ललित कुमार चलाउने क्षेत्री।
कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत उपत्यका प्राकृतिक रूपमा निकै सुन्दर छ । कर्णाली बोल्ना साथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको ‘कर्नाली’ लाई सम्झन्छौ, मनन गर्छौ र एक पटक पुगेर अनुभव गछौं भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरहरको मानव सभ्यताको विकास नदीसंग जोडिएको हुन्छ । एथेन्स वा मेसोपोटोमिया किन नहोस् वा रोमन सभ्यता नै किन नहोस् हामी नदीसंग जोडिन्छौ । त्यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसंग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसंग जोडिएको छ ।
वरिपरी अग्लाअग्ला डाँडाकाँडा, कलकल बग्ने भेरी नदी, मनै लोभ्याउने झरनाका साथै हरिया वनजङ्गल, लहलाउँदा बालीहरू धेरैले कल्पना गरेको भन्दा सुन्दर उपत्यकाले आफ्नो काखमा देउती बजै मन्दिर, बुलबुले ताल, काँक्रेबिहार जस्ता धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रलाई सजाएर बसेको छ ।
उत्तर पूर्वमा रहेको चिङ्गाड गाउँपालिका सुर्खेतका नौ वटा पालिका मध्यको एक पालिका हो ।
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट करिब ५० किलोमिटर दूरीमा रहेको चिङ्गाड गाउँपालिका दैलेख र जाजरकोटसँग पनि सिमाना जोडिएको छ । दैलेखको गुराँस र भगवतीमाई गाउँपालिका, साथै जाजरकोटको शिवालय गाउँपालिका, अनि सुर्खेतको सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका र वीरेन्द्रनगर पालिकासँग यसको सिमा जोडिएको छ ।
सबै भन्दा नजिकको नाका सुर्खेत÷दैलेखको सडक खण्डको सिमाना हुँदै रातानाङ्ला, धरमपोखरा बजार हँुदै चिङ्गाड गाउँपालिकाको मुख्य प्रवेशद्वारमा पुग्न सकिन्छ । यो गाउँमा ६ वटा वडाहरु रहेका छन् । जसमा वडा नं. १ रजेना, वडा नं. रानिवास, वडा नं. ३ र ४ मटेला, वडा नं. ५ अवल्चिङ र वडा नं. ६ पाम्का रहेका छन् । यस गाउँपालिकाको केन्द्र भने वडा नं. ५ अवल्चिङ नै रहेको छ । गाउँको विकास र यहाँका जनताका लागि सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन दत्तचित्त भएर लागेको गाउँपालिकाले जनाएको छ ।
पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा जातीय रूपमा ब्राह्मण, क्षेत्री, मगरहरूको बसोबास उच्च रहेको देखिन्छ । धान, मकै, कोदो, गहुँ यस पालिकाका प्रमुख अन्नबाली हुन्, भने तोरी, अदुवा, लसुन, आलु, आदिहरू पनि यहाँका किसानहरूले राम्रोसँग उत्पादन गर्ने गरेको पाईन्छ । यो पालिका फलफुलहरूका लागि पनि प्रसिद्ध रहेको छ । सुन्तला, माल्टा, अम्बा, केरा, नास्पति, किवी, अनार, आरुपोखडा, कागती लगायतका फलफुलहरु यहाँ राम्रोसँग उत्पादन भइरहेको पाइन्छ ।
यसरी पालिकामा उत्पादन भैरहेका फलफुलहरूको राम्रो व्यवस्थापन र उचित बजार हुनुपर्ने देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका अतिरिक्त ठूलो भूभाग जङ्गलले ढाक्नुका साथै भिरालो जमिनले बनेको हुँदा यस क्षेत्रका मानिसहरु जीविकोपार्जनका लागि कृषि, पशुपालनका अतिरिक्त नोकरी, व्यापार–व्यवसायमा संलग्न रहेका छन् । अहिले पनि बाह्रै महिना सडक यातायातबाट बञ्चित यस क्षेत्रका समुदायको समथर जमिनको अत्यन्त अभाव रहेको छ ।
यहाँको निकै सुन्दर अनि रमणीय बुरुसे झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । कलकल निरन्तर बगिरहने चिङ्गाड खोलाको मुहान पनि यही बुरुसे झरना रहेको छ । चिङ्गाड खोलाले यस पालिकाको ६ वटै वडाको किनार हुँदै बगिरहेको छ । धार्मिक तथा पर्यटकको उच्च सम्भावना रहेको यस पालिकामा वडा नम्बर ४ अवस्थित मालिका मन्दिरलाई पनि महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।
सुर्खेत जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको मालिका मन्दिर तीन जिल्लाको सिमानाको टापुमा रहेको छ । दैलेखको गुराँस गाउँपालिका र भगवतीमाई गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिकाको सिमानामा अवस्थित यो मन्दिर साँच्चिकै सुन्दर रहेको छ । आफूले चाहेको मागेको पूरा हुने जनविश्वासमा, यहाँ भक्तजनहरूको दिनहु घुइँचो हुने गर्दछ । यस मालिका मन्दिर हरियाली वातावरणले सजिएको छ भने घना जंगलले ढाकिएको छ ।
जहाँ विभिन्न किसिमका जडीबुटी र विभिन्न प्रजातिका लालीगुराँस समेत पाइने गर्दछन् । गुफा अनि पत्थर खानी पनि रहेको यस स्थानमा पत्थरबाट नै सिडी बनाइएको छ । जसबाट मालिका मन्दिर पुग्न सकिन्छ । भने मालिका मन्दिर आफैमा पनि पत्थरै पत्थरले बनेको छ ।
गाउँपालिकाहरु मध्ये चिङ्गाड गाउँपालिका एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा चिङ्गाडका थुप्रै सम्भावनाले टुलु टुलु हेरिरहेका छन् । यस अर्थमा हेर्दा अब चिङ्गाडमा आएर दुःखका गीत होईन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो । यस गाउँपालिकालाई विभिन्न बस्तुहरुको उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन् ।
त्यस्तै यस क्षेत्रमा पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्ने नपर्ने स्थिति आउछ । जसरी प्राकृतिक रुपमा निकै सुन्दर, रमणीय र धनी रहेको छ, त्यसैगरी विकास निर्माणमा पनि फड्को मार्दै जाओस् चिङ्गाड गाउँपालिकाले, शुभकामना र नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्टित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन, न त त्यो मोडेललाई यहाँ लागू गर्न सकिन्छ । नेपालको विकासका लागि देखिएका विभिन्न तरिका मध्ये निम्न आधारहरू प्रमुख देखिन्छ ।
– दक्ष जनशक्ति
– राजनैतिक स्थिरता
– प्राकृतिक स्रोत
– र सडक
राजनीतिक स्थिरता भई माथी रहेको कुनै पनि एक आधारमा देश दौडिन सक्यो भने नेपाल देश विकसित हुन दुई÷तीन दशक पनि नलाग्ने देखिन्छ । त्यसकारण नेपाललाई विकास गर्न माथी उल्लिखित कुनै एक सूत्रमा जोड दिई अगाडि बढ्नुपर्ने देखिन्छ ।
युग संवाददाता । सुर्खेत । १३ माघ २०८०, शनिबार १८:५३