जोखिममा शिशु स्वास्थ्य : बजारमा सहजै पाइन्छन् ‘शिशुलाई पाउडर दुध’

सुर्खेत, २२ साउन ।
कर्णालीका वजारमा अहिले आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरु सहजै पाइन्छन् । पाउडर दुध, लिटो (प्याकिङ्ग भएको वजार नाम)लगायतका वस्तुहरु बजारमा सहजै उपलब्ध छन् । खाद्यान्नका थोक तथा फुटकर विक्रेताले समेत शिशु स्वास्थ्यमा असर पार्ने यि वस्तुहरु वजारमा सहजै विक्रिवितरण गरिरहेका छन् ।

चिकित्सकहरुका अनुसार शिशुलाई ६ महिनासम्म आमाको दुध वाहेक पानी पनि खुवाउनु हुँदैन । तर स्वास्थ्य समस्या उत्पन्न भएका समयमा भने चिकित्सकको सल्लाह अनुसार मात्र शिशुलाई आमाको दुधसँगसँगै अन्य खानेकुरा दिनुपर्छ । आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरु वजारमा सर्वत्र उपलब्ध बढेसँगै शिशुलाई पूर्ण स्तनपान गराउने आमाहरुको संख्या अहिले घट्दो अवस्थामा छ ।

‘आमाको दुध नै शिशुको लागि पहिलो सर्वोत्तम आहार हो’, बालरोग विशेषज्ञ डा. नवराज केसी भन्छन्, ‘तर प्रयाप्त मात्रामा दुध नआएको वाहनामा आमाहरुले शिशुलाई दुध प्रतिस्थापन गर्ने पदार्थहरु खुवाईरहेका छन् ।’ खासगरी सुत्केरी समयमा शल्यक्रिया भएका आमाहरुले धेरै मात्रामा शिशुलाई ति वस्तुहरु खुवाउने गरेको पाइएको डा. केसीले बताए । यो अवस्थामा घाउँ निको हुन गाह्रो हुने भन्दै नागरिकहरुले आमाको आहारामा समेत कटौती गर्ने गर्छन् ।

जसकारण आमालाई प्रयाप्त मात्रामा खाना पुग्दैन । सामान्य अवस्था भन्दा सुत्केरी भएको समयमा आमालाई दुई गुणा बढी खानाको मात्रा आवश्यक पर्ने समयमा यसरी खानामै कटौती हुँदा दुध आउने समस्या थप बल्झिने उनले बताए ।

शिशुलाई आमाको दुधको साटो पाउडर दुध लगायतका वस्तु खुवाएपछि युवा अवस्थामा दिर्घ रोग संक्रमणको जोखिम बढ्ने उनले जानकारी दिए । त्यसैगरी एलर्जी हुने, दम रोगको संक्रमणको समेत जोखिम बढ्ने तथा झाडापखाला लगायतका समस्याहरुको जोखिम रहने डा. केसीले जानकारी दिए ।

शिशुको लागि आमाको दुध प्रयाप्त नआएको अवस्थामा भने कुरिल्लो लगायतका सागसब्जीको सेवनले पनि दुधको मात्रा बढाउन सकिने उनको सुझाव छ । यस्तो अवस्थामा चिकित्सकहरुको सल्लाह नै उत्तम विकल्प हो ।

पूर्ण स्तनपान गराउने कर्णालीमा ७४ प्रतिशत आमा

कर्णालीमा ७४ प्रतिशत आमाले मात्र आफ्ना शिशुका लागि पूर्ण स्तनपान गराउँछन् । नेपालको सन्दर्भमा भने यो दर ५६ प्रतिशत छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले भनिन्, ‘शिशुलाई पहिलो ६ महिनाको उमेरसम्म आमाको दुध मात्र खुवाउनुपर्छ । नेपालको तुलनामा कर्णालीमा पूर्ण स्तनपान गराउने आमाहरुको संख्या बढी भएपनि यो सन्तोषजनक भने होइन ।’

शिशुको वृद्धि–विकासका लागि स्तनपान अति आवश्यक भए पनि स्तनपान गराउने आमाहरूको संख्या घटिरहेको उनले जानकारी दिइन् । वाध्यता वा रहर, शरीर बिग्रने डर र आमाको दूध भन्दा बाहिरको राम्रो हुन्छ भन्ने भ्रमपूर्ण सोचाइका कारण पनि आमाहरूले स्तनपान नगराउने केही प्रमुख कारणहरु रहेको उनले जनाइन् ।

शिशु जन्मिएको दुई वर्षसम्म स्तनपान अनिवार्य मानिन्छ । पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनुपर्छ । उक्त अवधिमा आमाको दूध बाहेक शिशुलाई पानीको पनि आवश्यकता पर्दैन । जसलाई ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ भनिन्छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस), २०२२ का अनुसार ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ गर्ने आमाको संख्या नेपालभर ५६ प्रतिशत मात्रै रहेको बताउँदै उनले सन् २०१६ को तुलनामा १० प्रतिशतले कमी आएको उनले बताइन् ।

शैक्षिक अवस्थाका आधारमा पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमामा कम देखाएको उनले जनाइन् । शिक्षाविहीन आमाबाट जन्मेका ६१ प्रतिशत शिशुलाई एक घन्टाभित्र स्तनपान गराएको तथ्यांकले देखाउँछ ।

जबकि, माध्यमिक शिक्षाभन्दा बढी शिक्षा हाँसिल गरेका ३६ प्रतिशत आमाबाट जन्मिएका शिशुले स्तनपान गरेका थिए । यस्तै, एक घन्टाभित्र स्तनपान गराउने शहरी क्षेत्रमा ५१ प्रतिशत रहेकोमा ग्रामीण क्षेत्रमा भने ६३ प्रतिशत रहेको छ । त्यसैगरी नेपालमा बोतल मार्फत दूध खुवाउने शिशु २२ प्रतिशत छन् । प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत देखिएको छ ।

कारवाही गर्ने चेतावनी
आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रि वितरण गरेको फेला परेका कारवाही कानून वमोजिम गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । शुक्रवार एक सूचना जारी गर्दै मन्त्रालयले त्यस्ता वस्तु बेचविखन गरेको पाइएमा विक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ अनुसार कारवाही गर्ने चेतावनी दिएको हो ।

त्यस्तै, आमाको दुधलाई प्रतिस्थापन गर्ने नमुना समेत कसैसंग नलिन र नदिन स्वास्थ्यकर्मीहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीहरुले आमाको दुधलाई प्रतिस्थापन गर्ने कुनैपनि वस्तुको प्रर्वद्धन गर्न नहुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, शिशुलाई जन्मे देखि ६ महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउन मन्त्रालयले आग्रह गरेको छ । आमाको दुध शिशुको लागि सर्वोत्तम आहार भएको भन्दै यसले शिशुको रोगसंग लड्न सक्ने क्षमता बढाउने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । स्तनपानले महिलाहरुमा समेत स्तन क्यान्सर र पाठेघर क्यान्सर हुने जोखिमलाई कम गर्ने मन्त्रालयको भनाइ छ ।

ऐनमा के छ ?
नेपालमा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ नै लागु अवस्थामा छ । यस ऐनले शिशुबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा पनि प्रभावकारी छ भन्ने जनाउने अथवा विश्वासमा पार्न नहुने व्यवस्था गरेको छ । त्यसैगरी उत्पादक तथा वितरकले समेत ति उत्पादनको प्रवद्र्धन हुनेगरी काम गर्न नहुने ऐनमा उल्लेख छ ।

स्वास्थ्य कार्यकर्तालाई समेत यस ऐनले आमाको दुध प्रतिस्थापन हुनेगरी विरुद्दमा गएमा सजायको व्यवस्था समेत गरेको छ । आमाको दुध प्रतिस्थापन हुनेगरी उत्पादनको नमुना दिने तथा ति उत्पादनको प्रवद्र्धन गर्ने स्वास्थ्य कार्यकर्तालाई ऐनले एक हजार रुपैयाँसम्म जरिवाना तथा एक महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

त्यसैगरी उत्पादन तथा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकाय भित्र उत्पादनको प्रवद्र्धन गर्न पाउँदैनन् । यि उत्पादनहरु स्वीकृती विना कुनै संस्था वा संगठनलाई कम मूल्यमा उपलब्ध गराउन वा दान गर्न समेत नमिल्ने ऐनमा व्यवस्था छ । यस्तो अवस्थामा १५ हजार रुपैयाँ जरिवाना र चार महिनासम्म कैद वा दुवै सजायको समेत व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया