सुर्खेतमा नदीजन्य पदार्थमा मेसिन प्रयोग गरे कारबाही हुने

सुर्खेत । सुर्खेतमा कानुनविपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ संकलनका लागि मेसिनरी औजार प्रयोगका लागि अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ । सुर्खेतका स्थानीय तहहरूले कानुनबाहिर गएर नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीलाई ठुला मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएको पाएको हो ।


जिल्ला समन्वय समिति सुर्खेतले सुर्खेतका नौवटै स्थानीय तहलाई सात बुँदे निर्देशन जारी गरेको छ । ‘कानुनविपरीत नदीजन्य पदार्थको चलान पुर्जी पट्टा जारी नगर्न यसै पत्रमार्फत सचेत गराइन्छ,’ जिससले स्थानीय तहहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘कानुनविपरीत चलान पुर्जी जारी गर्ने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई नियमानुसार कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउँछौं ।

सात बुँदे निर्देशनमा जेसिबी, स्काभेटरलगायत ठुला मेसिनरी यन्त्र प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्नुपर्ने अवस्था आए त्यसको आधार र कारण खोलेर चुरे क्षेत्रको हकमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको अनुमति दिनुपर्ने उल्लेख छ । त्यसबाहेकको क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर मात्रै ठुला मेसिनरी प्रयोगको अनुमति दिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

स्थानीय तहहरूले आफूखुसी ठुला मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएको बताउँदै कानुनविपरीतका यस्ता कार्य नगर्न जिल्ला समन्वय समिति सुर्खेतले सचेत पनि गराएको छ । निर्देशनपत्रमा स्थानीय तहहरूले आफूखुसी ठुला मेसिन प्रयोग गर्न अनुमति दिएर नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गरी बिक्रीवितरण र ठेक्का बन्दोबस्त कानुनविपरीत हुने र सोको सम्पूर्ण जवाफदेही सम्बन्धित स्थानीय तह हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया