विद्यालय छोड्दै शिविरका बालबालिका

सुर्खेत,८ पाैष ।

बराहताल गाउँपालिका–२ की १४ वर्षीया वविता नेपाली गिरीघाटस्थित बाढीपीडित शिविरमा बस्छिन् । उनी शिविर नजिकैको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा भर्ना भएकी छिन् । तर विद्यालय जाँदैनिन् । आर्थिक समस्याकै कारण विद्यालय जान नसकेको उनको गुनासो छ ।

‘विद्यालय जान मन त थियो, तर कापीकलम किन्ने पैसा कहिल्यै हुँदैन,’ उनले भनिन्, ‘ड्रेस पनि छैन, त्यसैले जानै छोडिदिए ।’ अभिभावकले पढाउन नसक्ने भएपछि विद्यालय जान छोडेको उनले बताइन् ।

त्यही बाढी विस्थापित बस्तीमा बस्ने सुनिता नेपालीका छोरा कमलले पनि कक्षा ११ मा पढ्दापढ्दै पढाइ छोडे । पढाइ छोडेर उनी रोजगारीको लागि भारत गएका छन् । पढाउन नसकेरै छोराले पढाइ छोड्नु परेको दुःखेसो सुनीताले पोखिन् ।

‘कमाइकाज केही छैन,’ उनले भनिन् , ‘एकै जनाको कमाइले ४ छोराछोरी पाल्नै मुस्किल भयो ।’ उनले वीरेन्द्रनगरमा मजदुरी गरेर परिवार पालिरहेकी छन् । पढ्न मन भएको छोरालाई बाध्यताले भारततिर पठाउन बाध्य भएको उनले गुनासो गरिन् ।

बाढीबाट विस्थापित बस्तीमा पछिल्लो समय पढाइ छाड्ने बालबालिकाको संख्या बढ्दै गएको छ । आफ्ना छोराछोरी पनि अभावकै कारण पढाइ छोड्ने अवस्थामा पुगेको शिविरमा बस्दै आएकी बुद्धिसरा नेपालीले दुःखेसो पोखिन् । उनका १० कक्षामा पढ्ने दुई छोरीहरु तथा ७ र ४ कक्षामा पढ्ने छोराहरु पनि अहिले नियमित विद्यालय जाँदैनन् ।

‘अहिले दिन बिराएर विद्यालय गइरहेका छन्,’ उनले भनिन्, ‘भरपर्दो आयस्रोत केही छैन, सधैं मजदुरी गर्न पाइँदैन, त्यसैले कलमकापी नहुँदा र खाजा खाने पैसा नहुँदा छोराछोरी विद्यालय जाँदैनन् ।’

बाढी प्रभावित बस्तीका झन्डै १५ विद्यार्थीले यो वर्ष विद्यालय छोडेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा पोखरेलले बताइन् । उनका अनुसार यो महिना मात्रै ४ बालबालिकाले पढाए छोडेका छन् ।

‘सबैको घरमा आर्थिक समस्या छ, बाबुआमाले मजदुरी गरेको पैसाले उनीहरुले शैक्षिक सामग्री जुटाउन सक्दैनन्, जसका कारण विद्यालय छोडिरहेका छन्,’ उनले भनिन्, ‘५ कक्षा माथिका लागि नजिकै विद्यालय पनि छैन, उनीहरु कक्षा ६ पढ्न १ घण्टा हिँडेर रानीघाट पुग्नुपर्छ, विद्यालय टाढा हुँदा पनि समस्या भइरहेको छ ।’

बालबालिका पढाइ छोडेर घरमा बुबाआमालाई सघाइरहेको उनको भनाइ छ । सुर्खेतमा २०७१ साउन अन्तिम साता आएको बाढीले २४ जनाको मृत्यु र ९१ जना बेपत्ता भएका थिए । बेपत्तालाई समेत सरकारले मृत घोषणा गरेको छ  ।

त्यसबेला ९ सय ७० परिवार विस्थापित भएका थिए । कर्णाली प्रदेश सरकारले पुनःस्थापनाका लागि गठन गरेको उच्चस्तरीय समितिले जिल्लाभर १ हजार ४५ बाढीपीडित रहेको प्रतिवेदन तयार पारेको छ ।

त्यतिबेला आएको बाढीले सुर्खेतका लेकपराजुलसहित वीरेन्द्रनगर, हरिहरपुरलगायत ठाउँमा बढी क्षति भएको थियो । अहिले बाढीपीडितहरु सुर्खेतको गिरीघाट, तिखाकुनालगायत ठाउँमा छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया