मधेसी आयोगको प्रश्न– ’सीके राउतलाई के आधारमा मधेसी भाषामा शपथग्रहण गराइयो ?’

काठमाडौँ,८ पाैष ।

प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त राउत (सीके राउत)ले मधेसी भाषामा शपथग्रहण गरेकोमा आपत्ति जनाउँदै मधेसी आयोगले कुन आधारमा उक्त भाषामा शपथग्रहण गर्न दिएको भन्दै संसद्‍ सचिवालयलाई प्रश्न सोधेको छ ।

राउतले बिहीबार मधेसी भाषामा शपथग्रहण गरेपछि त्यसप्रति आयोगले आपत्ति जनाएको हो । साथै मधेसी आयोग तथा सरकारी सूचिमा समावेश नभएका भाषामा शपथग्रहण गराउँदा त्यसले अन्य भाषाहरूमाथि नकारात्मक प्रभाव पर्ने आयोगले जनाएको छ ।

’हालसम्म भाषा आयोगबाट प्रकाशित गरिएको सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू २०७८ र मधेसी आयोगमा मधेसी भाषा सूचिकृत अन्य भाषाहरूमाथि नकारात्मक प्रभाव परेको देखिन्छ । सो सम्बन्धमा यस आयोगलाई संघीय संसद सचिवालयले कुन आधारमा मधेसी भाषामा शपथ लिन मान्यता दिएको स्पष्ट हुने गरी जानकारी गराइदिनुहुन निर्देशानुसार अनुरवध गरिएको छ ।

साथै प्राप्त उजुरी तथा भाषा आयोगद्वारा प्रकाशित सुचिकृत भाषाहरूको सुची समेत संलग्न गरी पठाइएको छ,’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्वाचित सांसद सीके राउतले बिहीबार मधेसी भाषामा शपथग्रहण गरेपछि उक्त भाषामा शपथ ग्रहण गर्न मान्यता दिन नहुने आयोगले जनाएको हो ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया