महिलाको दैनिकी पिठ्युँमा दाउराको भारी

हुम्ला,८ पाैष ।

हिमाली जिल्ला हुम्लामा खाना पकाउनका लागि मुख्य रूपमा परम्परागत ऊर्जाकै भर पर्नुपरेको छ। यसको मुख्य बोझ महिलामाथि नै पर्दै आएको छ।

दक्षिणी हुम्लाबाट खच्चडमा ढुवानी भएर आएको एलपी ग्यास प्रयोगमा सबैको सहज पहुँच नहुँदा ग्रामीण महिलालाई दाउराको व्यवस्था गर्नुपर्ने बाध्यता बन्दै आएको छ।

सिमकोट गाउँपालिका–५ की बाँचकली रावतले ऊर्जाको व्यवस्था गर्न हुम्ली महिलालाई दाउरामै भर पर्नुपर्ने बाध्यता रहेको बताइन । उनले विद्युत् नियमित नहुने, ग्यास महँगो पर्ने भएकाले खाना पाकाउनका लागि ऊर्जाका रूपमा दाउरा टिप्नुको अन्य विकल्प नभएको बताइन ।

एलपी ग्यास प्रयोग गर्नेको सङ्ख्या दैनिक रूपमा वृद्धि भइरहेको पाइन्छ। यद्यपि गाउँमा मात्र नभई सदरमुकाम आपसासका मध्यम र न्यून आयस्रोत भएका उपभोक्ताले समेत ग्यासको सट्टा खाना पकाउन दाउरा नै प्रयोग गर्ने गरेको पाइन्छ।

स्थानीय जानकारी रोकायाले अधिकांश हुम्ली महिलाको काम दाउरा टिपेर ल्याउने भएको बताइन। उनले भनिन  “हिउँ परेपछि दाउरा टिप्न नपाइने भएका कारण महिलाको अहिलेको दैनिकी नै दाउरा टिप्ने भएको छ।”

बिहान सबेरै खाना खाएर वनमा जाने र बेलुका एक भारी दाउरा बनाएर आउनु हुम्ली महिलाको दैनिकीजस्तै भएको छ। घरघरबाट महिला दाउरा टिप्न जाने गर्छन्। बेलुका दाउराको भारी बोकेर घर फर्किंदा महिलाको लस्करै देखिनु हुम्लामा सामान्यजस्तै हुन्छ।

उहाँले आफ्नो जीवनमा ग्यास बालेर दाउरा बोक्नबाट मुक्ति मिल्ने सम्भावना नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “दाउरा नै हिमाली जिल्लाका लागि ऊर्जाको मुख्य स्रोत भएको छ।”

यतिबेला हिउँ पर्ने भएकाले तीन महिनाका लागि पुग्नेगरी महिलाले दाउरा टिपेर जम्मा गर्ने गर्दछन्। उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले मुख्यगरी दैनिक रूपमा लामो समय हिल्दुम लघु जलविद्युत् आयोजनाले लोडसेडिङ गरिरहने, सिलिन्डरसहित ग्यासको मूल्य महँगो पर्ने भएकाले सडक सञ्जाल नजोडिएका दुर्गम क्षेत्रमा ऊर्जाको मुख्य स्रोत नै दाउरा भएको बताए ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया