उद्यमी

‘रारा मसला उद्योग’ स्वाद बोकेर ब्राण्डिङ

पुनम वि.सी.
सुर्खेत । ‘रारा बेसार पाउडर’ हालको समयमा कर्णालीका ग्रामिणस्तरमै पुगेको छ । उपभोक्ताले २५ रुपैयाँमा ५० ग्राम तौलको यो बेसार पाउडर नजिकको फुटकर बिक्रेताबाट खरिद गर्न सक्छन् ।

बेसार पाउडरको यो उत्पादनमा उपभोक्तामाझ रारा मसला उद्योगसँग दुईथरि दाबी छ । पहिलो, यसको स्वाद, जुन स्वाद अन्य उद्योगका बजारमा पाइने उत्पादनमा पाइँदैन । दोस्रो, २५ रुपैयाँमा ५० ग्राम बेसारभन्दा अन्य उद्योगले बजारमा आफ्ना उत्पादन महंगोमा बिक्रि गरिरहेका छन् ।

दुई वर्ष पहिले, वि.सं. २०७७ सालमा वीरेन्द्रनगर-१ निवासी भरत वलीले रारा मसला उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योग सञ्चालनताका वलीले पहिले वीरगञ्जलगायतका क्षेत्रबाट केहि क्विण्टल बेसार आयात गरेर उद्योग शुरु गरेका थिए । तर अन्यन्त्र प्रदेशबाट झिकाइएका कच्चापदार्थले उत्पादनको स्वादमा चित्त नबुझाएपछि उनले कर्णालीमा उत्पादित बेसार प्रयोग गर्न थाले । यसैकारण पनि हाल उद्योगले बेसार पाउडरमा दाबी गर्छ ।

सञ्चालक वलीले भने, ‘पहिला सुरुमा नौं महिना त परीक्षणमै लाग्यो । गाउँ-गाउँमा पुगेर मैले बेसार खरिद गरेर ल्याएँ । अहिले बजारमा पाइने अन्य बेसारको धुलोभन्दा हाम्रो उद्योगको बेसारको धुलो स्वादिलो छ । ग्राहकले फेरि-फेरि हाम्रै उत्पादन खरिद गरेका छन् ।’ हालको समयमा मासिक रुपमा करिव तीनदेखि पाँच क्विण्टल बेसारलाई उद्योगले बजारमा प्याकेजिङ गरी निर्यात गरिरहेको वलीले जानकारी दिए ।

बेसार पाउडर उत्पादन गरिरहेको रारा मसला उद्योगसँग यो उत्पादन मात्र छैन, करिव १२ थरिका मसला ‘प्याकेजिङ’ गरी उद्योगले कर्णालीका स्थानीयस्तरमा निर्यात गरिरहेको छ ।
उद्योगले आफै लगानीको गाडीमा सुर्खेत जिल्लासहित कर्णालीका दैलेख, कालिकोट, जुम्ला र मुगुमा मसला पुर्‍याउँछ । हाल उद्योगले जिरा, बेसार, मेथी, ज्वानो, तिल, अजिना, धनिया, वीरेनुन, खडामसला, ल्वाङको धुलो, सुक्मेल धुलो, दालचिनीको धुलो र अदुवाको धुलोलगायतका मसलाहरु प्याकेजिङ गरी बिक्रि गर्दै आएको छ ।

कृषकसँगको सहकार्य
बेसारको धुलोबाट उद्योगलाई कर्णालीको उत्पादन नै कच्चापदार्थका रुपमा प्रयोग गर्ने सिकाई भएको छ । ‘कर्णालीको उत्पादन भन्दा अन्यन्त्रको कच्चापदार्थमा खास्सै स्वाद हुँदैन । हेर्दा राम्रो देखिएर पनि भएन, मसला जहिलेपनि स्वादिलो हुनुपर्छ’, उद्योगका सञ्चालक वलीले भने ।

