युग सम्वादः विकास भनेको बाटो खन्नु मात्रै होइन

वीरेन्द्रनगरको विकास र समृद्धि भन्नेबित्तिकै अग्रपंक्तिमा आउने नाम हो, माधवभक्त माथेमा ।जसले वीरेन्द्रनगरलाई कस्तो बनाउने भन्ने योजनसहितको खाका कोरे । वि.सं. २०२९ सालमा पहिलोपटक वीरेन्द्रनगर आएका उनले तत्कालिन राजा वीरेन्द्रसामू नगर विकासको योजना ब्रिफिङ गरे । २८ वर्षको उमेरमा पहिलो पटक सुर्खेत आएका माथेमा अहिले ७९ वर्षको उमेरमा तेस्रो आफ्नो स्वप्न शहर वीरेन्द्रनगर टेकेका छन् । यहि मौकामा माथेमासँग हाम्री सहकर्मी सिर्जना बुढाथोकीले उनीसंग गरेको कुराकानीको सम्पादित अंश ।

सिर्जना बुढाथोकी

सुर्खेत,८ फागुन ।

प्रश्नः वीरेन्द्रनगर भन्नेबित्तिकै झट्ट के सम्झिनुहुन्छ ?

उत्तरः वीरेन्द्रनगरसँग म कामले मात्र होईन, भावनात्मक हिसाबले पनि जोडिएको छु । म सुरुमा वीरेन्द्रनगरको योजना बनाएर २०४५ सालतिर काठमाण्डौं फर्किएपछि रामबहादुर थापा ‘बादल’ (पूर्र्व माओवादी एवं हाल एमालेका नेता) ले मलाई फोन गरेर वीरेन्द्रनगर कस्तो राम्रो भन्नुभएको थियो ।

मैले के राम्रो मान्नुभयो ? भनेर सोध्दा उहाँले यहाँको बाटा–घाटा खुलाचौर अनी वस्तीहरु कति राम्रा भन्नुभएको थियो । मलाईपनि यहि नै हो, वीरेन्द्रनगर भन्नेबित्तिकै म यहाँको मिलेको भूगोल सम्झिन्छु । हाम्रो समूहले रोपेका गुलमोहर सम्झिन्छु । यहाँका नगरवासीसँगै वीरेन्द्रनगरको हरियाली सम्झिन्छु ।

२) तपाईँ वीरेन्द्रनगरसँग कसरी जोडिनुभयो ? इतिहासको त्यो पृष्ठभूमि बताइदिनुस् न ।

उत्तरः बडो रमणीय र प्रेमपूर्वक सम्झना छ मलाई । हामी काठमाण्डौंमा बस्नेहरुका लागि वीरेन्द्रनगर भनेको एकदमै रिमोट (दुर्गम) क्षेत्र लाग्थ्यो । कस्तो भने काठमाण्डौंबाट वीरेन्द्रनगर आउनै गाह्रो, फेरि वीरेन्द्रनगर आएपछि काठमाण्डौं फर्किनैपनि गाह्रो ।

हामीले जोक गरेर वीरेन्द्रनगरलाई ‘सुटकेश’ पनि भन्थ्यौँ किनकी भित्र आएपछि बाहिर जान नपाईने बाहिर आएपछि भित्र जानन पाईने हाहाहा….(लामो हाँसो) ।

यहाँ आएसकेपछि बडो रमणीय, शान्त वातावरण अनि मान्छेहरु पनि बडो सहनशील, विचराहरुलाई विकास भन्ने कुरा के हो भन्ने चासो थिएन कि खै के थियो ?विकासको त गुञ्जायस पनिभएन । धेरै उर्वर भूमि भएकाले यहाँ सबैलाई मोटामोटी खानै पुग्ने, सबैले उहि लगाउने, पैसा पाएर पनिखास हुने केही थिएन भनेर सबै आनन्दले बसेका थिए ।

३) गुरुयोजना बनाउनुअघि तपाईँ, राजा वीरेन्द्र र वीरेन्द्रनगरबीचको कनेक्सन कसरी बन्यो ?

