दुर्गा प्रसाईं र रास्वपाका सांसद ढाका श्रेष्ठबीचको अडियो संवादमा के छ ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय पाउने भएपछि सांसद ढाकाप्रसाद श्रेष्ठ र दुर्गाप्रसाद प्रसाईंबीच अडियो संवाद बाहिर आएको छ । अडियो बाहिरिएसँगै रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टी हितविपरीत काम गरेको निष्कर्ष निकाल्दै सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो । श्रेष्ठलाई कारबाही गरिएकाे पत्र पार्टीले संसद सचिवालयलाई पठाउने तयारी गरेकाे छ । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठकाे नाम चर्चामा थियाे ।

रास्वपाले स्वास्थ्य मन्त्रालयको जिम्मा पाउने भएपछि मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेर श्रेष्ठले २ करोड सहयोग मागेका छन् । अडियोमा सांसद श्रेष्ठ र व्यवसायी प्रसाईंबीच पैसा लेनदेनका लागि कुराकानी भएको छ । प्रसाईंसँगको फोन संवादमा सांसद श्रेष्ठले आफूसहित केही कोर टिमका मानिसलाई अढाइ करोड बुझाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन् । प्रसाईंले पनि आफूले २ करोड दिने बताएका छन् । प्रसाईंले आफू गोविन्द केसीभन्दा बढी स्वास्थ्य क्षेत्रमा भिडेको बताएका छन् । उनले श्रेष्ठलाई आइडिया पनि दिने बताएका छन् ।

२ करोडको ग्यारेन्टी गर्दै सांसद श्रेष्ठलाई प्रसाईंले भनेका छन्, ‘तपाईं अगाडि बढ्नुस् । तर, २ करोड दिएपछि तोसिमा कार्कीले लडाइँ त गर्दिनन् नि तपाईंसँग भनेर प्रश्न गरेका छन् प्रसाईंले । प्रसाईंले सांसद श्रेष्ठलाई भनेका छन्, ‘तोसिमाले पैसाका बारेमा कुरा पनि गर्न सक्दिनन् । उनले आफूलाई गोविन्द केसीको मानिस भनेकी छन् । उनले कहीँकतै कुरै गर्न मिल्दैन ।’ श्रेष्ठले पनि जवाफ दिएका छन्, ‘तिनी मन्त्री भए पनि काम छैन ।’

सांसद श्रेष्ठ र प्रसाईंबीचको अडियो संवाद

दुर्गा प्रसाईं : खासमा कुरा के हो डाक्टर सा’प, मलाई भन्नु त ?

ढाकाप्रसाद श्रेष्ठः स्वास्थ्य हामीले पाउने भयौँ । कोर टिम छ । पार्टीलाई अलिकति सहयोग गर भनेका छन् । मेरो पक्का भयो । मैले आज फिक्स पनि गर्नु छ । म आर्थिकमा साह्रै छैन । मन्त्री पनि बन्नुपर्‍यो । स्वास्थ्य क्षेत्र सुधार पनि गर्नुपर्‍यो । यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।

प्रसाईं : मैले तपाईंलाई एउटा कुरा बुझ्न खोजेको रास्वपामा डाक्टर भनेको तोसिमा कार्की मात्र हुन् भन्ने थियो । कति जना डाक्टर हुनुहुन्छ । तपाईंको घर कता हो ?

श्रेष्ठ : म भएँ, तोसिमा हुनुभयो र चन्दा कार्की ।

प्रसाईं ः ए ए साँच्चै, चन्दा म्याम पनि हुनुहुन्छ ।

श्रेष्ठ: चन्दा म्यामलाई तपाईंले पनि चिन्नुहुन्छ ।

प्रसाईं : डाक्टर सा’पको घर कता हो ?

श्रेष्ठ: पोखरा हो ।

प्रसाईं : ए ए, कता पढ्नुभएको हो ?

श्रेष्ठ: चाइना पढेको, दाआल युनिभर्सिटी

प्रसाईं : एमडी ?

श्रेष्ठ: एमडी गरेको छैन । एमएस मात्र हो । एमडी पढ्ने भन्दाभन्दै पोलिटिक्समा आएँ ।

प्रसाईं : अब हेर्नुहोस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा । नर्सिङ कलेज बन्द गरे । चेलिबेटी नर्स पढ्न पाउँदैनन् । मैले जहिले पनि भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलिबेटीहरूले डान्स गर्नुभन्दा नर्स पठाऊँ । डाक्टर उत्पादन गरौँ । सयवटा मेडिकल कलेज खोलौँ । कति राम्रो कुरा गरेको छु मैले । हस्पिटल खोलौँ । हस्पिटल फ्री गरौँ । कति राम्रो कुरा गरेको मैले । डाक्टर सा’पको नाम ढाकाबहादुर के हो ?

श्रेष्ठ: ढाकाकुमार श्रेष्ठ

प्रसाईं: अच्छा, मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अगाडि बढौँला । मैले एउटा कुरा भन्न खोजेको । ह्वाट्सएपमा छौँ, मतलब भएन । मुकुलहरूले त स्वास्थ्य र शिक्षा नलिने भन्थे त ?

श्रेष्ठ: स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यत्ति थाहा छैन । आन्तरिक कुरा हो । उहाँ कोर टिममा हुनुहुन्न । महामन्त्री नै हो । तपाईंलाई आन्तरिक कुरा गर्नुपर्दा हो । दुई-तीन जना छुट्टै हुनुहुन्छ । पार्टीलाई छुट्टै सहयोग गर्ने, रविजीलाई पहिलादेखि नै सहयोग गर्ने । त्यो टिमबाट मलाई पुर्‍याएको । आज मैले फिक्स गर्नुपर्छ । उधारो हुन्न भन्छन् फेरि ।

प्रसाईं: क्यास अढाइ करोडको कुरो आयो, दुई करोड ?

श्रेष्ठ: दुई साढे दुई भनेका छन् । आज एक दिएँ भने पनि मान्छन् होला ।

प्रसाईं : आज बन्द छ । सुन्नोस् है कुरा । बैंकबाट ९ लाख ९९ हजारभन्दा बढीको चेक साटिँदैन । सुन्नोस् कुरा । एक टाइम राखेमा म दिन्छु । तपाईंले भनिहाल्नुभयो, म सहयोग गर्छु । मलाई पनि सहयोग गर्नुपर्छ ।

श्रेष्ठ: म गर्छु । मलाई त दिक्क लाग्छ । यो गोविन्द केसी देखेर कहिले मर्छजस्तो लाग्छ । एमबीबीएस पढ्न नपाएको उसकै कारण हो ।

प्रसाईं: मेरो छोरीलाई जापान टोकियो युनिभर्सिटी पढाउनुपर्‍यो । ३ करोड तिरेर एमडी गर्नलाई । आफ्नोमा रेडियोलोजी पढाउन पाइनँ ।

श्रेष्ठ : त्यही त । सबै बेथिति छ ।

प्रसाईं: म त मरेको छु । मेरो मेडिकल कलेज हेर्नु त ? सबै भौतिक पूर्वाधार पुगेको काठमाडौंबाहिर मेचीमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नु त म त मर्न मात्र बाँकी छु ।

श्रेष्ठ: त्यही त यसलाई हटाउनुपर्छ । यो पनि समस्या समाधान गर्नुपर्छ ।

प्रसाईं : शिक्षा कसले लिन्छ भाइ ?

श्रेष्ठ : यहाँ फोन आएको रहेछ । हजुर सर ।

प्रसाईं: शिक्षा कसले लिने भयो डाक्टर सा’प ? शिक्षा हामीलाई परेनजस्तो छ सर । शिक्षा हजुरबुबाले राख्यो होला । योपालि मलाई पनि एफिलेसन दिनुपर्नेछ हजुरबुबाले । काठमाडौं युनिभर्सिटीले तपाईंका एफिलेसन दिएको छ । सिट मात्र दिएको छैन । त्यो गिरी नारायणकाजीको मान्छे हो । पैसा उठाएर नारायणकाजीलाई दिने मान्छे हो । ल यसो गर्नुहोस् न त ।

श्रेष्ठ: हजुर निश्चिन्त हुनुहोस् । मिलेर काम गर्नुपर्छ, तपाईं र म ।

प्रसाईं : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौं आउँछु । तपाईं र म भेटौँला । म गर्छु के । तपाईंले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक-भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।

श्रेष्ठ: त्यही त समस्या छ त ।

प्रसाईं ः हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।

श्रेष्ठ: तपाईंलाई पनि गाह्रो छ । विचरा ।

प्रसाईं ः गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।

श्रेष्ठ: बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।

प्रसाईं : बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले २ करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि-पर्सि रविलाई त दिने होला ?

श्रेष्ठ: अँ मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नुभएको छैन । बाहिरका दुई-तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।

प्रसाईं : यी सबै कमाउने त हुन् भाइ ।

श्रेष्ठ: पार्टीमा जान्छ कि जाँदैन, मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।

प्रसाईं: ल सर ठीकै छ । म एक-दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।

श्रेष्ठ: म त्यही कुरा गर्छु । हजुर भोलि आउनुहुन्छ ?

प्रसाईं: हजुरबुबा आउने भएर बसेको हुँ । भोलि आउँछु । है डाक्टर सा’प ।

श्रेष्ठ: हस् हस् ।

प्रसाईं: हस् । तपाईंलाई मैले २ करोड दिन्छु । तपाईंलाई सजिलो बाटो देखाइदिन्छु । (शिलापत्र)

तपाईको प्रतिक्रिया