एमाले कर्णाली अधिवेशनमा गुजावजंग शाह प्यानलका उमेदवारकाे लिष्ट सार्वजनिक

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनाव नगर्ने चेतावनी दिए पनि नेतृत्व चयनका लागि प्यानल नै बनाएर नेताहरु चुनावी मैदानमा छन् । बुधबार पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेको अधिवेशन सहमतिकै लागि पाँच दिनसम्म निर्वाचन भएन् ।

एमालेका केन्द्रदेखि वडा, टोल तहसम्म अधिवेशनमा गुट उपगुट निर्माण गर्न नहुने, प्यानल बनाएर निर्वाचनमा होमिन, प्रचार प्रसार गर्न नहुने केन्द्रीय नीतिको उलंघन गरिएको छ । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा पार्टी केन्द्रको नीति विपरित प्रदेश अध्यक्षका उम्मेदावर गुजावजंग शाहको नेतृत्वको प्यानलै निर्माण गरी सार्वजनिक गरिएको छ ।

आफ्नो पक्षिय उम्मेदवारहरुको नाम, लिष्ट प्यानलै तयार गरी मतदाता प्रतिनिधिहरुको हातहातमा पुर्याइएको छ । अर्का अध्यक्ष पदका उम्मेदवार मिन बहादुर शाही नेतृत्वको प्यानलले आफ्ना उम्मेदवारहरुको नाम, लिष्ट तयार गरेर मतदातसम्म पुराएको त छैन तर पदाधिकारीमा भने अनौपचारिक रुपमा नाम लिष्ट नै तयार गरेर मत माग्न प्रचार गरिएको थियो ।

अन्ततः आइतबार निर्वाचनका लागि मतदान नि भयो । त्यो पनि पार्टी अध्यक्षको निर्देशन विपरित प्यानलै बनाएर । सुर्खेत सभागृहमा भइरहेको निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्म गुटगत पर्चा बाँडिएका छन् । प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र प्रकाश रोकाया चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धा भने शाह र शाहीबीच छ । शाह पोलिटव्यूरो सदस्य यामलाल कँडेल पक्षीय हुन् भने शाही अर्का पोलिटव्यूरो सदस्य गोरख बोगटी पक्षका नेता हुन् । कँडेलले दुई दिनअघिनै निर्वाचन गराउन खोजेका थिए । केन्द्रको दवावपछि निर्वाचन दुई दिन ढिलो भयो । जति निर्वाचन ढिलो हुन्छ, त्यतिनै बोगटी नजिकका शाहीलाई माहोल बनाउन सहज हुने भएकाले निर्वाचन कमिटीले जानीजानी निर्वाचन धकेलेको आरोप कँडेल पक्षकाले लगाउने गरेका छन ।

‘निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्दा पनि पार्टी केन्द्रले सहमतिका लागि रोक्न निर्देशन दिनुको कारण शाहीलाई आफ्नो माहोल बनाउन सजिलो बनाउनु हो,’ कँडेल पक्षका एक नेताले भने, ‘ढिलो निर्वाचन हुँदा कसले जित्छ भन्न गाह्रो भयो ।’

अध्यक्ष ओली र कँडेलबीच सम्बन्धमा पनि हार्दिकता देखिँदैन् । कर्णालीकै द्वन्द्वका कारण केन्द्रमा आफ्नो सत्ता गुमेको आशंका ओलीको छ। पार्टी निर्वाचनमा पनि कर्णालीलाई पदाधिकारी नदिएका ओलीले पार्टी सचिवलाई प्रदेश इन्चार्ज बनाएर कँडेललाई दैलेख जिल्लाको इन्चार्जमा सीमित राखे ।

‘अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको चाहना प्रदेश अध्यक्ष शाही बनुन भन्ने हो,’ कँडेल निकट ति नेताले भने, ‘राजनीतिमा खारिएकालाई पाखा लगाएर एनजिओमा लागिरहेका मानिसलाई अध्यक्ष बनाउन खोन्दा कँडेलले शाहलाई अघाडि सार्नु भएको हो ।’ प्रदेशसभाको पहिलो कार्यकालमा कँडेल र शाह दुबै जना प्रदेश सांसद थिए ।

४० सदस्यीय प्रदेशसभामा एमालेका मात्रै २० जना थिए । नेकपा पूर्ववत अवस्थामा फर्किएपछि कँडेल मुख्यमन्त्री बन्न खोजेका थिए । तर, एमालेकै चार सांसदले फ्लोरक्रस गरेपछि उनी मुख्यमन्त्री हुन पाएनन् । कर्णालीको असर अरु प्रदेश हुँदै केन्द्रमा पुग्यो ।

कर्णालीमा भने कँडेल र बोगटी समूह भनेर विभाजित छ । कँडेललेनै सुर्खेत जिल्ला अध्यक्ष बनाएका अमृत बिसीले शाहीलाई समर्थन गरेपछि जिल्लाको राजनीति पनि तरंगीत बनेको छ । कँडेल समूहका शाहको टीमबाट उपाध्यक्षमा टेकराज पछाई छन भने सचिवमा ध्रुवकुमार शाही चुनावी मैदानमा छन् ।

यस्तै उपसचिवमा रमेशकुमार शाही र रविन्द्रराज शर्मा चुनावी मैदानमा छन् । बोगटी समूहका शाहीको टीममा उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा रुद्र शाही र उपमहासचिवमा पद्मा खड्का र मेनका पछाई छन् ।

दुबै समूहले प्यानलगत चीट बनाएर मतदाताहरुलाई बाँडिरहेका छन् । निर्वाचन समितिले नमूना मतपत्र, चीटहरु र मोवाइल निर्वाचनस्थलमा लिन प्रतिवन्ध लगाएपनि निर्वाचन भइरहेको स्थलको गेट बाहिर दुबै प्यानलले छुट्टाछुट्टै लिष्ट बनाएर वितरण गरिरहेका छन् ।

विगतमा गुट उपगुट, केपि ओली समूह र माधव नेपाल समूह हुँदै पार्टी विभाजनसम्म पुगेको नेकपा एमाले पुनः त्यही बाटोमा हिडेको छ । नेकपा एमालेको चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले गुटगत रुपमा प्यानल बनाएर उम्मेदवार खडा गर्न नपाईने र गुट उपगुटका आधारमा मत माग्न नपाईने नीतिनै निर्माण गरेको थियो । सो महाधिवेशनमा अध्यक्ष पदमा केपि शर्मा ओली र भिम बहादुर रावलवीच प्रतिस्पर्धा भयो ।

प्यानलै खडा भएर उम्मेदवारी दर्ता, भेला, बैठक, छलफल र पर्चा, पम्पलेटिङ त भएन तर महाधिवेशनको अध्यक्ष, पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुमा यी यी पात्रहरुलाई मत चाहि नगर्नुपर्ने सानो चिर्कको (कागज) मतदाताको हातहातमा पु¥याइएको थियो । जस जसको नाम उल्लेख गरेर मत नहाल्नु भनिएको थियो अन्ततः त्यो समूह पुरै पराजित भयो । उम्मेदवार बन्दा, प्रचार प्रसार प्यानलै रुपमा भएन तर भोट नहाल्नु भन्दै घुमाउरो तरिकाले संस्थापन पक्षबाटै गुटबन्दी भएको कार्यकर्ता चर्चा थियो ।

तपाईको प्रतिक्रिया