स्थानीय सरकारका निरासाजनक वित्तिय प्रगती

वीरेन्द्रनगरका वडामा बजेट गतिविधि, ६ महिनामा १० प्रतिशत बजेट खर्च

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाले चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको अवधिमा १० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेका छन् । चालु आर्थिक वर्षमा वीरेन्द्रनगरका वडाहरुका लागि नगरपालिकाले २३ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


नगरपालिकाका १ देखि १२ नम्वर वडाहरुलाई चालु आर्थिक वर्षमा प्रति वडा एक करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । १३ देखि १६ नं. वडालाई भने प्रति वडा एक करोड सात लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा वीरेन्द्रनगरका वडाहरुले कुल दुई करोड ४९ लाख ६० हजार चार सय ५३ रुपैयाँ बजेट खर्च गरेका छन् । यो रकम कुल बजेटको १० दशमलव ६१ प्रतिशत हो । कुल बजेट खर्चमध्य एक करोड दुई लाख १३ हजार चार सय ९४ रुपैयाँ पुँजीगत तर्फको खर्च हो भने चालु खर्चतर्फ वडाहरुले कुल एक करोड ४७ लाख ४६ हजार नौं सय ५९ रुपैयाँ बजेट खर्च गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार वीरेन्द्रनगरको १ नं. वडाले कुल बजेटको तीन दशमलव ६४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । २ नं. वडाले आठ दशमलव ३६ प्रतिशत, ३ नं. वडाले १८ दशमलव ५४ प्रतिशत, ४ नं. वडाले ११ दशमलव ३१ प्रतिशत, ५ नं. वडाले १६ दशमलव ७१ प्रतिशत, ६ नं. वडाले १० दशमलव १८ प्रतिशतर ७ नं. वडाले पाँच दशमलव शून्य तीन प्रतिशत बजेट खर्च गरेका छन् ।

यसैगरी नगरको ८ नं. वडाले १४ दशमलव शून्य आठ प्रतिशत, ९ नं. वडाले पाँच दशमलव १५ प्रतिशत, १० नं. वडाले चार दशमलव २० प्रतिशत, ११ नं. वडाले १० दशमलव ८३, १२ नं. वडाले २० दशमलव १० प्रतिशत, १३ नं. वडाले नौं दशमलव २२ प्रतिशत, १४ नं. वडाले सात दशमलव ६६ प्रतिशत, १५ नं. वडाले १० दशमलव ९३ प्रतिशत र १६ नं. वडाले १३ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको वीरेन्द्रनगर नगरपालिकाको तथ्यांक छ ।

पूँजीगत खर्चमा सानो आकार
एक करोड दुई लाख बढी पूँजीगत खर्च गरेका वडा कार्यालयहरुमा यसतर्फ धेरै बजेट खर्च हुन नसकेको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा वीरेन्द्रनगरको १, ९ र १० नं. वडाले पूँजीगततर्फ बजेट खर्च गर्न सकेनन् । चालु खर्चतर्फ पनि यी वडाहरुमा बजेट खर्च अन्यको तुलनामा ज्यादै न्यून देखिन्छ ।

२ नं. वडाले पूँजीगततर्फ कुल दुई लाख १२ हजार एक सय ८४ रुपैयाँ बजेट खर्च गरेको छ । ३ नं. वडाले १८ लाख ५५ हजार पाँच सय ३२, ४ नं. वडाले ५६ हजार, ५ नं. वडाले १७ लाख ४२ हजार, ६ नं. वडाले चार लाख ५९ हजार, ७ नं. वडाले दुई लाख ८३ हजार दुई सय ७६, ८ नं. वडाले ६ लाख ३८ हजार तीन सय ५४ रुपैयाँ पूँजीगत बजेट खर्च गरेका छन् ।

यसैगरी ११ नं वडाले ६ लाख ३८ हजार तीन सय ५४, १२ नं. वडाले २० लाख ९२ हजार तीन सय ४०, १३ नं. वडाले तीन लाख ८३ हजार चार सय ५२, १४ र १५ नं. वडाले समान पाँच लाख ३३ हजार पाँच सय एक रुपैयाँ पूँजीगत बजेट खर्च गरेका छन् । यसैगरी १६ नं. वडाले भने पूँजीगत बजेटतर्फ सात लाख ८६ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।

‘प्रक्रियामा भएकाले खर्च नदेखिएको हो’
वीरेन्द्रनगर-१० मा वडा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनासम्ममा पूँजीगततर्फ कुनै बजेट खर्च गर्न सकेन । यसैगरी चालु तर्फको बजेट खर्चमा समेत वडामा चार दशमलव २० प्रतिशत मात्र बजेट खर्च भएको छ । यस वडाका लागि चालु तर्फ ५१ लाख रुपैयाँ र पूँजीगत तर्फ एक करोड नौं लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । वडाले चालु आर्थिक वर्षको ६ महिनामा चालु खर्च तर्फ मात्रै ६ लाख ७१ हजार तीन सय ७६ रुपैयाँ बजेट खर्च गरेको छ ।

समयमा नै बजेट खर्च नभएको भन्ने प्रश्नमा वीरेन्द्रनगर-१० का वडा अध्यक्ष डिलबहादुर रखालले भने, ‘सडक स्तरोन्नतीलगायतका कामहरु भईरहेका छन् । केहि स्थानमा भर्खरै निर्माण उपभोक्ता समिति गठन पनि भएको छ । त्यसैले अर्धवार्षिक समिक्षामा बजेट खर्च नदेखिएको हो ।’ अर्धवार्षिक समीक्षामा नदेखिएपनि हालै केहि सडक स्तरोन्नती कामको भुक्तानी भने भएको छ ।

तपाईको प्रतिक्रिया