बेसारको धुलो मात्र होइल अदुवा, धनियाँ, तिललगायतका मसलाजन्य कच्चापदार्थहरु कर्णालीका किसानबाट खरिद हुन्छन् । यहाँ उपलब्ध हुन नसकेका कच्चापदार्थ मात्र वाह्य जिल्लाबाट आयात गरिने उनले बताए । सुर्खेत, सल्यान र जाजरकोट जिल्लामा उत्पादित मसलाजन्य कच्चापदार्थहरु उद्योगका मुख्य स्रोत भएका क्षेत्र हुन् । उद्योगले कृषकसंग सोझै कच्चापदार्थ खरिद गर्छ ।

‘हामी सिधै कृषकसँग जोडिएका छौँ । उहाँहरुले अदुवा, बेसारजस्ता बाली लगाउनेबेला नै हामीलाई खबरगरीसक्नु भएको हुन्छ’, वलीले भने, ‘सोझै कृषकमार्फतबाट कच्चा पदार्थ खरिद गरिने भएकाले पनि हामीले बजारमा उत्पादनको मुल्यमा समेत प्रतिष्पर्धा गर्न सहज भएको छ ।’
स्थानीय स्तरमा रहेको घरेलु उद्योगका सामु बजारमा ठूला उद्योगका उत्पादनहरु प्रशस्त छन् । उद्योग सञ्चालन भएको केहि वर्ष मात्र भएपनि

उद्योगले बजारमा आफ्ना उत्पादन माथि उपभोक्ताको विश्वास बढाईरहेको उनको दाबी छ । ‘बजारमा हामीलाई समस्या भनेकै पहिलो चरणमा उत्पादन पुर्‍याउनु हो । हाम्रो उत्पादन किनेको मान्छले फेरि फेरि माग बढाएका छन्’, उनले भने, ‘यहाँ वीरेन्द्रनगरमा सञ्चालित ठूलाखाले होटलहरुमा हाम्रो मसला उपभोग भईरहेको छ । अन्य स्थानमा भने हामी आफैले फुटकर बिक्रेतासँग पुर्‍याईरहेका छौँ । उपभोक्ताले उनै फुटकर बिक्रेताबाट रारा मसलाहरु खरिद गर्न सक्नुहुन्छ ।’

बजारमा ‘मजबुत प्रोडक्ट’ योजना
रारा मसलाका उत्पादनहरुलाई डिब्बा, प्याकेटहरुमा प्याकेजिङ गरिदै आएको छ । मसलाको स्वादमा आपूmलाई अब्बल ठानेको उद्योगले अहिले आफ्नो प्याकेजिङ तरिकालाई थप वृद्वि गर्ने योजनामा छ ।

बजार प्रतिष्पर्धालाई कायमै राख्दै उपस्थिति जमाउने योजना सुनाउँदै सञ्चालक वललीले भने, ‘बजार विस्तार सम्भावना पनि छ । अब हामीले अझै राम्रो प्याकेजिङ गरेर उत्पादन बजारमा निर्यात गर्ने योजनामा छौँ ।’

उत्पादनको ब्राण्डिङमा उपभोक्ताको पहिलो नजर उत्पादनमा सकारात्मक पर्नुले बजार विस्तार थप हुने भएकाले उद्योगले प्याकेजिङतर्फ थप गतिविधि बढाउने योजना गरेको उनले सुनाए ।

हाल उद्योगको कुन पूँजी ६० लाख रुपैयाँ पुगेको सञ्चालक वली बताउँछन् । उद्योगले हाल मासिक रुपमा करिव ३५ क्विण्टल बढी मसलाका प्याकेटहरु बजारमा निर्यात गरिरहेको छ । यसका साथै दैनिक आठ क्विण्टल मसला उत्पादन गर्न सक्ने उद्योगको क्षमता छ ।

तपाईको प्रतिक्रिया