योजना अलपत्र, खानेपानीको सास्ती

सल्यान,८ पाैष ।

गत वर्ष लिप्ट खानेपानी योजनाको काम सुरु भएपछि कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित कोटकी पुष्पा डाँगी मख्ख थिइन् । कारण– ‘बिगतको खानेपानीको दुःख अब नभोग्नुपर्ने भयो भनेर ।

’ एक वर्षभित्रै खानेपानी योजनाको काम पूरा हुने र गत असोजमा घरमै पानी भर्न पाइने आशाले उनलाई उत्साह जगाएको थियो । तर खानेपानी योजनाको काम गत असारदेखि नै रोकिएपछि उनलाई एक गाग्री पानीका लागि एक÷डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

पानीकै समस्याका कारण कोटकै दुर्गाकुमारी थापा सदरमुकामतिर बसाइ सर्ने तयारीमा छिन् । ‘हामीलाई अरु विकास चाहिएन बरु,’ उनले भनिन्, ‘कम्तीमा खानेपानीको सुविधा भए हुन्छ ।’

उनीहरु मात्र होइन घरघरमा खानेपानी आउने कुरा चलेपछि खुसी भएका कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित कोट, बयाले, पोखरी र आरुचौरवासी खानेपानीको लागि धेरै कष्ट उठाउन बाध्य छन् । ४ गाउँको लागि गत वर्ष सुरु भएको लिप्ट खानेपानी योजना अहिलेसम्म पनि अधुरै छ । बल्ल योजनाको ३१ प्रतिशत काम मात्र पूरा भएको छ । असारयता कामै हुन छाडेको छ ।

योजना अलपत्र पर्दा ४ गाउँका २ सय ४० घर परिवार प्रभावित भएका छन् । स्थानीयहरु अहिले एक घण्टा तलको बयाले खानेपानी मुहानबाट पानी ल्याउन बाध्य छन् । योजनाका झन्डै १ करोड रुपैयाँ खर्च भइसकेको छ । यो वर्ष योजनाका लागि रकम विनियोजन गरिएको छैन ।

स्थानीय कमला बस्नेतले खानेपानीका लागि वर्षौदेखि सास्ती भोगिरहेको बताइन् । ‘खानेपानी ल्याउन बिहानै मुहानमा जानुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘पानी भर्नसमेत एक÷डेढ घण्टा पालो कुर्नुपर्छ ।’

खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको उनको भनाइ छ । स्थानीय सरस्वती घर्तीले झिसमिसेमै मुहानमा नपुगे पालो पाउनै समस्या हुने गरेको गुनासो गरिन् । ‘सधैं एक गाग्री पानीकै चिन्ता हुन्छ,’ उनले भनिन्, ‘पानीको समस्याले घरको कामकाजसमेत दैनिक प्रभावित भइरहेको छ ।’

उनका अनुसार हिउँदको समयमा महिला र बालबालिकाको दैनिक काम नै पानी ओसार्ने हुन्छ । संघीय सरकारको बजेटबाट अघिल्लो वर्ष १ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो । टेन्डरमार्फत सबैभन्दा कम रकम कबुल गर्ने विसी निर्माण सेवाले ८७ लाखमा उक्त योजनाको जिम्मा पाएको थियो ।

त्यसमा उपभोक्ता समितिबाट करिब १३ लाखको काम भएको छ । तर निर्माणको जिम्मा लिएको कम्पनीले काम सम्पन्न गर्न नसकेपछि योजनाको रकम फिर्ता गएको वडाध्यक्ष रविलाल बस्नेतले बताए । अहिले भरत बस्नेत सम्पर्कमा नरहेको उनको भनाइ छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया