राहतमा ढिलाईं किन ?

विपद्का समयमा राहत के हुने भन्ने पहिचान अहिले पनि धेरै सरकारी तथा गैर सरकारी संयन्त्रलाई जानकारी नै छैन । तर प्राथमिकताका आधारमा हेर्ने हो भने विपद्का समयमा पहिलो राहत भनेकै नागरिकको ज्यानको सुरक्षा नै हो । उद्धारपछि आधारभुत आवश्यकता नै पहिलो प्राथमिकतामा पर्छन् । पहिलो चरणमा गाँसकै कुरो आउछ । त्यसपछि बाँस जोडिएला ।

जाजरकोट केन्द्रविन्दु भएको गएको भूकम्पपछि अहिले राहतहरु जाजरकोट र रुकुमपश्चिमका भित्रने क्रम बढिरहेको छ । भूकम्पले क्षतिपुगेको स्थानमा राहत पठाउनेहरुको संख्या पनि बढिरहेको छ । तर सुरुवाती समयमा देखिएका राहतमा चाउचाउका तस्विरहरुले हामीले राहत सामाग्रीको पहिचान नगरेको भन्ने पक्कै जनाएको छ । त्यसैगरी यो जाडोको समयमा वर्षातको झै आवश्यक पर्ने खालका त्रिपालहरु पनि राहतका नाउँमा जिल्लामा पुगेका छन् । भोको पेट भर्ने नाउँमा ‘जंक फुड’हरु हामीले राहतमा समावेश गराउनु निकै दुखद् विषय हो । चिसो मौसममा दुवै तर्फ खुल्ला हुने त्रिपाल प्रयोग गरेर नागरिकलाई रात बिताउन समेत कष्टकर नै हुन्छ । यस्ता सामाग्री राहतमा समावेश हुँदा तिनलाई राहत कसरी भन्ने । यि सामाग्रीले त झन् थप समस्याको सिर्जना गर्न सक्छन् । अर्को विषय हो, राहत सामाग्रीहरुमा दाताले समेत यसको वर्गिकरण गरिरहेका छैनन् । पीडितहरु सबै एकै प्रकारका पनि हुदैनन् । यहाँ बालबालिका देखि वृद्धवृद्धासम्म भूकम्प पीडित भएका छन् । उमेरगतमा पनि लैङ्गिक रुपमा समेत पीडितविच भिन्नता छ । त्यसैगरी अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बौद्धिक अपाङ्गता भएका नागरिकहरु समेत पीडित छन् । यस्तो अवस्थामा हामीले वितरण शुरु गरेका राहत सामाग्रीले के सबै पीडिलाई समेटेको छ त ? के सबै पीडिक राहतको पहुँच र उपभोगमा जोडिएका छन् ?

विपद् घटेको दिनहरु वित्दै जाँदा अव पीडितहरु रहेको क्षेत्रमा स्वास्थ्य समस्याहरु देखा पर्न थाल्छन् । खासगरी पहिलो चरणमा बालबालिका, सुत्केरी महिला तथा बृद्धबृद्धामा यसको असरहरु देखा पर्छन् । यस्तो अवस्थामा हामीले सहयोग गरिरहेको राहत सामाग्रीको उपभोग अवस्थाले समेत निर्धारण गर्छ । उनीहरुको खाद्य अधिकार संरक्षण गर्दै बाँडिएका चामल र तेल मात्रका राहत सामाग्रीले केहि दिनमा नै संकेत जनाइ हाल्छन् । विशेषगरी बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाका लागि पोषणयुक्त खाना अत्यावश्यक हो । भूकम्पले घर नै भत्काएको अवस्थामा उनीहरुलाई चामल वाहेक अन्य प्रोटिनजन्य खाद्य सामाग्रीको समेत आवश्यकता छ । यस विषयमा समेत राहत सहयोग गर्ने र वितरण गर्नेहरुले सोच्नुपर्ने आवश्यकता छ । चामल मात्रले पेट मात्र भरिने हो, शारिरिक आवश्यकताको आहारा भने पुग्दैन । समयको रुपमा हेर्नुपर्दा भूकम्प गएको करिव एक साता पुगेको छ । यस समयमा हामीहरुले पीडितलाई सुरक्षित वासस्थानको व्यवस्थापन गरिसकेको हुनुपर्ने थियो । तर अहिलेसम्म पनि जाजरकोट र रुकुम पश्चिममा राहत वितरणमा समेत ढिलाईं गरिरहेका छौँ । जिल्लामा अझैपनि आवश्यकता अनुसारका त्रिपाल, टेन्ट तथा ब्ल्यांकेटहरु अभाव नै छन् । यस्तो अवस्थामा राहतको आवश्यकता अनुसार वर्गिकरण गरी तत्काल पीडितलाई राहत उपलब्ध गराउनुपर्छ ।

तपाईको प्रतिक्रिया