कर्णालीमा उद्योग गतिविधि कस्तो ?

सुर्खेत । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा गरेको प्रादेशिक आर्थिक अध्ययन अनुसार कर्णालीमा उद्योगको क्षमता उपयोगको अवस्था ७६ दशमलव ६ प्रतिशत रहेको छ ।

कर्णालीमा प्रदेशको उद्योगहरुको क्षमतामा प्रशोधित दूधको उपयोग क्षमता सबैभन्दा बढि ९२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । त्यस्तै सबैभन्दा कम उपयोग क्षमता कागज उद्योगहरुको रहेको छ । कागज उद्योगको उपयोग क्षमता ५६ प्रतिशत रहेको उल्लेख छ । जिआइ तार, चामल, काठ र फलामको छड, गहुँको पिठो र चिरेको काठको उपयोग क्षमता क्रमश ९२ दशमलव ११, ७८ दशमलव १३, ७४ दशमलव ०७, ७२ दशमलव २२ र ७१ दशमलव ४३ प्रतिशत रहेको राष्ट्र बैकले तथ्यांक निकालेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा प्रेदशमा जम्मा तीन हजार पाँच सय २६ वटा कम्पनी दर्ता भएका छन् । जुन अन्य प्रदेशको तुलनामा न्यून अर्थात कुल दर्ताको एक दशमलव २४ प्रतिशत हो । प्रदेशभर सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९ हजार दुई सय ४८ रहेको छ । जसबाट एक लाख ३३ हजार नौं सय ६५ वटा रोजगारी सिर्जना भएको बताइएको छ । औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्च पदार्थको अभाव तथा विकट भौगोलिक बनावट जस्ता अवरोधले कर्णालीमा ठूला उद्योगहरु सञ्चालनमा आउन नसकेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा उद्योगहरुको उत्पादन क्षमता १६ दशमलवव ५६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यो संख्या २२ प्रतिशतले वृद्धि भएको थियो । यस आर्थिक वर्षमा सबैभन्दा बढि चिरेको काठ र फलामको छड लगायतका समाग्रीहरुको प्रयोगमा ३३ दशमलव ३३ प्रतिशतले बृद्धि भएको छ भने चामलको उत्पादनमा १० दशमलव ७१ प्रतिशतले घटेको छ । यस्तै कागज उत्पादन र जिआई तारको प्रयोग १६ दशमलव ६७ प्रतिशत बृद्धि भएको छ भने दुधको उत्पादन, गहुँको पिठो क्रमश १६ दशमलव ९२, १८ दशमलव १८ प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कर्णालीमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा घटाएका छन् । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा सात अर्ब ६९ करोड ८० लाख ७० हजार रहेको कुल औद्योगिक कर्जा आर्थिक २०७८/०७९ मा ५२ दशमलव २६ प्रतिशतले घटेर तीन अर्व ६७ करोड ४७ लाख ५० हजार पुगेको छ ।

गत वर्षको सोही वर्षमा यस्तो कर्जा २३ दशमलव १६ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३४ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ भने निर्माण सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ८० दशमलव ३५ प्रतिशतले घटेको छ ।

यस्तै विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा गत वर्षको तुलनामा २९ दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा पाँच दशमलव २१ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा २४ दशमलव ६७ प्रतिशत र धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।

कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढि निर्माण सम्बन्धी क्षेत्रमा २९ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम खानी सम्बन्धी क्षेत्रमा दुई दशमलव ८१ प्रतिशत रहेको छ । त्यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योग, गैर खाद्य वस्तु उत्पादन, विद्युत, ग्यास तथा पानी र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स सम्बन्धी उद्योगले कुल औद्योगिक कर्जाको क्रमश २५ दशमलव १७, २८ दशमलव शुन्य ६, तीन दशमलव ५२ र १० दशमलव ८१ प्रतिशत हिस्सा ओगटेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया