वीरेन्द्रनगरमा अत्यावश्यक सेवा, सूर्यास्तपछि सेवाविहिन

पुनम वि.सी.
सुर्खेत । दैनिक सुर्यास्तको समय हाल साँझ ६ बजेर १८ मिनेटको हाराहारीमा छ । यो समय दिनानुदिन बढ्ने क्रममा समेत छ । तर यहाँ वीरेन्द्रनगर बजार भने सुर्यास्तको केहि घण्टामै सुनसान बन्न थाल्छ ।

प्रदेशको राजधानी रहेको शहरमा साँझ आठ बजेदेखि नागरिकहरुलाई अत्यावश्यक सेवा समेत पाउन कठिन हुन्छ । लामो यात्रा सवारीका यात्रुहरुले यहाँ वीरेन्द्रनगरमा उत्रिनुपुर्व यातायातका साधनको पहिले नै वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ । राजमार्गमा गुढ्ने सवारीलाई साँझ आठ बजेपछि इन्धन पाउन समेत सकस हुन्छ । २४ औं घण्टा वित्तिय सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा रहेका बैंकका एटिएम मेशिनका पहुँचमा सेवाग्राहीहरु अवेर रातिपछि सेवा लिन पाउँदैनन् ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्रमा प्रकाशित गरी १७ वटा अत्यावश्यक सेवाको व्यवस्था गरेको छ । तर वीरेन्द्रनगरमा भने ति १७ वटा सेवाहरु मध्य मुस्किलै केहि सेवा मात्र नागरिकले प्राप्त गरेका छन् । राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरु मध्य यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा, पर्यटन आवास, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा, पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा तथा बैंकिङ सेवा अत्यावश्यक मुख्य सेवा भित्र पर्छन् ।

यसैगरी डाँक, तार वा टेलिफोन सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवालगायतका सेवा उपलब्धताका लागि शहर विकासका क्रममा थप ध्यान दिइरहनु पनि पर्दैन ।

अत्यावश्यक सेवामा सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा, बिमा सेवा, विद्युत सेवा दैनिक उपभोग्य वस्तुहरूको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा समेत अत्यावश्यक सेवामा पर्छन् ।

अत्यावश्यक सेवा मध्यका नागरिकसामु प्रत्यक्ष/तत्काल प्रभाव राख्ने माथी उल्लेखित यातायात सेवा, पर्यटन सेवा, पेट्रोलियम पदार्थको सेवा र बैंकिङ सेवा हालको समयमामा वीरेन्द्रनगरमा साँझ आठ बजेदेखि सहजै उपलब्ध हुदैनन् ।

चासोविहिन निजिक्षेत्र

सेवा व्यवसाय सञ्चालन गरिरहेका निजि क्षेत्र समेत आफ्नो सेवा समय बढाउने विषयमा चासो नदिएको देखिन्छ । निजीक्षेत्रको समेत सक्रियता अभावले हालको समयमा वीरेन्द्रनगरमा सेवामुलक व्यवसायहरुले नागरिकलाई उपभोक्ता अधिकारबाट समेत वञ्चित गरिरहेका छन् । गत पुषमा गृहमन्त्रालयले नेपालभरका जिल्ला प्रशासन कार्यालयलाई पूणर् समयमा व्यवसाय सञ्चालन गर्न सम्बन्धि पत्राचार समेत गरेको थियो । गृह मन्त्रालयको गत पुष १४ गतेको पत्राचार अनुसार सुर्खेतको जिल्ला प्रशासन कार्यालयले माघ २४ गते निजिक्षेत्रका व्यवसायीका नाउँमा सूचना समेत जारी गरेको थियो ।

फागुन ११ गतेसम्मको समय दिएर जिल्ला प्रशासन कार्यालय सुर्खेतले, गृहमन्त्रालयको पूणर् व्यवसाय सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ को अधिनका रही रातिको ११ बजेसम्म सेवाजन्य व्यवसाय सञ्चालन गर्न इन्छुक व्यवसायीले सञ्चालन अनुमति लिन बताइएको थियो । यस कार्यविधि बमोजिम होटल, रेष्टुरेन्ट, कफीसप, पानपसललगायतका प्रकृतिका सेवाजन्य व्यवसायहरुले आफ्नो सेवा समय बढाएर व्यवसाय सञ्चालन गर्न समेत पाउँथे । तर जिल्ला प्रशासन कार्यालयमा सेवा समय बढाउने आशयले हालसम्म पनि निजिक्षेत्र सूचिकृतका लागि पुगेको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले भने, ‘सेवाजन्य व्यवसायको समय बढाउनका लागि उलेख्यमात्रामा व्यवसायीहरु सम्पर्कमा आउनुभएको छैन ।’

‘बजार चहलपहल नभएपछि वाध्य छौँ’

वीरेन्द्रनगरको बजार क्षेत्रमा सेवामुलक व्यवसायलाई रात्रिकालिन समयमा विस्तार नहुनुको कारण आर्थिक मन्दी रहेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल बताउछन् । उनले भने, ‘बजारमा पनि चहलपहल नै छैन । दिनको समयमा व्यापार त हुदैन, सेवा समय विस्तार गरेर थप बोझ लिन व्यवसायीहरु अग्रसर छैनन् ।’

वीरेन्द्रनगरमा सेवाजन्य व्यवसायको समय विस्तारका लागि संघले भने रातिको ११ बजेसम्म भएपनि अत्यावश्यक सेवा दिन व्यवसायीलाई अनुरोध गरिरहेको उनले बताए । सुर्खेतमा सार्वजनिक यातायातका साधन उपलब्ध छैनन्, निजी क्षेत्रले यहाँ अटो जिपलगायतका छोटो दुरीका यातायात सेवा प्रदान गरिरहेको छ । यस अवस्थामा काठमाडौंलगायतका स्थानमा उपलब्ध ‘पठाओ’ जस्ता वैकल्पिक यातायात सेवा वीरेन्द्रनगरमा सञ्चालन गरिनुपर्ने अध्यक्ष कँडेलको भनाई छ ।

उनले भने, ‘केहि समय पहिले केहि संस्थाहरुमा वीरेन्द्रनगरमा पठाओ झै यातायातको सेवा प्रदान गर्न अग्रसर हुनुभएको थियो । तर उहाँहरु अहिले थप सक्रिय हुनुभएको छैन ।’ यसैगरी प्रहरीले बजार क्षेत्रमा थप सक्रियताा बढाएमा बजारमा सेवाजन्य व्यवसायहरु सञ्चालनको सम्भावना समेत रहेको अध्यक्ष कँडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया