१६ घण्टे अविस्मरणीय यात्रा

डोल्पा काईगाउँदेखि दुधकुण्डली

‘आफु नमरे सम्म स्वर्ग भेटिन्न’ भनेर हाम्रा बुढापाकाले भने जस्तै कुनै कुराको अनुभव स्वयम् आफैले अनुभूति नगरेसम्म त्यो कुराको वास्तविकताएकिन गर्नर विश्वास गर्न सकिदैन । कुनै नयाँ गन्तव्यको चिरफार गर्ने सोचमा हुनुहुन्छ भने पक्कै पनि कौतुहलताले बेचैन बनाईरहेको हुन्छ ।

त्यस्तो गन्तव्य जानुपूर्व कस्तो होला ? जान सकिएला कि नसकिएला ? खाना र बासको व्यवस्था कस्तो होला ? गन्तव्य पश्चातको प्रतिफल कस्तो होला ? यी यवात् कुराहरुले सताईरहन्छ । यति सम्म कि यो विषयको निर्णय फलामको चिउरा चपाए भन्दा पनि कठिन हुने गर्दछ । यो विषयको बारेमा व्यक्ति पिच्छे फरक–फरक निर्णय पाउन सकिन्छ,किनकी समय परिस्थिति अनुसार उनीहरुले फरक–फरक अनुभव प्राप्त गरेका हुन्छन् । यसर्थ कुनै नयाँ नौलो गन्तव्यलाई अन्वेषण नगरेसम्म त्यो गन्तव्यको वास्तविकता एकिन गर्न सकिदैन । सोहि बमोजिम दुधकुण्डली तालसम्मको मेरो यात्रा पनि यस्तै रह्यो । मलाई एकैछिन समय दिनुस यात्राको बेलिविस्तार लगाउछु हवस् ।

दुधकुण्डली तालको बारेमा मैले थाहा पाएको २०७८ सालमा हो । जागिरको शिलशिलामा मैले डोल्पा जिल्ला प्रवेश गर्ने मौका पाएँ । २०७७ सालमा म डोल्पा पुग्दा त्यहाँको भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक र पर्यटकीय स्थलहरुको बारेमा जानकारी लिने मौका समेत जु¥यो । घुमघाममा खासै रुचि नराख्ने म, जब डोल्पा जिल्ला अन्र्तगत पर्ने नेपालकै ठूलो शे–फोक्सुण्डो ताल घुमे, त्यसपछि यस्ता पर्यटकीय र धार्मिक स्थलहरुको अनुभव लिने र आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्ने विषयमा मेरो चासो बढ्न थाल्यो ।

डोल्पा आफैमा तालै तालको जिल्ला समेत रहेको कुरा हालै विभिन्न संचार माध्यममा प्रकाशित भएको समाचारबाट समेत प्रष्ट हुन्छ । साथै स्थानीय बासिन्दाका अनुसार विशेष गरी ताल र धार्मिक स्थलको पर्यटकीय गन्तव्य डोल्पा रहेको पाउन सकिन्छ । विभिन्न तालहरु मध्ये डोल्पा र जुम्लाको सिमानामा पर्ने दुधकुण्डली ताल पनि पर्यटकीय गन्तव्यको एक उपयुक्त स्थान हो ।

म हरेक विहानी दुधकुण्डली ताल घुम्ने योजना बुन्ने गर्दथे । जसले दुधकुण्डली तालसम्मको यात्रा तय गर्न सहयोग पु¥यायो । यसरी दुधकुण्डली ताल लगायतको डोल्पा जिल्लाको पर्यटकीय तथा धार्मिक गन्तव्य स्थल मलाई चिनाउनमा म कार्यरत नेपाल बैंक लिमिटेडको साथ छ । म अहिले नेपाल बैंक लिमिटेडको जगदुल्ला शाखा, डोल्पामा कार्यरत रहेको छु । यसर्थमा पनि मेरो लागि दुधकुण्डली तालसम्मको यात्रा सहज रह्यो ।

‘विहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस्….’, रामकृष्ण ढकालको कर्णप्रीय राष्ट्रभक्ति सहितको यो गित मेरो हरेक दैनिकि हो भन्दा पनि फरक नपर्ला ! किनकि मेरो झ्यालको पर्दा खोल्दा हिमालको सेताम्य हिउँ, पारिलो घामले ति सेताम्य हिमालका टाकुरालाई चुम्बन गर्दा सुन जस्तै टलक्क देखिने ति मनमोहक दृश्यहरु मेरो मानसपटलमा यति सम्म गढ्यो कि जसले मलाई दुधकुण्डली तालसम्मको यात्रालाई उत्प्रेरित तुल्यायो ।

…….

बैंकको जागिर भएर होला अन्य बैंकर साथीहरुलाई सँगै जाउँ भनेर भन्न पनि आँट आएन । करिव एक हप्ता अघिको सदा झै खाना खाने समयमा गाउँका काठमिस्त्री साथीहरुसँग अचानक दुधकुण्डली तालसम्म जाने योजना तय गरियो । योजना बनाए पश्चात काम फत्ते नगरेसम्म चित्तै नबुझ्ने बानी भएर होला सायद त्यसै दिन आउदो शनिबार दुधकुण्डली तालसम्म पुग्ने निधो गरियो र आवश्यक तयारी तर्फ पनि जुटियो ।

जगदुल्ला गाउँपालिका–६, झ्याकोट बस्ने मेरो बैंकको ग्राहक हरियो विटालुलाई एकाविहानै फोन गरे अनि दुधकुण्डली जाने बेला खान बस्नको व्यवस्था के कस्तो छ भने बुझे । सुत्न समेतको जोहो गर्दा अहिले सबै गोठका मानिसहरु अफ सिजन भएकाले गाउँ तर्फ झरिसकेको जानकारी पाइयो । यसरी हाम्रो यात्रामा केहि असहज हुने निश्चित थियो तर पनि सोहि दिन साँझ जगदुल्ला गाउँपालिका–६ का वडा अध्यक्ष कालिबहादुर बुढालाई फोन गर्दा एउटा गोठ मात्र रहेको सूचना पाइयो ।

करिव डेढ दिन लाग्ने यात्रा यद्यपी एक दिनमै दुधकुण्डली तालसम्म पुगेर फर्कन सकिने समेत हामीलाई जानकारी भयो । यसरी यात्रालाई सहज र रमाईलो बनाउनमा वडा अध्यक्ष कालिबहादुर बुढालाई हामीसँगै जान अनुरोध ग¥यौं र उहाँले पनि सहजै हाम्रो अनुरोधलाई स्वीकार गर्नुभयो ।

सबै कुराहरु बुझ्दा ताल घुम्ने सिजन यो वर्षको लागि गईसकेको भए तापनि हामी दुधकुण्डली तालसम्म पुग्ने निर्णय भइसकेकोले यात्रालाई निरन्तरता दिने पक्का गरियो । असोज १९ गते शुक्रबारको दिन दिउँसो १२ बजेतिर जगदुल्ला गाउँपालिका–२ निवासी भिमबहादुर महतारा भन्ने भाईलाई हाम्रो खाने कुराहरु बोक्नको लागि लिने निश्चित गरियो ।

म अफिसबाट फर्कदा गाउँका काठ मिस्त्री साथीहरु साँझसम्मै काम गरिहेका थिए । म र एक जना काठ मिस्त्री सुकराम खाती स्थानीयको पसलमा गएर अर्को दिनको लागि साढे चार हजार जतिको खानेकुरा किन्यौ अनि भोलि पल्ट अर्थात् शनिबार विहानै ३ बजे हिड्ने योजना बनायौं ।

योजना अनुसार ठिक २ः३० बजे मोबाईलमा आलाराम सेट गरेर सुतियो ।

……

असोज २० गते शनिबार विहान २ः३० बजे म उठेर साथीहरुलाई फोन गरे, उठाँए, तयार भयौं अनि यात्रा तय गरियो । विहानको ३ः१५ को झिसमिसे उज्यालोसँगै हाम्रा खाने कुराहरुको भारी सहित दुधकुण्डली ताल तर्फ लागियो ।

हिड्दा हिड्दै भोक लागेर विहान ४ः१५ बजे अघिल्लो दिन तयार पारेको अण्डा खायौं पुनः करिब ५ बजेतिर झ्याकोट देखि दुधकुण्डली ताल जाने माथि तिरको लेकमा हामीलाई कुरिरहेका वडा अध्यक्ष कालिबहादुरसँग भेट भयो ।
अनि वडा अध्यक्ष सँगै हाम्रो तालसम्मको यात्रा अघि बढ्यो । दुधकुण्डली तालसम्म पुग्ने गोरेटो बाटोलाई पछ्याउदै हामी करिव ७ बजेको मिरमिरे घामको ज्योतिसँगै पातिहाल्ना भन्ने स्थानमा पुगियो ।

जहाँबाट मुड्केचुला गाउँपालिकाको अग्ला अग्ला लेकहरु, भालुलेक, मौरेलेक, जुम्लाको सिमानाहरुको मनोरम दृश्यहरु दृश्यावलोकन गर्न सकिन्थ्यो । वर्षा याममा पातिहाल्ना भन्ने स्थानमा भेडा, खसी बाख्रा र चौरी चराउनको गोठ बनाएर मानिसहरु बस्दा रहेछन् ।

सगरमाथाको बेसक्याम्प जस्तै चौरीखर्क

पतिहाल्नबाट लगभग आधा घण्टाको हिडाई करिव ७ः११ बजे चौरीखर्क भन्ने स्थानमा पुग्यौं । जुन स्थान सगरमाथाको बेसक्याम्पको जस्तै चौरीखर्क पनि दुधकुण्डली तालको बेसक्याम्प जस्तै रहेछ । स्थानीय बासिन्दाहरुले दुधकुण्डली ताल जानुपरेमा चौरीखर्कमै बास बस्दा खाना र बासको समस्या नहुने र अर्को दिन विहानै दुधकुण्डली ताल जाँदा बाटोमै पर्ने दुधकुण्डली लेक काट्न समेत सजिलो हुने बताउँछन् ।

चौरीखर्क मै बयल्दी कृषि तथा चौरीपालन फर्मरहेछ । त्यस चौरी फर्ममा चौरीका साना साना बच्चाहरुले दुध खाएको र चौरीको दुध दुहेको ति दृश्यहरुले मेरो मनमा चौरीका बच्चाहरु प्रति माया दर्शाउथ्यो । हामीले खानाको लागि पहिले नै खबर गर्न खोजे तापनि चौरी गोठमा रहेका तुलबहादुर बुढालाई फोन सम्पर्क भएन ।

हामी यात्रालाई रमणीय बनाउदै एक्कासी तुलबहादुरको चौरी गोठमा पुग्यौं र खानाको लागि उनले हामीलाई भात पकाईदिए अनि समय अभावले चाउचाऊको झोलसँगै भात खाने निधो गरियो । भोजन भन्दा भोक ठूलो भने झै चाउचाउको झोल सँगै खाएको खाना समेत हाम्रो निकै स्वादिष्ट रह्यो । त्यसपश्चात हामी ८ः३० बजे दुधकुण्डली लेक तिर उकालो लाग्यौं ।

छिलछिले डाँडा

९ः४० बजे हामी छिलछिले डाँडा पुग्यौं । त्यो डाँडा निर छेउमा सानो पानिको मुहान छ । उक्त स्थानमा चट्टानहरुलाई चिरेर पानिले छिलछिल आवाज दिएर बग्ने हुँदा त्यस स्थानको नाम छिलछिले डाँडा भनिएको रहेछ । त्यहाँ बसेर हामीले नास्ता खायौं र केहि थान फोटोहरु थिच्यौं अनि पुनः आफ्नो गन्तव्यलाई पहिल्यौं ।

छिलछिले डाँडा देखि करिव एक घण्टा हिडिसके पश्चात १०ः३० बजे बुकि डाँडामा पुग्दा सुकेका वुकिझारमा पल्टदा आनन्दको सीमा नै नाध्यो । बुकि झार सुकेर पहेंलो भई मुलायम बनेको थियो । त्यो मुलायम झारमा बसेर पछाडीका दुईवटा लेकका थुम्काको फोटो खिच्दा झनै आर्कषक देखिन्थ्यो ।

११ः२० बजे बर माग्ने ठाउँनिर पुग्यौं । स्थानीय वासिन्दाका अनुसार त्यो ठाउँमा पुगिसकेपछि आफुले जे बर माग्यो त्यहि पुरा हुन्छ भन्ने जनविश्वास रहेको रहेछ । भुतकेस फुलहरु सुकेर हिउँ जस्तै सेताम्य थिए । जुन मेरा लागि नौलो र अनौठ प्रकृतिको फुल थियो । नाउरहरु (हिमाली मृग) हिडेका पाईलाहरुले त्यहाँ हिमाली जनवार पनि रहेछ भन्ने थाहा पाउन सकिन्थ्यो ।

११ः३७ बजे हामी दुधकुण्डली लेकमापुग्दा तालमा घाम किरणहरु छाइरहेका थिए भने दुधकुण्डली ताल जाँदा सबैभन्दा अग्लो लेक पनि यही दुधकुण्डली लेक नै रहेछ । समुन्द्री सतहबाट करिव ४६०० मिटर उचाईमा यो लेक दुधकुण्डली ताल जाँदा र फर्कदा थकाई मेट्ने स्थानको रुपमा परिचित रहेछ । लेकमा पुग्दा यस्तो लाग्छ कि तालले हामीलाई स्वागत गर्न आतुर छ । तालको मनमोहक दृश्य, वरिपरिको स्वच्छ र शान्त वातावरण आफुलाई बादल पारिको देशमा छु कि जस्तो लाग्ने गर्दछ । हिड्दा हिड्दै थकित भएको समयमा यहाँबाट देखिने अनुपम दृश्यले छुट्टै आनन्द दिन्छ ।

यस लेकबाट दुधकुण्डली तालसम्म पुग्न करिव ४५ मिनेट जति लाग्छ । हामी दुधकुण्डली ताल तर्फ जान आरोलो झ¥यौं ।

तिर्थालुहरुको लागि विशेष ताल

दिउसो १२ः१६ बजे हामी ताल मै पुग्यौं । विहान ३ बजे देखि लगातार हिडेर साढे आठ घण्टामा हामी ताल सम्म पुग्न सफल भयौं । सपनामा बुनेका योजनालाई वास्तविकतामा बदल्न म सफल भएँ र तालको सुन्दरसँग पौडिन थाले ।

डोल्पा र जुम्ला जिल्लाको सिमाना तथा समुन्द्री सतहदेखि ४६०० मिटरको उचाईमा रहेको यो तालको पुरानो नाम गरुल नुहाउने ताल रहेछ । पौराणिक कथाअनुसार विष्णुको बहान चिल (गरुल) यो तालमा आएर नुहाउने भएकोले गुरुल नुहाउने ताल भनिएको । पछि आएर यो ताललाई नयाँ पुस्ताले दुधकुण्डली ताल भनि नामाकरण गरेका थिए ।

यो तिर्थ जानेहरुको लागि र आमा नहुनेहरुको लागि विशेष ताल मानिन्छ । यो तालमा गएर नुहाएपछि मृत आमाहरुको आत्माले स्वर्गमा स्थान पाउँछन र विभिन्न जाल झेलबाट मुक्त पाउछन् भन्ने स्थानीय वासीहरुको जनविश्वास रहेको छ । यस्तै आफूले जानेर वा नजानेर गरिएका कामबाट आफुलाई लाग्ने पाप तथा दोषहरु काटिन्छ भन्ने भनाई पनि छ ।

दुधकुण्डलीः एक भूस्वर्ग

तालको वर्णन गरेर सम्भव छैन । ताल सुन्दर, शान्त, स्वच्छ र मन्द गतिले आफ्नै गति अगाडी बढाइरहेको हुन्छ । तराइको फाँट, पहाडको काख, हिमाल, पानी, बुकि झार आदि कुराहरुको समिश्रण यो तालको बनावटमा पाउन सकिन्छ । यो ताल कुनै भूस्वर्ग भन्दा कम छैन । तालको मनमोहक दृश्यले त्यहाँ रहँदा सम्म हाम्रो ध्यान केन्द्रीत गरिरहन्छ, आँखाका नजरहरु त्यहाँबाट हट्न मान्दैनन् । यस्तो लाग्छ कि यो ठाउँ कुनै देवी देवता बस्ने धर्तीको स्वर्ग हो ।

तालमा हामीहरुले फोटो खिच्यौ, भिडियो बनायौं, खाजा खायौं, नुहायौं, भेटि चढायौं अनि फर्कनको लागि तयारी ग¥यौं । फर्कने समय एकदमै कम भएकाले हामी दिउसो १ः४५ बजे नै तालबाट फर्कियौं । मनले ताल छोड्न रत्तिभर नमाने पनि ताल छोड्न बाध्य भयौं । घाम अस्ताउदै थियो हाम्रो पाइलाहरु थकित थिए अनि हाम्रा थकित पाइलाहरु अगाडी बढ्न मानेको थिएन । तर साँझ नै फर्कन योजना अनुसार तालसँगको दुरी बढाउदै हामी फर्कियौं । दिनको २ः२६ बजे दुधकुण्डली लेक,अपराह्न ४ः४५ बजे चौरि खर्क, साँझ ६ः३० बजे जगदुल्ला गाउँपालिका हुदै ७ः१० मा आफ्नो कोठा काईगाउँ सम्म पुगियो ।यसरी काईगाउँ देखि दुधकुण्डली सम्मको हाम्रो यात्रा अवस्मरणीय रह्यो र टुङ्गियो ।

कसरी पुग्ने ?

यो ताल पुग्न सुर्खेत देखि कालिकोट, जुम्ला हुदै डोल्पा जिल्ला वा सुर्खेत, छिन्चु, जाजरकोट हुदै डोल्पा जिल्लाको त्रिपुराकोट हुदै जगदुल्ला गाउँपालिकाको यात्रा गर्नुपर्छ । जगदुल्ला गाउँपालिकाको कार्यालय देखि उत्तर तर्फ अगाडी बढि चौरीखर्क भन्ने स्थानमा बास बस्दा यात्रामा सहज हुने गर्दछ ।

चौरी खर्क देखि विहानै खाजा खाएपछि करिव ५ घण्टा उकालो लागे पछि दुधकुण्डली ताल पुगिन्छ । तालमा घुमफिर गरिसकेपछि पुनः चौरीखर्क बास बस्न आउनु करिव तीन घण्टा लाग्छ ।

अनि चौरीखर्क देखि पुनः जगदुल्ला गाउँपालिका अनि त्यहाँबाट जुम्ला वा जाजरकोट हुदै फर्कन सकिन्छ । दुधकुण्डली ताल जानको लागि उपयुक्त समय साउन, भदौ र असोज महिनाको दोसो सातासम्म एकदमै उपयुक्त मानिन्छ । उकालोमा धेरै नआत्तिनुहोला ।

हाम्रो यात्रामा जगदुल्ला गाउँपालिका–६, झ्याकोटका वडा अध्यक्ष कालिबहादुर बुढा, सुकराम खाती, नारायण खाती, सन्जिव धानुक र भिम बहादुर महतारा लगायत सहभागि भएका थियौ ।

(लेखक नेपाल बैंक लिमिटेडको जगदुल्ला शाखा, डोल्पामा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया