नेपथ्यबाट :  कर्णालीका इञ्जिनियर दलवीरको दर्दनाक कथा

सुनिल उलक

सुर्खेत,१६ मंसिर ।

उनको प्रतिभा र लगनशीलता देखेर राजाले सुर्खेतको विकासमा सहयोग पुग्ने भन्दै दलवीरलाई जिल्ला पञ्चायतमा जागिर दिलाइदिए । केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेशअनुसार उनको काम र सीपका आधारमा दैलेख जिल्ला पञ्चायतले उनलाई सब–ओभरशियरको जागिर दियो ।

पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धि कामको थियो । सबै काममा केवल पढाइले मात्र हुँदैन । अनुभव र ज्ञान पनि हुनुपर्छ । यो दुबै दलवीरको साथ थियो । थिएन त केवल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए। तर इञ्जिनियर पढेकै थिएनन् ।

तर पनि सब–ओभरशियरको रुपमा जागिर पाए । यसको केही समयपछि नेपालमा अमेरिकी पिसकोर भोलेन्टियरहरुको आगमन हुन थालेको थियो । पिसकोरको आगमनको क्रममा २०२४ सालमा अमेरिकी विद्यार्थी एलेन फेयरबैंक सुर्खेतमा आइपुगे । पुल सम्बन्धि ज्ञान भएका एलेन सुर्खेतमा पुगेपछि दलवीरको साथीको रुपमा संगै काम गर्न थाले ।

एलेनसंग रहँदा नै जिल्ला पञ्चायतका सब–ओभरशियर जागिरे भएपछि उनको निरीक्षणमा दैलेख जिल्लाको डुङ्गेश्वर खोलाको झोलुङ्गे पुल, दैलेखकै चुप्रामा लोहोरे खोलाको झोलुङ्गे पुल, दैलेखकै छामघाट खोलाको शिरस्थानको झोलुङ्गे पुल, रावतकोटको किटुलामा पर्ने छामघाट खोलाको झोलुङ्गे पुल, दैलेखको सिमानामा पर्ने लोहोरे खोलाको झोलुङ्गे पुल तथा दैलेखकै चोर खोलमा बनाइएको झोलुङ्गे पुल पनि बनाइएको थियो ।

छामघाट खोलाको झोलुङ्गे पुल बनाउने सामाग्री खरिदको लागि भने दलवीर भारतको कानपुरसम्म पनि पुगेका थिए । सुर्खेतमा अमेरिकी नागरिक एलेनले चार वर्ष दलवीरसंग बिताए । दलवीरको क्षमता देखेर एलेन पनि निकै चकित भएका थिए। एक पटक एलेनको टाइपराइटर बिग्रेर निकै दुख दियो ।

दलवीरले म एक पटक हेरिदिन्छु भने । एलेनलाई लागेको थिएन दलवीरले टाइपराइटरको मर्मत गर्न सक्छन् भन्ने । दलवीर एकैछिन टाइपराइटरमा घोत्लिए। त्यसपछि एउटा दाँती देखाउँदै भने यसको एउटा दाँत भाँच्चिएको छ त्यसैले काम गरेको छैन । त्यसपछि आरनमा गएर उस्तै नयाँ दाँती बनाएर टाइपराइटरमा फिट गराइदिए ।

टाइपराइटर नयाँ जस्तै काम गर्न थाल्यो । बिहान ९ बजेपछि जागिरको तैयारीमा लाग्नुपर्ने हुँदा गाँउघरका बिग्रेका सामानहरु उनले बिहान ६ बजे देखि ९ बजेसम्म बनाउन बस्दथे । पछि अर्का पिसकोर भोलेन्टियर बब डेभिस आएका थिए । उनको साथ पनि दलवीरले पुल बनाउने काममा रहे ।

जिल्ला पञ्चायतमा जागिरे रहँदा उनकै निगरानीमा सुर्खेतदेखि दैलेख हँुदै जुम्लासम्मको मोटर बाटोको रेखांकन पनि भयो । सुर्खेत नेपालगञ्जको मुख्य सडकको रेखांकनको काम पनि पूरा गरेका थिए । यसरी जागिरे भएपछि दैलेख र सुर्खेको विभिन्न स्थानमा पुगिरहन्थे उनी ।

फुर्सदमा घरमा रहँदा पनि केही न केही बनाउने काममा लागिरहन्थे । फलामका सामाग्रीदेखि लिएर सुनका गहनासम्म बनाउन जानेका थिए । सेनाको बन्दूकदेखि सरकारी कार्यालयमा बिग्रेका टाइपराइटर, पेट्रोमेक्स पनि बनाउन जानेका थिए।

आधुनिक इलेक्ट्रिक सामानहरुको साथै घडी, रेडियो र सेनाको बिग्रेको आ.वा सेट (तत्कालीन समयमा आकाशवाणी भनिने सेनाको सञ्चार सेट) पनि उनले नै बनाउने गर्थे । एकपटक दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकोप्टर बिग्रेर उडाउन सकिएन । त्यो दुर्गमस्थलमा कोही इञ्जिनियर वा दक्ष मेकानिक्स भेट्ने सम्भावना थिएन ।

सेनाका उच्च पदस्थ सैनिक अफिसरले बहुप्रतिभा भएका दलवीरलाई सम्झिए । उनलाई ताराघाटमा बोलाए । दलवीरको बुद्धिमत्ताले वा दक्षताले वा संयोगले हेलिकोप्टर चालू भयो । उडान गरेर सुर्खेत गुल्ममा ल्याइयो । यस पछि सैनिक गुल्म भित्र हेलिकोप्टर पनि बनाउन सक्ने दलवीर भनेर नाम कहलियो ।

नयाँ नौलो काम गरिरहने दलवीरले सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएर चलाएर देखाएका थिए । ज्वाला दल गुल्म, दैलेखमा कुनै पनि सामानको मर्मत गर्नुपरेमा पनि दलवीरलाई नै खोजिन्थ्यो । दलवीरको हात परेपछि सबै जसो सामाग्री बन्थ्यो पनि । दलवीरको श्रीमती मोतीसरालाई एलेनले दिदी बनाएका थिए ।

भाइको अचानक देहान्त भएपछि रोइरहेकी मोतीसरालाई एलेनले सम्झाउँदै भनेका थिए, तपाइँ भाई गुमेकोमा चिन्ता नगर्नु म तपाइको भाई जस्तै हो । अबको तिहारमा मलाई भाइटीका लगाइदिनु। नभन्दै मोतीसराले एलेनलाई टीका लगाइदिईन। दिदीभाइको नाता कायम रह्यो ।

चार वर्ष सुर्खेतमा संगै बिताएका एलेन पिसकोरको तालिमपछि पनि दुई पटक नेपाल आए। सुर्खेतमा दिदीको घरमा बसे । मीठो नमिठो जे पाक्यो खाए । दिदी मोतीसराको देहान्त पछि भने एलेन नेपालमा फर्केर आएका छैनन् । राजा महेन्द्रको स्वर्गारोहणपछि नयाँ राजा बनेका राजा वीरेन्द्रको पश्चिम नेपाल भ्रमण हुने भयो ।

जुम्लामा हेलिकोप्टरमा पुगेका राजा सुर्खेतमा केही समय बिताउने गरी सवारी हुने भयो । त्यसबेला सुर्खेत गुल्मका बाहिनीपति हुनुहुन्थ्यो आदित्यशम्शेर जबरा । आदित्यशम्शेर राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पनाति हुनुहुन्थ्यो ।

वहाँको बुबा मृगेन्द्रशम्शेर राणाकालमा शिक्षा विभागका डाइरेक्टर हुनुहुन्थ्यो भने बाजे बबरशम्शेर २००७ साल पछि पहिलो रक्षा मन्त्री बनेका थिए । आदित्य शम्शेरपछि राजा वीरेन्द्रका एडीसीको रुपमा कार्यरत रहेका थिए । साथै आदित्यशम्शेरका छोरा गौरवशम्शेर शाही नेपाली सेनाका सेनापति भए ।

बाँकी अंश अर्का शुक्रबार

तपाईको प्रतिक्रिया