जीवनज्योतीको सहकारी शिक्षा तथा वित्तिय साक्षरता शिविर

सुर्खेत। जीवनज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–१० ले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा वित्तिय साक्षरता शिविर वीरेन्द्रनगर–११ को चारकुनेमा शनिबार सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष श्याम बहादुर ओलीको अध्यक्षता एवं वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा सहकारी शिक्षा तथा वित्तिय शिविर सम्पन्न भएको छ ।

सहकारी शिक्षा शिविरमा सहकारीका गतिविधि तथा आगामी योजनाका बारेमा सहकारीका सचिव दीपक कुमार बुढाक्षेत्रीले जानकारी गराएका थिए । सहकारीको आफ्नै २ कठ्ठा क्षेत्रफलको जग्गालाई घेरबार गरी कृषिजन्य बहुउद्देश्यीय कार्यमा प्रयोग गरिने, सेयर सदस्य बृद्धि, सेयर सदस्यहरुलाई तरकारीका बेर्नाहरु सहुलियतामा वितरण गर्ने योजना रहेको जानकारी दिए ।

एयरपोर्ट चोकमा रहेको आइएमइ सेवा केन्द्रलाई थप व्यवस्थित र विस्तार गरी सहकारीका गतिविधि समेत सञ्चालन गरिने, पूर्ण रुपमा अनलाइनबाट सहकारीका कारोबारहरु सञ्चालन गरिने जानकारी दिए । ६१६ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी १ करोड ५४ लाख १७ हजार रहनुका साथै गत आर्थिक बर्षमा करिव १० करोड कारोबार गर्न सफल भएको सहकारीका कोषाध्यक्ष दिल बहादुर विसीले जानकारी दिए ।

जगेडा कोष ३१ लाख ५१ हजार ३८ रुपैयाँ, निक्षेप बचत संकलन २ करोड ६६ लाख ४६ हजार ४ सय २१ रुपैयाँ, लगानी रहेको ऋण ६ करोड ३१ लाख १८ हजार २ सय ४६ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष दिल बहादुर विसीले जानकारी दिए । सेयर सदस्यहरुलाई धितोको आधारमा १५ लाखसम्म ऋण लगानी गर्दै आइरहेको छ ।

सहकारी शिविरमा बोल्दै वडा अध्यक्ष खिमलाल देवकोटाले घुस्रामा स्थापना भएको सहकारीले आफ्ना सेयर सदस्यहरुलाई बार्षिक मुनाफापनी राम्रै वितरण गरेको उत्कृष्ट सहकारी संस्था रहेको बताउँदै जेष्ठ नागरिक सम्मान, स्वास्थ्य उपचारमा छुट सुविधा लगायतका जनपक्षिय कार्य गरेकोप्रति प्रशंसा व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा सहकारीका प्रवन्धक विष्णु प्रसाद बाँस्कोटाले सहकारीबाट उत्कृष्ट बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट संघर्षशिल महिला सेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट पूर्व सञ्चालक तथा लेखा समितिलाई सम्मान तथा पुरस्कृत गरिँदै आएको जानकारी दिए । सहकारीबाट सुत्केरी पोषण राहत, शैक्षिक छात्रवृद्धि कार्यक्रम, मृत्यु राहत, दुर्घटना राहत, देवी प्रकोप तथा प्राकृतिक प्रकोप राहत वितरण गरिँदै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया