‘पत्रकारलाई पारिश्रमिकको लागि आन्दोलन गर्नुपर्ने बाध्यता

’सिर्जना बुढाथोकी
सुर्खेत,८ पौष ।

यसरी सुरू भयाे सुर्खेतमा पत्रकारिताकाे सुरू 

सुर्खेत जिल्लामा पहिलो पटक हामीलेनै सुसेली अफ्सेट  प्रेस खोलेका हौ । शिशाका अक्षरहरु जोडेर प्रिन्ट गर्नुपर्ने थियो । अहिले जस्तो अफ्सेटहरु थिएनन् । त्यो भन्दा अगाडि काठमाण्डौंबाट मात्रै केहि पत्रिका प्रकाशित हुन्थे । त्यो समयमा मात्रृभूमि भन्ने पत्रिका थियो ।

गोविन्द नियोगीहरुले हातले लेखेर भित्तामा टाँस्ने गर्थे, त्यसरी निस्किन्थ्यो पत्रिका काठमाडौंमा वि.सं. २०१८ सालतिर । पछि मिबस्तारै सुर्खेतबाट बालाराम शर्माले त्यहि भित्तेपत्रिकामा सम्वाददाताको रुपमा यहाँबाट केहि समाचारका लागि सूचना पठाउन थाल्नुभयो ।

तर त्यो लेखेर पठाएको आउछँ नै भन्ने निश्चित हुँदैन थियो । यातायातको विकास पनि थिएन । यहाँबाट त्यसरी पठाइएको समाचार छापियो कि छापिएन भन्ने थाहै हुँदैनथियो । छापिए पनि यहाँ हेर्न पाइँदैन थियो, किनकी पत्रिका यहाँसम्म आउनै सक्दैन थियो ।

मेरा सहकर्मी दुर्गाकेशर खनाल (कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख)ले राजधानी पत्रिकाका लागि सम्वाददाताका रुपमा यहाँबाट काम गर्नुहुन्थ्यो । वि.सं. २००७ सालमा प्रजातन्त्र आएको कुरा जुम्लामा ६ महिनापछि थाहा भयो भनेपछि कस्तो सूचनाको पहँुच थियो होला ? सूचना सम्प्रेषण र जानकारीको उपाय केहि पनि थिएन् ।

प्रजातन्त्रको स्थापनापश्चात २००७ चैत्रमा त्यहि उपकरण ल्याएर काठमाडौंबाट नेपाल रेडियोको स्थापना गरिएको थियो । जुन अहिले सरकारी सञ्चारमाध्यम रेडियो नेपालको रुपमा सञ्चालित छ । सुर्खेतमा पनि पत्रकारितालाई विकास र बचाई राख्न हामीले निकै मेहेनत र परिश्रम गरेका छौ ।

संर्घषका दिनः

मलाई के लाग्छ भने, यतिबेला सुर्खेतसहित देशभरमा पत्रकारिताको स्थिति हेर्दा समाचार सम्प्रेषण, राजनैतिक घटनाक्रमको व्याख्या र तिनीहरुको विश्लेषण मात्र प्रमुख रहेको पाईएको छ । यसले समाजमा एक किसिमको निराशा पैदा गरेको छ ।

राजनैतिक अभिष्ट प्राप्तिका लागि पत्रकारिताका मूल्यमान्यताहरु दिनानुदिन निचोरिदंै गएको छ । स्वतन्त्र पत्रकारिताको अभाव महशुस भएको छ । तर, अहिले पत्रकारिता विषयलाई नेपालको शैक्षिक संकायमा पनि समावेश गरिएकोले पत्रकारिताका मूल्यमान्यता र सोध अनि अबको दक्ष पत्रकारिता गुणस्तरीय हुनेमा विश्वास गर्न सकिने देखिएको छ ।

हामीले सुर्खेतमा भएका चार पाँच जनाजम्मा भएर चिरञ्जीवी अर्यालको अगुवाईमा नेपाल पत्रकार महासंघको तदर्थ समिति गठन गर्यौ वि.सं. २०४९ सालमा । फेरि वि.सं. २०५३ सालमा म पनि सभापति भए । हामीसंग यतिसम्मकी पत्रिका वितरण गर्नेलाई दिने पैसा पनि हुँदैन थियो ।

सबैको सहयोगले चल्यो त्यो समयमा, अनि विस्तारै एफ.एम रेडियो पनि सञ्चालनमा आउन थाल्यो । समस्या यति थियो कि, स्थानीय पत्रिका आयो भने लोकल पत्रिका भनेर मान्छेले पढ्दै नपढ्ने । काठमाडौंबाट प्रकाशित पत्रिका धेरै बोझिला र राम्रा हुन्छन् भनेर पढ्थे ।

यतिसम्मकी सुर्खेतबाट प्रकाशित हुने पत्रिकालाई पनि गोरखापत्र भन्थे, गोरखापत्र बाहेक अरु भन्न नजान्ने थिए त्यो समय । पत्रकार साथीहरु पनि तालिम प्राप्त थिएनन् शुरुमा । विस्तारै विस्तारै बाटोघाटोको सहजता केहि भएपछि पत्रकारिताका गुरु रामकृष्ण रेग्मीहरु आएर आधारभूत तालिम दिनुभयो । त्यसपछिबाट पत्रिका दर्ता गर्ने, तालिम लिने क्रम बढ्दै गयो ।

पहिले पहिले साप्ताहिक रुपमा प्रकाशित हुने पत्रिकाहरु अर्धसाप्ताहिक चलाउने भनेर चले । यसरी संघर्ष गरेर अगाडि बढाएको पत्रकारिता, अहिले त सबै भन्दा धेरै पत्रकारनै सुर्खेतमा छन् जस्तो लाग्छ ।

पत्रकारिताको इमान जोगाउन चुनौतीः

मोफसलका पत्रकारहरुले त्यो समयमा पठाउने अलि–अलि सूचनाहरु पठाएका कुरा छापिएपछि बल्ल उनीहरुले त्यो आएको एक महिनापछि गाउँमा लगेर प्रचार गर्थे ।

स्रोत साधन थिएनन् । आउँदा जाँदा, कसैको फोटो लिन पनि समस्या थियो जबकी अहिले ड्रोनसम्मको सेवा लिइरहेका छन् । पत्रकारिताको बढ्दो विकाससँगै चुनौती पनि थपिदै गएका छन् । एफएम रेडियो, निजी र सामुदायिक टेलिभिजन खुल्ने क्रम रोकिएको छैन। पत्रकारिताको दायरा बढेसँगै समस्या र चुनौती पनि बढेका छन् ।

धेरैजसो चुनौती स्वयं सिर्जीत छन् भने कतिपय राजनीतिक लगायतका कारणले सिर्जित छन् । पत्रकारिताभित्र विषयवस्तुको उठान, त्यसको लेखनी, भाषा र प्रस्तुतीसँग भन्दा सम्वन्ध, आचरण र व्यवहार लगायतका कारणले पनि पत्रकार असुरक्षित भइरहेका छन् ।

राजनीतिक संलग्नता र पक्षधरताको विसंगतीले पत्रकार र पत्रकारितालाई झनै गम्भीर मोडमा पुर्याएको छ । सबै किसिमका पत्रिकाहरु शुरु भएपनि साधन स्रोत पनि छन् तर भाषाको ज्ञान भएकाले पनि सोचेझै विकास नभएको भान मलाई हुन्छ ।

किनकी समाचारभन्दा पनि विज्ञापनमुखी भए कि जस्तो लाग्छ । सञ्चारक्षेत्र उद्योगतर्फ उन्मुख हुनु सकरात्मक भएपनि पत्रकारहरु आधारभूत सिद्धान्त, मूल्यमान्यता र ज्ञान, सीपबिना अघि बढ्न खोज्नु स्वयंले चुनौतीहरु ब्युताउँनु हो । अहिले पत्रिका, रेडियो स्थापना गर्नेहरु उद्योगी, व्यापारी, राजनीतिकर्मीहरु छन् ।

उनको प्रष्ट ध्येय छ, पत्रकार र सञ्चारगृहलाई आफु अनुकूल प्रयोग गर्ने र स्वार्थपूर्ति गर्ने । श्रमजीवी पत्रकारहरु लगानी गर्ने स्थितिमा छैनन् । उनीहरु आफ्नै पारिश्रमिकको लागि आन्दोलन गर्नुपर्ने बाध्यतामा छन् । आपूm अनुकूलको समाचार प्रकाशन र प्रशारण नभए धम्क्याउने प्रवृत्ति छ ।

कुन विषयलाई छनौट गर्ने, कति प्राथमिकता दिने भन्ने सञ्चारगृह (सम्पादकीय) को स्वतन्त्रता हो । यसमा कसैको दवाब, हस्तक्षेप, प्रभाव पर्नु हुँदैन । तर यहाँ दिनहुँ भइरहेको हुन्छ । जबकी यसो गर्न खोजिनु प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताविरुद्ध मात्र होइन, लोकतन्त्र र मानवअधिकार विरुद्ध पनि ठहरिन्छ ।

समाचार लेखेकै कारण पत्रकारलाई सार्वजनिक धम्की दिने, कुटपिट गर्ने प्रवृत्तिको विकास हुनु, प्रेसविरुद्ध दुष्प्रचार गरिनु, पत्रकारको आस्था, रङ, अनुहारका आधारमा सतहि मूल्यांकन गर्ने दुस्साहस गर्नु, दवाब÷प्रभाव र सेल्फ सेन्सरशिपको वातावरण सिर्जना गरिनु पनि पत्रकार र पत्रकारिताका लागि चुनौती हुन् ।

पत्रकार र सञ्चारमाध्यमप्रति असहमति जनाउने, आपत्ति प्रकट गर्ने, गुनासो पोख्ने अधिकार सबैलाई सुरक्षित छ । तर त्यसका लागि केही विधि र प्रक्रिया छन्, जुन पूरा गर्न जरुरी छ । तर यहाँ त्यसो गरिएको पाइँदैन । त्यसो नहुनु पनि एक खाले खतरा हो । पत्रकारमाथि दिनहुँ आक्रमण भइरहेका छन् ।

आक्रमणकारी पक्राउपनि पर्छन् तर कुनै न कुनै खाले सम्झौतामा छुट्छन् । त्यस्ता घटनाको अनुसन्धान नहुनु थप हिंसाका लागि निमन्त्रणा हो । पीडित पत्रकारमाथि न्याय नहुँदा त्यसले पीडकलाई घटना घटाइ राख्नका लागि बल प्रदान गर्छ । श्रमजीवी पत्रकार ऐन र सूचनाको हकको कार्यान्वयन गर्नुपर्ने पनि चुनौती छ ।

यसका साथै सत्य तथ्य सूचना प्रवाहमा बेवास्ता, पर्याप्त सीप÷दक्षता र खुबी नहुनु, ‘पर्चाकारिता’ र ‘पार्टीकारिता’ ले स्थान पाउनु, सीप अभिवृद्धिका लागि सञ्चारगृहले ध्यान नदिनु, स्वतन्त्र ढंगले काम गर्न वातावरण नहुनु, बढ्दो दण्डहिनता, भौतिक तथा व्यवसायिक असुरक्षा सञ्चारकर्मीका मुख्य चुनौतीका रुपमा देखिएका छन् । प्रेस स्वतन्त्रता उल्लघंनका घट्नाको प्रभावकारी अनुगमन र दण्डहिनताको अन्तय नहुनुले पनि अनेकन् जोखीम बढाएको छ ।

तपाईको प्रतिक्रिया