अन्तर्वार्ता

नीतिगत सुधारमा जोड दिएको छु : अध्यक्ष विष्ट

घर आँगनका सरकार भनिएका स्थानीय तहबाट नागरिकले धेरै आशा र अपेक्षाहरु छन् । स्थानीयस्तरमा रहेर नागरिकले प्रत्यक्ष अनुभुत गर्नेगरी सुशासनसहितको सेवा प्रवाह गर्नु स्थानीय तहको मुख्य दायित्व भित्र पर्दछ ।संविधानले स्थानीय तहलाई विशेष अधिकारहरु दिएको छ । सोही अधिकार भित्र रहेर पालिकालाई आवश्यक पर्ने कानून निर्माण, आन्तरिक स्रोतको परिचालनसमेत स्थानीय तहले गर्न पाउँछन् ।

संघीयताको दोस्रो कार्यकालमा आइपुग्दा स्थानीय तहले संविधानमा तोकिएका अधिकारको प्रयोग गर्नुभन्दा पनि संघीयताको मर्मअनुसार काम गर्न नसकेको आवाजहरु नागरिकस्तरबाट उठ्न थालेका छन् । स्थानीय तहका जनप्रतिनिधिले चुनावमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्न के गर्दैछन् ? बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको दावी गर्ने जनप्रतिनिधिसँग आगामी नीति, कार्यक्रम तथा बजेटका मुख्य प्राथमिकतामा के-के छन् ? संघ तथा प्रदेश सरकारबाट स्थानीय तहले कस्तो अपेक्षा राखेका छन्, लगायतका विषयमा रहेर कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टसँग युगआह्वानकर्मी ओम शाहीले गरेको कुराकानीको सम्पादित अंशः

नरहरिनाथ गाउँपालिकाको अध्यक्षका रुपमा यहाँको पहिलो वर्ष कस्तो रह्यो ?

संघीयताको पहिलो अभ्यास भएकाले अघिल्लो सरकारले हाम्रो पालिकामा यसको कार्यान्वयनका लागि जुन खालको काम गर्नुभयो म त्यसमा उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । सुरुवाती कामहरु गर्दा केही अपुगताहरु हुने रहेछन् । कार्यालय व्यवस्थापनको सन्दर्भमा अहिले जुन खालको प्रविधिको कुरा आएको त्यसको विकास नभएको अवस्थामा हामीले प्रवेश गर्‍यौं । म निर्वाचित भएर आएपछिको पहिलो काम नीतिगत सुधार हो । सायद मलाई लाग्छ नीतिगत सुधार गरेकै कारणले गर्दा नरहरिनाथ गाउँपालिका संस्थागत स्वःमूल्यांकनमा दोस्रो भएको छ र वित्तीय व्यवस्थापन स्वःमूल्यांकनमा पहिलो भएका छौं । मुख्य कुरा पद्दती हो । पद्दती नसुधारीकन केही कुराको पनि विकास हुँदैन भन्ने हो । त्यसो हुँदा हामीले प्रशासनिक पद्दतीको सुधार पक्कै पनि गरेका छौं ।

यसको ज्वलन्त उदाहरण नरहरि गाउँपालिकालाई लिन सकिन्छ । मान्छेलाई हेर्दा खेरी भौतिक पूर्वाधारहरु यसो भएको उसो भएको भन्ने हुन्छ । मैले सामाजिक सञ्जालहरुमा देख्ने गरेको छु । मैले फलानो ठाउँदेखि फलानो ठाउँसम्म बाटो खने, फलानो खानेपानी बनाए, फलानो स्कूल भवन बनाए, यो वर्षभरी भन्ने खालको क्रियाकलापहरु आएको मैले देखेको छु । तर, यि भनेका त नियमित प्रक्रिया पो हुन् । यी त लगातारका विकास हुन् ।

म आएर हुने कुरा होइनन् नि । म आए मात्रै गर्ने अर्कोले नगर्ने भन्ने कुरा होइन । यी त सरकारी प्रक्रियामा गएका कामहरु हुन् निरन्तर भइरहन्छन् । हामी त नीति बनाउन, पद्धति बसाल्न आएका हौं । त्यसो भएको हुँनाले आम नागरिकका अपेक्षा र आवश्यकताका आधारमा विकास निर्माणका कामहरु विस्तारै अघि बढिरहने हो । मैले बाटो, स्कूल, खानेपानी बनाए भनेर मलाई भनि रहन पर्छ जस्तो लाग्दैन । तर, यी कामहरु गर्दै गर्दा के गर्‍यौं त भन्दै गर्दा खेरी जस्तो असारको २४ गते रातीसम्म उपभोक्ताहरु लाइन लाग्ने र सफ्टवयर बन्द नहुन्जेसम्म भुक्तानी माग्ने, झगडा गर्ने पद्धतीको अन्त्य गरेका छौं ।

जेठ २४ गतेलाई नै असार २४ गते मानेर हामीले समयावधि दिएका थियौं । मलाई लाग्छ बैशाखभित्रै हाम्रा धेरै योजनाहरुको भुक्तानी भइ सकेका छन् । असारको महिनामा ३० लाखभन्दा तलका योजनाहरुको भुक्तानी दिन बाँकी छैन । मलाई लाग्छ असार मसान्तमा अन्य पालिकामा जस्तो उपभोक्ताको भिड लाग्छ जस्तो मलाई लाग्दैन ।

पालिकाको आन्तरिक आय बृद्धिमा कसरी काम गर्नु भएको छ ?

पहाडका पालिकाहरुमा आन्तरिक आम्दानी कम छ । जसले जे भनेपनि हामीसँग धेरै स्रोत छैन । हामीसँग सामान्य गिट्टी, बालुवा, साना व्यापारीको नविकरण शुल्क, निर्माण व्यवसायीबाट लिने शुल्क, मालपोत शुल्कबाट कति नै पैसा उठ्छ र ? हाम्रो गाउँपालिकामा आन्तरिक स्रोतले पालिका चलाउन सक्ने अवस्था छैन । संघीय सरकारबाट आउने अनुदानबाट करारमा प्राविधिक कर्मचारी राख्न पाउने स्थानीय तहलाई अधिकार छ । तर, तर अघिल्लो सरकारले प्राविधिक बाहेकका अन्य कर्मचारीलाई राखेको हुनाले हामीले पनि त्यसलाई केही निरन्तरता र केही क्रमभङ्गता गरेर मिलाएका छौं । मलाई लाग्छ अहिले हामीसँग भएका कर्मचारीलाई तलव खुवाउन समस्या छैन । मुद्दा मामिलाका कारण बिचमा केही समस्या आएपनि अहिले हामीले परीक्षा प्रणालीबाट कर्मचारी तथा शिक्षकहरु पठाएका छौं ।

मनपरी खर्च गर्ने परिपाटीले स्थानीय तहहरु बेरुजुका अखडा भए भन्ने आरोप छ नि ?

यसलाई कसरी बुझ्नु पर्‍यो भने, पहिलो कुरा हामीले उपभोक्ता समितिबाट काम गर्ने परिपाटीको अन्त्य गरी टोल सुधार समिति गठन गरेर हरेक योजनाहरु अगाडि बढाएका छौं । प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाका योजनाहरुमा टोल सुधार समितिहरुले काम गरेको अवस्था छ । जसले उपभोक्ता समितिका कारण बिचौलिया तथा दलाली काम बन्द भएको छ । मलाई लाग्छ यो २० प्रतिशत उपभोक्ता समिति गठन भए पनि ८० प्रतिशतले यसलाई कन्ट्रोल गरेका छौं जस्तो लाग्छ ।

बेरुजुको कुरामा हामी आउँदै गर्दा झण्डै १३ बढी करोड बरुजु थियो । अहिले हामीले यसलाई घटाएर नौ करोड हाराहारीमा झारेका छौं । बेरुजु घटाउने कुरामा । अब आउँदो रिपोर्टले कस्तो आउँछ हेर्न बाँकी छ । बेरुजु असुल उपरका लागि पत्राचार गर्ने काम भई रहेको छ । यसमा हामीले बारम्बार ताकेतासमेत गरिरहेका छौं ।

यहाँको कार्यकाल सकिदा नरहरिनाथले के पाउँछ ?

म एउटा स्थानीय तहको प्रतिनिधि भएको हुनाले मप्रति जनताका धेरै अपेक्षाहरु रहेका छन्् । त्यसो हुँदा म आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिन मिल्दैन र पन्छिनु पनि हुँदैन । सबै कुराहरु मैले चाहे जस्तै बन्छ भन्ने पनि छैन ।
बनाउनका लागि मेरो अठोट, सपना र परिकल्पना त हुने नै भयो । तर, त्यसका लागि धेरै कुराहरु चाहिन्छ । जस्तो, जनसमुदायको सहभागिता, त्यहाँका राजनीतिक दलहरुको सपोर्ट, कर्मचारीको सहयोग र सक्रियतादेखि लिएर संघ, र प्रदेश सरकारका नीति नियमहरु काम गर्ने वातावरण हुनुपर्छ ।

स्थानीय सरकार हो यसले चाहेमा धेरै गर्न सक्छ । त्यसो हुँदा मेरो कार्यकालमा नरहरिनाथ गाउँपालिकाको शैक्षिक सुधार गर्नुपर्छ भन्ने अठोट छ । म प्रवेश गर्दाको शिक्षाको स्थिती र जाने बेलाको स्थितीमा परिवर्तन भएको पाउनु हुनेछ । र अर्को कुरा, पूर्वाधारतर्फ विजुलीको राष्ट्रिय प्रशारण लाइन पालिकामा पुगेको छ । यसलाई मेरो कार्यकालमा प्रत्येक वडाका घरघरमा पुग्नेछ । यसैगरी प्रत्येक वडाका आ-आफ्नै वडा भवनहरु तयार हुन्छन् । स्वास्थ्य क्षेत्रमा पनि धेरै गर्नुछ । हामी भौगोलिक विकटाले छोपिएका छौं ।

हामी कहाँ धेरै राम्रा काम हुँदा पनि एक दुई जनाका कारण विवादित बन्नुपर्ने अवस्था छ । म एक जनताको प्रतिनिधि हुँ । मेरो कार्यशैलीप्रति चित्त नबुझे बसेर सल्लाह गरौं, समन्वय गरौं, मिलेर अगाडि बढौं र समृद्ध पालिका निर्माणमा बोलेर जवाफ दिनुभन्दा पनि काम गरेर देखाउने हो । मेरो कार्यकालमा जनताले प्रत्यक्ष अनुभुत गर्नेगरी काम हुनेछन् ।

पालिकावासीलाई यहाँको केही सन्देश 

यहाँसम्म आईपुग्दा पालिकावासीको तर्फबाट जे जति सहयोग भएको छ त्यसप्रति म अत्यन्तै आभारी छु । पालिकावासीले हामीसँग गरेका अपेक्षा पुरागर्न हामी दिनरात लागि पर्नेछौं । जनताले आलोचना गर्ने, गाली गर्ने अधिकार छ । हामीलाई रचनात्मक खबरदारीका साथ सहयोग गर्नुस् । हामी समृद्ध नरहरिनाथ निर्माणको यात्रामा सदा शिरोपण गरेर अगाडि बढ्ने छौं ।

तपाईको प्रतिक्रिया