुण्य मल्ल (वि.सं. १३८५–१३९५)
राजा आदित्य मल्लका छोरा कल्याण मल्लको असामयिक निधन भयो । यसरी अकालमा नै छोरा कल्याणको देहान्त भएपछि राजा आदित्य मल्ल आफ्नो शेषपछि कल्याण मल्लका छोरा प्रताप मल्ललाई राजगद्दीको उत्तराधिकारी बनाउने पक्षमा थिए । उनी पछि भिक्षु भएर तिब्बत तिर लागेका हुनाले राज्य सञ्चालन गर्न एक योग्य राजकुमारको खोजी भयो ।

आदित्य मल्ल कि छोरी सकुनमालाको विवाह जुम्ला लेगघेलाका पुण्यपालसँग भएको थियो । राजकुमारीको पतिको हैसियतले पुण्यपाललाई नै राजाको उत्तराधिकारी बनाउने विषयमा छलफल भयो । नभन्दै राजा आदित्य मल्लको निधनपछि वि.सं. १३८५ मा पुण्यपालले खस साम्राज्यको एघारौं राजा बन्ने अवसर प्राप्त गरे । खस राज्यको राजगद्दी आरोहण गरेपछि उनले पाल थर परित्याग गरी मल्ल थर कायम गरे । डोलाजी प्रथा अनुसार पुण्यपालको थर गोत्र परिवर्तन गरी पालवंशीय पुण्य मल्लवंशको उत्तराधिकारी भएका थिए ।

पुण्य मल्ल धार्मिक राजाको रुपमा प्रशिद्ध भए । उनले पनि आफुभन्दा अघिका राजाहरुले जस्तै राज्य विस्तारको अभियानलाई निरन्तरता दिए । वि. सं. १३९१ मा काठमाडौं उपत्यकामाथि छ पटकसम्म लगातार आक्रमण गरेर त्यहाँका बासिन्दाहरुलाई हैरान पारेका थिए । गोपाल वंशावलीमा खस राजाहरुले नेपाल उपत्यकामा सातपटक आक्रमण गरेको कुरा लेखिएको छ ।

काठमाडौं उपत्यका धनि र सम्पन्न मुलुक थियो । यहाँको व्यपार बाह्य देशहरुमा पनि राम्रो भएकोले यो राज्य सम्वृद्धितर्फ अघि बढेको थियो । यहि धन र वैभवको लोभमा राजा पुण्य मल्लले धेरै पटक आक्रमण गरी उपत्यकालाई तहसनहस बनाए । जेठा श्रीमल्ल र कान्छा पृथ्वी मल्ल गरी राजा पुण्य मल्लका दुई भाई छोराहरु थिए । जेठा श्रीमल्लको असामयिक निधन भएको थियो ।

पृथ्वी मल्ल (वि. सं. १३९५–१४१५)
वि.सं. १३९५ मा राजा पुण्य मल्लको मुत्युपश्चात जेठा छोरा श्रीमल्लको कोही पनि सन्तान नभएकोले कान्छा छोरा पृथ्वी मल्ल खस साम्राज्यको बाह्रौं राजा भए । राजा पृथ्वी मल्लले लेखाएको इ. सं. १३६७ को दुल्लुको कीर्तिस्तम्भमा तत्कालिन खस राजवंशको वंशानुक्रम उल्लेख गरिएको छ । तिब्बती वंशावलीमा राजा पृथ्वी मल्ल र उनका आमात्य (मन्त्री) यशोवर्माको नाम उल्लेख गएिको पाइन्छ । त्यस्तै अन्य भारदारहरुमा अछामी रावल, भर्ताकोटी रावल, बृहस्पति रावल, फैत्याल रावल, बलाल चन्द, आभु भण्डारी, किडी थापा, इक्ष्वाकु जोशी, शंकरदेव भण्डारी, किडी सेजवाल, बाच्छु भण्डारीको नाम पनि पाइएको छ ।

यिनी आदर्श निष्पक्ष, धार्मिक र भएका हुनाले विद्वान, विदुषि, धार्मिक व्यक्तिहरुको कदर र संरक्षण गर्ने कुरामा प्रवीण थिए । यिनको समयमा खस राज्यले धर्म, संस्कृति, भाषा, साहित्य इत्यादि क्षेत्रमा राम्रो उन्नती गरेको थियो । तर उनको शासनकालमा खस सम्राज्यको नियन्त्रणबाट वि.सं. १४०७ मा उत्तरको खाडी क्षेत्र र वि.सं. १४०९ मा डोटी क्षेत्र अलग भइ स्वतन्त्र राज्य हुन पुगे । यसपछि विशाल खस साम्राज्य कमजोर हुनपुग्यो । यहि मौकाको फाइदा उठाउँदै अन्य क्षेत्रहरुमा पनि स्वतन्त्र राज्य बन्ने होड चल्यो ।

यसलाई नियन्त्रण गर्दै वित्राल खस राज्यलाई टुक्रिन नदिन राजा पृथ्वी मल्लले आफ्नो जीवनकालसम्म धेरै मेहनत गरेका थिए । राजा पृथ्वी मल्ल निःसन्तान रहेको कुरा इतिहाँसकारहरुले उल्लेख गरेका छन् ।
सूर्य मल्ल (वि.सं. १४१५–१४३४)
राजा पृथ्वी मल्लको देहान्तपछि कुनै नाता पर्ने सूर्य मल्ल नाम गरेका व्यक्ति खस साम्राज्यको तेह्रौं राजा बने । वि. सं. १४१५ मा सूर्य मल्ल राजा हुनुभन्दा अगाडि नै खस साम्राज्यको उत्तरी भुभाग तिब्बती क्षेत्र स्वतन्त्र राज्य भैसकेको थियो । भने डोटी क्षेत्र पनि स्वतन्त्र भएर निर्यपाल राजा घोषित भएका थिए ।

यसरी विखण्डन तिर गइरहेको खस राज्यलाई पुनः एक शक्तिशाली साम्राज्य बनाउने उद्देश्यले राजा सूर्य मल्लले आफ्ना छोरा अभय मल्ललाई बझाङको डुम्रीकोट पठाए । उनले डोटी राज्यलाई पुनः आफ्नो साम्राज्यमा फिर्ता ल्याउन सफल भए । यसले स्वतन्त्र हुन चाहना राख्ने अन्य क्षेत्रहरुलाई आतंकित बनायो । र खस राज्यकै भुभाग बन्न स्वीकार गरे ।

अन्तिम राजा अभय मल्ल (वि. सं. १४३४–१४४८)
वि.सं. १४३४ मा राजा सूर्य मल्लको निधनपछि उनका छोरा अभय मल्ल खस सम्राज्यको चौधौं तथा अन्तिम राजा बनेका थिए । उनले डोटीलाई आफ्नो अधिनमा ल्याउन सफल भएतापनि तिब्बतको भागलाई अधिनमा ल्याउन सकेनन् । अभय मल्ल राजगद्दीमा बसेको केही समय पछि नै पुण्य मल्लभन्दा अघिका मल्लका अन्य भाइभारदारका सन्तानहरु मानिने मलय वर्मा, मेदिनी वर्मा, जयन्त वर्मा, सुजान वर्मा, सुमेरु वर्मा शक्तिशाली भएर उत्रिए । उनीहरुले राजा अभय मल्लको शासनको प्रतिरोध गर्न थाले । तर यिनिहरुलाई अभय मल्लले नियन्त्रण गर्न सकेनन् । विस्तारै संयुक्त खस साम्राज्य धर्मराउन थाल्यो ।

