आकासिंदै प्याजको मूल्य सातामै ४५ प्रतिशतले मूल्यवृद्धि

सुर्खेत, ६ भदौ ।
एक साताको अवधिमा कर्णालीको बजारमा अहिले प्याजको भाउँमा ४५ प्रतिशतले मूल्यवृद्धि भएको छ । वीरेन्द्रनगर क्षेत्रमा अहिले उपभोक्ताहरुले प्याज प्रति केजि एक सय रुपैयाँमा खरिद गरिरहेका छन् । भारतले शनिवारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएपछि कर्णालीको बजारमा समेत अहिले प्याजको मूल्य आकाशिएको छ ।

कर्णालीको बजारमा ९५ प्रतिशत प्याजको माग अहिलेपनि भारतबाटै आपूर्ति हुदै आएको छ । भारतले निर्यातमा शुल्क लगाएपछि कर्णालीको बजारमा अहिले प्याजको उपभोक्ता मूल्य एक रुपैयाँ प्रति केजि पुगेको हो ।

गत साउन ३० गते कर्णालीमा प्याजको थोक मूल्य ५५ रुपैयाँ प्रति केजि थियो । मंगलवार भने प्याजको थोक मूल्य ८० रुपैयाँसम्म पुगेको कृषि बजार, सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए ।

भदौ १ गते ६० रुपैयाँ प्रति केजि पुगेको प्याजको मूल्य सोमवार ७० रुपैयाँ र मंगलवार भने ८० रुपैयाँ प्रतिकेजिमा बिक्रि भएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा मात्र सुर्खेतको कृषि बजारमा ३९ दशमलव पाँच मेट्रिकटन प्याज आयात भईसकेको छ । एक महिनाको अवधिमा आयात भएको यो प्याज सबै भारतबाटै भित्रिएको हो ।

वर्षेनी भारतबाटै आयात
कर्णालीमा तरकारी तथा फलफूल व्यवसायका लागि प्रमुख बजार रहेको कृषि बजार, सुर्खेतमा मात्र वर्षेनी करिव एक सय ५७ दशमलव सात मेट्रिकटन प्याज खरिद बिक्रि हुन्छ । यहाँबाट फुटकर व्यवसायीहरुले तरकारी तथा फलफूल खरिद गरेर लैजान्छन् ।

कृषि बजारमा आयात गरिएको तथ्यांक हुर्दा गत आर्थिक वर्ष २०७९/०८० मा एक सय ५७ दशमलव सात मेट्रिकटन प्याज आयात भएको देखिन्छ । यस मध्ये आठ दशमलव एक मेट्रिकटन नेपालको उत्पादन हो । बाँकी एक सय ४९ दशमलव सात मेट्रिकटन प्याज व्यवसायीहरुले भालतबाट खरिद गरी ल्याएका हुन् ।

२०७९/०८० मा सुर्खेतको कृषि बजारमा प्याजको सरदर थोक मूल्य ४६ रुपैयाँ प्रति केजि रहेको बजार व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए । एक महिनाको समयपछि अहिले प्याजको थोक मूल्य ८० रुपैयाँ पुगिसकेको छ ।

प्याजमा भारतकै भर
कर्णालीमा खपत हुने प्याज अधिकांश भारतबाटै आयात हुन्छ । कर्णाली प्रदेशमा आयात हुने तरकारी उपज वस्तुहरूमा सबैभन्दा बढी प्याज रहेको छ । यसका साथै टमाटर, आलु, तितेकरेला, केरा, स्याउ, सुन्तला, काँक्रो, खुर्सानी र लसुन कर्णालीमा सबैभन्दा धेरै आयात गरिने कृषि उत्पादन हुन् ।

यसअघि २०७८/०७९ मा भारतबाट मात्रै २८ हजार ६ सय ३० क्विन्टल बढी प्याज आयात भएको तथ्यांक छ । सो आर्थिक वर्षमा कृषि बजार, सुर्खेतले उत्पादन नभएपछि स्थानिय स्तरमा उत्पादन भएका प्याज नै खरिद गरेन । कुल खपतको शतप्रतिशत नै भारतबाट प्याज आयात भएको थियो ।

प्याजको मूल्यमा अहिले वृद्धि भएपछि खपतमा समेत यसको प्रभाव देखिने कृषि बजार, सुर्खेतका अध्यक्ष टोपेन्द्रजङ्ग शाही बताउँछन् । ‘प्याजको मूल्य आकाशिएको छ । उपभोक्ताहरुले समेत अव प्याजको खपतमा कमी ल्याउछन्’, प्याजमा भारतकै भर परेकाले मूल्य आकाशिएको बताउँदै उनले भने, ‘भारतमै प्याजको कमी भएको छ ।

त्यहाँ सुकेको प्याज धेरै उपलब्ध छैन । वर्षातका कारण हरियो प्याजहरु सुक्न पाईरहेका छैनन् । नेपालमा प्याज उत्पादन नहुँने भएपछि भारतले निर्यात कर नहटाएसम्म यहाँ मूल्य बढिरहन्छ ।’

तपाईको प्रतिक्रिया