अन्तर्वार्ता

वित्तीय अनुशासनमा ध्यान दिएको छु : अध्यक्ष केसी

स्थानीय स्तरमा रहेर नागरिकले प्रत्यक्ष अनुभुत गर्नेगरी सुशासनसहितको सेवा प्रवाह गर्नु स्थानीय तहको मुख्य दायित्व हो । संविधानले स्थानीय तहलाई विशेष अधिकार दिएको छ । सोही अधिकार भित्र रहेर पालिकालाई आवश्यक पर्ने कानून निर्माण, आन्तरिक स्रोतको परिचालनसमेत स्थानीय तहले गर्न पाउँछन् ।

संघीयताको दोस्रो कार्यकालमा आइपुग्दा स्थानीय तहले संविधानमा तोकिएका अधिकारको प्रयोग गर्नुभन्दा पनि संघीयताको मर्मअनुसार काम गर्न नसकेको गुनासोहरु नागरिकस्तरबाट उठ्न थालेका छन् । जनप्रतिनिधिले मनलाग्दी सेवा सुविधा लिने र खर्च गर्ने परिपाटीले व्ययभार बढेको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले स्थानीय तहमा भ्रष्टाचार र अनियमितता व्यापक मौलाएको देखिन्छ ।

आन्तरिक आम्दानी न्यून भएका पालिकाले संघ तथा प्रदेशबाट प्राप्त अनुदानको चरम दुरुपयोग गरी आर्थिक मितव्ययिता कायम गर्न नसकेको महालेखाको प्रतिवेदनबाट प्रष्ट हुन्छ । यसो हुँदा एकातिर राज्यलाई थप व्यभार बढेको छ भने अर्कोतर्फ विकास निर्माण प्रभावित बनेका छन् । बेरुजु बढ्दो ग्राफमा छ । नागरिकले सुशासनको प्रत्याभुति गर्न पाएका छैनन् ।

अतः स्थानीय तहका जनप्रतिनिधिले आफ्ना पालिकामा विद्यमान नीतिगत व्यवस्थामा सुधार ल्याई नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा कसरी काम गरिरहेका छन् ? वित्तीय अनुशासन कामयमा कसरी काम गरेका छन् ? चुनावका बेला जनतामाझ गरेका प्रतिवद्धताहरु पुरा गर्न के गर्दैछन् ? लगायतका विषयमा रहेर कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीसँग युगआह्वानकर्मी ओम शाहीले गरेको कुराकानीको सम्पादित अंशः

तपाई निर्वाचित भईसके पछि सान्नी त्रिवेणी गाउँपालिकामा नीतिगत सुधार र सुशासनको अवस्था कस्तो छ ?

हामीले भौतिक पूर्वाधारतर्पmका विकास निर्माण र सुशासनलाई सँगै अगाडी बढाएका छौं । यसमा भौतिक पूर्वाधारतर्फ नौ वटै वडामा सडक पुर्‍याउने काम सम्पन्न भएको छ । त्यसपछि स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटन क्षेत्रमा कामहरु भए । हामीले एक वर्षको अवधिमा गरेका कामहरुको सम्पूणर् नतिजा असार मसान्तमा सार्वजनिक गर्दैछौं । सुशासनको सन्दर्भमा हामीले सेवाग्राहीलाई समयमै गुणस्तरीय सेवा दिने परिपाटी बसालेका छौं ।

यसमा हामीले प्रशासनिक सेवालाई सेवाग्राहीप्रति उत्तरदायी बनाउँदै आर्थिक मितव्यीतासहितको सेवा प्रवाहमा निरन्तर लागि परेका छौं र विगतका दिनहरुमा पालिकाबाट सामान्य सिफारिस लिदा झेल्नुपर्ने झन्झटहरुलाई अन्त्य गरेका छौं । आगामी दिनहरुमा पालिकाबाट प्रवाह हुने सम्पूणर् किसिमका सेवाहरु बिना भन्झट छिटो र छरितो ढङ्गबाट प्रवाह गर्ने योजना बनाएर अगाडि बढेका छौं ।

चुनावका बेला जनतामाझ गरेका प्रतिवद्धता अनुसार एक वर्षमा के-के काम गर्नुभयो ?

सर्वप्रथम् शिक्षाको क्षेत्रमा हामीले आफ्नै पाठ्क्रम बनाएर लागु गर्न सफल भएका छौं । हाम्रो पालिकामा २८ वटा विद्यालयहरु छन् । यी सबै विद्यालयहरुमा आफ्नै पाठ्यक्रम लागु गरेका छौं । यस्तै पालिकामा रहेका विद्यालयहरुको स्थलगत अनुगमन गरेर शिक्षाको गुणस्तर र भौतिक अवस्था हेरेर ६ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु गर्न सफल भएका छौं । यस अन्तर्गत चार कोठे भवनहरु निर्माण सम्पन्न पनि भइसकेका छन् ।

यस्तै प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनौट गर्ने व्यवस्थाको लागु गरेका छौं । यस अनुसार हामीले यसका लागि विज्ञापन पनि गरेका छौं, असार १० गते खुला प्रतिस्पर्धाबाट प्रअ छनौट हुन्छन् । दक्ष शैक्षिक प्रशासन राख्नका लागि निष्पक्ष ढङ्गबाट प्रधानाध्यापक आउनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

स्वास्थ्यका सन्दर्भमा पालिकास्तरमा एमविविएस डाक्टरसहित औषधी उपकरणहरु नियमित गरेर आधारभुतदेखि पालिकाकाको केन्द्रसम्म गुणस्तरीय स्वास्थ्य सेवाको सुरुवात गरेका छौं । कृषिको हकमा नगदेबाली र फलफूल खेतिलाई स्थान अनुसार पकेट क्षेत्र बनाउने काम भएको छ । यस्तै पालिकाका नौ वटै वडाहरुमा सडक पुगेका छन् । खानेपानी तथा सरसफाईका क्षेत्रमा पनि कामहरु अगाडि बढेका छन् ।

महालेखाको प्रतिवेदनले स्थानीय तहमा अनियमितता र फजुल खर्च हुने गरेको देखाएको छ । बेरुजु पनि उत्तिकै बढी रहेको अवस्थामा यसलाई रोक्न र वित्तीय अनुशासन कायम गर्न के गरिरहनु भएको छ ?

हाम्रो पालिकाको सन्दर्भमा पनि बेरुजु छ । मैले पनि महालेखाको प्रतिवेदन अध्ययन गरे । विशेष गरी हाम्रोमा सैद्धान्तिक र संस्थागत बेरुजु बढी छ । यसमा काम भएको तर कागजात अपुग भनेर सैद्धान्तिक बेरुजु बढी राखेको अवस्था छ । हामीले अहिले बेरुजु घटाउन एकदम प्रयास गरेका छौं । विशेषगरी पूँजिगत तर्फ चालूको भन्दा कम बेरुजु देखिन्छ । त्यसमा जिन्सी सामानको पनि बेरुजु देखिन्छ । अघिल्लो कार्यकालको सरकारको पनि बेरुजु छ ।

फजुल खर्चका सन्दर्भमा हामीले अब लगत्तै गाउँसभा सञ्चालन गर्न खोजि रहेका छौं । गाउँसभा सञ्चालन गर्दै जाँदा हामीले व्यक्तिगत रुपमा पनि स्थानीय स्वायत्त शासन ऐन, २०७४ लाई लागु गरेर फजुल खर्च रोक्ने र बेरुजु घटाउन ठोस योजना बनाउनका लागि एकदम प्रयास गरेका छौं । अघिल्लो अडिटबाट ठुलो सिकाई पनि भएको छ । बेरुजु घटाउने सन्दर्भमा हामीले तीन सदस्यीय समिति बनाएका छौं । उहाँहरु आन्तरिक रुपमा लागिरहनु भएको छ । यसलाई घटाउन र वित्तीय अनुशासन कायम गर्नमा कडाईका साथ लागि परेका छौं ।

तपाईंको कार्यकाल सकिदा सान्नी त्रिवेणीले के पाउँछ ?

मेरो कार्यकालमा हाम्रो पालिकामा विशेष गरी दुई/तीन वटा महत्वपूणर् कामहरु गर्छौं । कृषिको पञ्चवर्षिय आवधिक योजना बनाएका छौं । सोही अनुरुप पाँच वर्षभित्र पालिका भर कृषिका योजनाहरु अगाडि बढाउँछौं । विशेष गरी आलु र फलफूल उत्पादन पकेट क्षेत्र बनाएर कृषकलाई उत्पादन र आयआर्जनमा जोड्ने हाम्रो मुख्य योजना छ । उत्पादन सम्भावना भएका ठाउँहरु छनौट गरेर बजेटको सुनिश्चितता गरी जनताको प्रत्येक्ष जनजिविकासँग जोड्दै आर्थिक सम्पन्तातर्फ लैजाने हाम्रो प्रयास रहने छ । लक्षित वर्गका मानिसहरुका लागि पनि विशेष खालको बजेटको व्यवस्था गरेर सीपमुलक तालिम तथा रोजगारी दिएर आयआर्जनमा जोड्ने लक्ष्य पुरा हुनेछ ।

यस्तै जलउपयोग गुरुयोजना पनि बनाएका छौं । उक्त गुरुयोजना अनुसार एक घर एक धाराको अवधारण लिएका छौं । यसमा हाम्रोसँगै विकास साझेदार संस्था हेल्भेटासको साझेदारी रहेको छ । खानेपानी तथा स्वास्थ्य सरसफाईका क्षेत्रमा रेडक्रस पनि हाम्रो साथमा छ । मेरो कार्यकाल सकिदा हरेक नागरिकका घरमा खानेपानीका धारा पुग्नेछन् । पर्यटनका क्षेत्रमा पनि केही परिवर्तन हुनेछ । कणर्ाली र सुदुरपश्चिमको धार्मिक स्थलका रुपमा रहेका त्रिवेणी र बढिमालिका पाटनलाई प्राथमिकतामा राखेर पर्यटकिय सडक विस्तार गर्ने योजना छ ।

अन्त्यमा, अरु केहि ?

विकास भनेका क्रमश् हुनेहुन् । हामीप्रति पालिकावासीका अपेक्षाहरु बढी नै छन् । पालिकाले यहाँभन्दा पछिका दिनमा हामीले प्रत्येक्ष रुपमै जनताका घरमा गएर वास्तविक पीर मर्कालाई बुझेर सोही अनुसार योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछु । यसमा पालिकावासीको साथ र सहयोगको अपेक्षा सदैव गरेको छु ।

तपाईको प्रतिक्रिया