उत्तरः २०३० साल अगाडि त नेपालको विकास भनेकै काठमाण्डौंको विकास हुन्थ्यो । राम्रो नराम्रो जे भएपनि काठमाण्डौंमा नै हुन्थ्यो । मलाई वीरेन्द्रनगर भन्ने ठाउँ पत्ता लगाउन नै दुई महिना लागेको थियो । तत्कालिन श्री ५ सरकारले चौथो राष्ट्रिय योजनामा क्षेत्रीय विकासको अवधारणा ल्याएको थियो ।

चार विकास क्षेत्रका हरेक विकास केन्द्रमा क्षेत्रीय प्रशासन केन्द्र खडा गरेर, सानातिना विकास केन्द्र खडा गरी तराई, पहाड र हिमाल र भित्री मधेशलाई एक अर्कामा आवद्ध गराउने गरी वीरेन्द्रनगरको पनि परिकल्पना गरिएको थियो । मुख्य वुद्धिजीवी स्वः डा. हर्क गुरुङ्ग हुनुहुन्थ्यो । उहाँलाई पोलिटिकल्ली सपोर्ट गर्ने राजा वीरेन्द्र हुनुहुन्थ्यो । उहाँलाई पनि यो ठाउँप्रति धेरै चासो थियो ।

यसरी हाम्रो कनेक्सन भयो । त्यतिबेला त म २८ वर्षको मात्रै थिएँ । म सानो मान्छेलाई राजाले त के भन्नुहुन्थ्यो र त्यतिबेलाको सरकारको क्याबिनेटले यस नगरको नगर नियोजकको रुपमा राखियो । म त्यतिबेला निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको भवन विभागमा थिएँ ।

भर्खरै अमेरिकाबाट पढाई पनि सकेर आएको थिएँ । वीरेन्द्रनगर आउँदा र योजना बनाउँदा म मात्र नभई मेरा सहकर्मीहरु प्रद्युम्न भट्टराई, लिलाभारती र केशव शर्मापनि मसंगै हुनुहुन्थ्यो ।

) हामीले सुन्दै आएको प्रसंग के हो भने वीरेन्द्रनगरको योजना बनाउनका लागि माधवभक्त माथेमा आउनुभयो अनि राजा वीरेन्द्रको अगाडि १५ मिनेट व्रिफिङ गर्नुभयो भनेर । त्यतिबेला साँच्चिकै १५ मिनेट मात्रै व्रिफिङ गर्नुभएको थियो त ?

उत्तरः त्यतिबेलाको चलन हुन्थ्यो राजाको सवारी हुँदा उहाँको अगाडि व्रिफिङ गर्ने चान्स पाइन्थ्यो । मलाई पनि वार्निङ्ग दिईएको थियो ‘ल ! तिमीलाई पनि बोलाईन्छ है ! तयार भएर बस्नू’ भनेर । माघको महिना थियो पानी परिरहेको थियो । मलाई क्याम्पबाट फोन आयो ।

त्यतिबेला टेम्पोरेरी फोन हुन्थ्यो, ‘ल आउनुप¥यो, नगर योजना प्रस्तुत गर्नुप¥यो’ भन्नुभयो । त्यहाँ पुगेपछि राजाका सचिवहरुले ‘ल माथेमाजी ! तपाईँलाई २० मिनेट मात्रै समय छ, राम्रो गरे तपाईँको जय भयो, नराम्रो गर्नुभो तपाईँलाई खत्तम भो ! ’ भनेर । मलाई त डर लाग्यो राजाको अगाडि कसरी बोल्ने भन्ने पनि थाहा थिएन ।

तरपछि २० मिनेटका लागि भनेर सुरु गरेको व्रिफिङ झण्डै ६ घण्टा चल्यो । रातीको साढे २ बजे सकियो । त्यतिबेला वीरेन्द्रनगरलाई ईत्राम र खोर्के खोलाको बीचमा बनाउने भनेर मैले योजना सुनाएँ । योजनाअनुसार तीन वटा कुराहरु मुख्य थिए ।

एउटा पूर्वको इत्रामखोलादेखि पश्चिमखोर्के खोलाबीचको भागलाई सरकारी लगानीमा सहरी विकास गर्ने अनि अर्को भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्गभन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रुपमा विकास गर्ने योजना थियो ।

५) तपाईँले बनाएको योजनाअनुसार वीरेन्द्रनगरको विकास साँच्चिकै त्यहि गतिमा र खाका अनुसार भएको छ त ?
उत्तरः केही नभएको भन्ने त छैन तर योजनाअनुसार भन्दा बढी घरहरु निर्माण भए । पूर्वाधारलाई मात्रै जोड दिइएको छ । जनसहभागिता भन्ने कि के भन्ने त्यसलाई ? योजना भनेको कस्तो हुन्छ भने टेक्निकल एस्पेक्ट (प्राविधिक पक्ष) त छँदैछ तर त्यसलाई ट्रान्सलेट गर्नका लागि जनताको मर्म चाहिन्छ किनकी हामीले जनताकै जग्गामा बनाउने हो ।

त्यो किसिमको लिंक बनाउने खालको योजना चाहिन्छ । नक्सा पास भनेको प्लानिङको ठूलो हतियार हो । नक्सापास गरेर कर उठाउने मात्र होइन । हाम्रो जमानामा मैले हरेक दिनको नक्सा पासमा हस्ताक्षर मैले गर्थे । कहाँ के निर्माण भइरहेको छ भनेर हेथ्र्यौँ ।

अनि एकातर्फ निर्माण हुनुपर्नेमा अर्कोतर्फ भएछ भने त्यसमा छलफल गरेर समाधान गथ्र्यौँ । तर अहिले धमाधम निर्माणका कामहरु भइरहेका छन् । त्यसकारण यस्ता खालका प्रवृत्ति बढ्न नदिन प्लानिङ प्रशासन बलियो हुन आवश्यक छ । यसरी विकास भयो भने वीरेन्द्रनगर पनि काठमाण्डौंजस्तै नबन्ला भन्न सकिँदैन ।

६) तपाईँको योजनाअनुसार वीरेन्द्रनगर बनाउन यहाँका सम्बन्धित निकायले के गर्नुपर्ला ?

उत्तरः नगर विकास भनेको बाटो खनेर मात्रै हुँदैन । भविष्यलाई पनिख्याल गरेर वर्तमानमा विकासका कामहरु गर्न आवश्यक छ । वीरेन्द्रनगर उर्वर भूमि हो यसलाई मासिन दिनु हुँदैन । हामीले २५ वर्षलाई हेरेर गुरुयोजना बनायौँ । यो योजना बनेको ५० वर्ष पुगेको छ ।

अब नगरपालिका आफै र नगरवासीको स्वामित्वमा गुरुयोजनाको रिभ्यू (पुनरावलोकन) गर्न चाहिँ आवश्यक छ । यसलाई धेरैले रिभिजन (संशोधन)का हिसाबले बुझेका छन् तर त्यसो होईन । हामीले सोचेको वीरेन्द्रनगरलाई पूर्वाधारका हिसाबले मात्र नभई वातावरणीय हिसाबले पनि सुन्दर बनाउन आवश्यक देखिन्छ ।

जुन जनसंख्याको वृद्धिसँगै हराउँदै गएको देखिन्छ । बजार चाहिन्छ नचाहिने होईन । योजनावद्ध भन्नेबित्तिकै मान्छेले ठूलो शहर मात्रै चाहन्छन् । योजनावद्ध विकास भनेको तत्कालको आवश्यकता र भविष्यको आवश्यकताबीच सन्तुलन कायम गर्नु हो ।

तपाईको प्रतिक्रिया