यात्रा २८ किलोमिटर भाडा पच्चीस सय

जाजरकोट,८ पाैष  ।

सडक यातायातको भाडादर कसरी तोकिन्छ? त्यो थाहा नपाएका जाजरकोटका यात्रुले २८ किलोमिटरको भाडा दुई हजार पाँच सय रुपियाँ तिर्दै आएका छन्।

कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मादेखि सदरमुकामसम्म २८ किलोमिटर भए पनि यात्रुले दुई हजार पाँच सय रुपियाँ तिर्दै आएका छन्। कुशे गाउँपालिका–५ का कमान थापाले खलङ्गादेखि पाँचकाटियासम्म यातायातका साधन सञ्चालनमा आएको १६ वर्ष बित्यो तर सडक स्तरोन्नति नहुँदा चर्को भाडा तिर्नुपरेको बताए ।

उनले भने, “सवारीसाधन पुगे पनि चर्को भाडाले सर्वसाधारण समस्यामा छन्।” ग्रामीण सडकमा यातायात व्यवसायीले मनपरी असुल्दै आएको तर सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको गुनासो उनको छ।

चर्को भाडाका कारण सर्वसाधारण सेवा लिन सदरमुकाम पुग्न नसकेको थापाले बताए । किन हप्तैपिच्छे भाडा वृद्धि हुन्छ भन्ने प्रश्न गर्दा तेलको मूल्य वृद्धिले भाडा बढेको यातायात व्यवसायी बताउँछन्।

नेपालगञ्ज, सुर्खेत बाहिरिने सवारी साधनले मटेला, कुदु, फेराबजार, भुरचौर छेडाचौर जाने स्थानीय यात्रुलाई गाडीले लैजाने गरेको छैन जसका कारण स्थानीयले थप समस्या बेहोर्दै आएको थापाले बताए । यस विषयमा स्थानीय प्रशासनले समेत चासो नदिएको स्थानीयको गुनासो छ। सदरमुकामबाहेक पालिकामा निर्माण भएका कच्ची सडकको स्तरोन्नति नहुँदा सर्वसाधारणले चर्को भाडा तिर्नुपरेको छ।

पेट्रेलियम पदार्थको मूल्य वृद्धिसँगै सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर सवारीसाधन सञ्चालनमा ल्याउनुपरेको व्यवसायी नेत्र बस्नेतले बताए । व्यवसायी बस्नेतले भने , “एक पटक पाँचकाटियासम्म गाडी लिएर फर्किएपछि अनिवार्य रूपमा सवारीसाधन मर्मत गर्नुपर्छ। मर्मतकै धेरै खर्च हुन्छ।”

सहायक प्रमुख जिल्ला अधिकारी जनक भण्डारीले जाजरकोटका ग्रामीण भेगमा सञ्चालन भएका यातायातका सवारीसाधनले मनपरी भाडा असुलेकोप्रति सर्वसाधारणको गुनासो आएको बताए। उनले भने , “केही दिनभित्रै यातायात व्यवसायी र सरोकारवाला निकायबीच छलफल गर्नेछौँ।”

गाेरखापत्र 

तपाईको प्रतिक्रिया