अभय मल्लका हरेक प्रयत्नहरुलाई यि गुटहरुले निस्तेज पारिदए । राजा पृथ्वी मल्लको शासनकालदेखि नै खस साम्राज्यमा वर्मावंश शक्तिशाली बन्दै गएको थियो । यशोवर्मा शक्तिशाली अमात्य (मन्त्री) थिए त्यसबखतमा राज्यकातर्पmबाट गरिएका दानपत्रमा उल्लेख भए अनुसार पृथ्वी मल्ल, सूर्य मल्ल र अभय मल्लको शासनकालमा यशोवर्मा शक्तिशाली अमात्य रहेको प्रमाण मिल्दछ । तनै शक्तिशाली अमात्यका सन्तान मलय वर्मा सिंजाको राजा भएको देखिन्छ ।

उनले पुण्य मल्लले जस्तै मल्ल वंशबाट उत्तराधिकारमा राज्य पाएका थिए । उनी राजपुत्री रतनमालाका पति थिए ।अर्थात इतिहाँसमा दोश्रोपटक सिंजा राज्यको बागडोर ज्वाईको हातमा पर्न गएको देखिन्छ । पालवंशी पुण्यपालले नागवंशको उत्तराधिकारी हुने अवसर पाएजस्तै वर्मावंशका मलय वर्माले पालवंशी मल्लको उत्तराधिकारी हुने मौका पाएका थिए । तर मलय वर्माले पुण्यपालले जस्तो आफ्नो थर परिवर्तन गरेनन् ।
तत्कालिन सिंजा राज्यमा निकै लामो समयसम्म अभय मल्ल र मलय वर्माको द्वैध शासन चलेको प्रमाणहरु भेटिन्छन् । मलय वर्मापछि मेदिनी वर्मा सत्तामा आए । अभय मल्लले ज्वाई बलिराजलाई राज्यभाग काटेर दिएपछि शक्तिशाली अमात्य वर्मा परिवारले पनि राज्यको भागवण्डा लगायो । मेदिनी वर्माले आफ्नो राज्य पाँच टुक्रा पारेर भाइहरुबीच अंशवण्डा गरिदिए । यसरी नागराजद्वारा स्थापित विशाल खस साम्राज्य वि.सं. १४४८ ताका अभय मल्ल र मेदिनी वर्माको पालामा पाँचवटा राज्यहरुमा खण्डित भयो । तिनै पाँचवटा राज्यहरु विखण्डित हुँदै कालान्तरमा बाइसे र चौबिसे राज्यहरुमा रुपान्तरित भए ।

अभय मल्लपछि जुम्लामा बलिराजको राज्य कायम भयो । यिनका बाबुलाई थापा भनिएको छ । रावल पनि भनिएको छ । त्यसैले थापा र रावल यिनले समयक्रममा पाएको पदवी हुनसक्ने अनुमान गर्न सकिन्छ । बलिराज ब्राह्मणपुत्र थिए । तिनै बलिराज गगनिराज हुन पनि भनिन्छ जसले खस समाजमा जनै वितरण गरेका थिए । यिनै बलिराजको पालादेखि नै खस क्षेत्रियहरुले जनै लाउन थालेका हुन् भनिन्छ । बलिराज पहिले कालै गाउँका सामन्त भएको हुनाले उनको वंशलाई कल्याल भनिन्थ्यो । उनको राज्य मुगु, डोल्पा र सिंजामा सिमित रहेको देखिन्छ ।

आफ्ना ज्वाई बलिराजलाई जुम्लाको राज्य अभय मल्लले दिएका हुनाले पूर्वसामन्त वर्मा खलकले बाँकी राज्य आपसमा बाँडेर लिएका हुन् भनिन्छ । वर्मावंशले विशाल खस साम्राज्य अंशबण्डा गरेर टुक्रा टुक्रा बनायो । सायद पालवंशी मल्ल वंशका ज्वाईलाई राज्यभाग दिने अभय मल्लको निर्णय शक्तिशाली वर्मा परिवारका लागि निहुँ बन्यो । दुईटा ज्वाई खलक बिचको आन्तरिक खिचातानी र शक्तिसंघर्ष नै खस साम्राज्य पतनको प्रमुख कारण बन्न पुग्यो । यसरी झण्डै तिनसय वर्षको खस साम्राज्यको गौरवपूर्ण इतिहाँस समाप्त भयो ।

तपाईको प्रतिक्रिया