बिरामी पाडोको मासु खाँदा बालबालिकादेखि वृद्धवृद्धा थला

दैलेखको ठाटीकाँध गाउँपालिका–१, नदाई तुलिकोमा र सुजी टोलमा बिरामी पाडोको मासु खाँदा बालबालिकादेखि वृद्धवृद्धा थला परेका छन् । यी दुवै टोलमा दलित समुदायको बसोबास रहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका अनुसार अहिलेसम्म २५ जनालाई अस्पतालमा ल्याएर उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका सिनियर अहेव धोजबहादुर थापाका अनुसार अझै बिरामी आउने र उपचार गरेर फर्कने क्रम जारी छ ।

सोमबार बिरामीको उपचारमा १३ घण्टासम्म स्वास्थ्यकर्मी खटिएको र १६ जनालाई उपचार गरेर घर पठाइएको उनले  बताए । मंगलबार पुनः६ जनालाई अस्पताल ल्याइएको थियो । सुरुमा सामान्य ठानिए पनि बिरामीको संख्या बढ्दै जान थालेपछि अहिले अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आइतबार तीना बालबालिकालाई अस्पताल पु¥याइएको थियो । ‘हामीले औषधि दिएर पठायौँ,’ थापाले भने, ‘एउटा बालकलाई सञ्चो नभएर पुनः अस्पताल ल्याइयो, मैले के खाना खानु भएको हो भन्दा पाडोको मासु खाएको भन्नुभयो ।’

सुरुमा स्वास्थ्यकर्मीहरुले चिल्लो खाएकाले बिरामी भएको आकलन गरे पनि पछि एकपछि अर्को गर्दै बस्ती नै प्रभावित भएको उनले बताए ।

उनीहरुले मासु खाएको पाडो बिरामी रहेको बुझिएको थापाले बताए । ‘डेढ दुई वर्षको पाडो रहेछ, बिरामी भएकाले नै मान्छेमा पनि समस्या देखिएको हो,’ थापा भन्छन्, ‘गाउँमा पुरुष खासै छैनन्, महिला, बालबालिका र वृद्धवृद्धाहरु मात्रै छन् ।’

स्वास्थ्यकर्मीहरुले खाने कुरा र पिउने पानी स्वच्छ, सफा प्रयोग गर्न र बिरामी पशु चौपायाको मासु नखान अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया