रामे र रोशन : रामारोशन

महेन्द्र चन्द ‘महासागर’


सुर्खेत,३ मंसिर ।

अछाममा पाइला टेकेको यो पहिलो पटक भने थिएन तर पुल तरेर पारि पुगेको भने यो पहिलो पटक नै थियो । यस भन्दा पहिले अछाम गजल महोत्सव भएको बेला मंगलसेनलाई स्पर्श गर्ने मौका मिलेको थियो । त्यसबेला कर्णालीमा पुल थिएन सानो डुङ्गामा मोटरसाइकल राखेर पारि तरी निकै कठिनपूर्ण कच्चि सडक पार गरेर मंगलसेन पुगिएको थियो । यो कुरा पुल तरेर पारि पुग्न बित्तिकै सम्झना भइहाल्यो, सम्झिनै परेन ।

मध्य पहाडि राजमार्ग भएर पनि होला यस पटक अछामको विनायक पुग्दासम्म म सिन्धुलीको विपी राजमार्गमा हिँडिरको महसुस गरिरहेको थिएँ । पहिले र अहिलेमा निकै भिन्नता थियो । गरेपछि हुँदो रहेछ भन्ने कुराको एउटा राम्रो उदाहरण थियो यो ठाउँ ।

बिहानीको यात्रा चिसो चिसो मौसम, कर्णाली नदीको इलाकामा हुस्सुको साम्राज्य, म विनायक पनि निस्किएँ घाम पनि निस्किए, न्यानो भयो । विनायकमा एकछिन विश्राम लिइसकेपछि फेरि मोटरसाइल स्टार्ट भयो र अगाडि बढ्यो । म चाल्सा पुग्दा करिब नौ बेजेको थियो । म चाल्सा पुगेँ र पहल असिमको घरमा पुगेर खाना खाएँ ।

जीवनमा पहिलो पटक अछाममा प्रचलित नुन हालेको खिरको स्वाद आस्वादन गर्ने अवसर मलाई मिल्यो र पहल असिमको परिवारसँग साक्षात्कार भएर आत्मियता साट्ने अवसर पनि मिल्यो । त्यहाँबाट अब रामारोशनको यात्राका लागि अर्का एकजोर खुट्टाहरु थपिँदै थिए, रामारोशनलाई पदार्पण गर्न, स्पर्श गर्नका खातिर ।

पहल असिम र म घरका मान्छेहरुसँग बिदा मागेर लाग्यौँ उकालो । माथि सडकमा मोटरसाइकलले पर्खिरहेको थियो फर्किरहेका हामीहरुलाई । अब रामारोशनको यात्रा थालनी भयो चाल्साबाट । गैरीटाँर, हुँदै ठाँटीकाँध पुगेपछि पाइलाहरु दोधारमा परे । हामी दुबै पहिलो पटक रामारोशन जाँदै थियौँ । बाटाहरु दुईवटा थिए सजिलो बाटो अली लामो थियो भने अप्ठेरो बाटो छोटो । हामी अप्ठेरो भए पनि छोटो बाटो तय गर्ने निर्णयमा पुग्यौँ र लाग्यौँ ओरालो ।

जङ्गलको बिचबाट खोलिएको सानो बाटो रमाइलो थियो । हामी कुराकानी गर्दै अगाडि बढ्दै थियौँ बाटामा कालिजहरु हामीलाई देखेर निकै तर्सन्थे । हामी पनि तर्सिन्थ्यौँ जङ्गलमा । अछामको ताली हुँदै हामी कैलाश खोलाको किनारतिर अगाडि बढिरहेका थियौँ ।

भर्खर खोलिएको सडक निकै अप्ठेरो थियो । हामी करिब साढे एघार बजेतिर कैलाश खोलाको किनारमा रहेको मुजाबगर भन्ने बजारमा पुग्यौँ र कैलाश खोलाका माछालाई आहारा बनायौँ । माछाको महत्त्वबारे मैले बुझेदेखि म माछा भेटेसम्म खाइहाल्न खोज्छु मेरो यो बानीमा पहल असिम जानकार छन् । मुजाबगरमा माछा खाइयो ।

अब हामी कैलाश खोलालाई नछोडिकन किनारै किनार उकालो हिड्नु थियो गफ गर्दै अगाडि बढिरहेका थियौँ बाटो चिप्लो, खाल्डा भएको अप्ठेरै लागिरहेको थियो । साना तिना खोला, पानी ,झरना पार गर्दै हामी भट्टेबगरमा पुग्यौँ र त्यहाँबाट कैलाश खोलालाई छाडेर उकालो लाग्यौँ । अब रामारोशनतिर जाने थुप्रै मोडहरु सुरु भएका थिए ।

हामी थाकी सकेका थियौँ बेला बेला “परिस्थितिले एउटा विश्राम माग्यो ।” भन्दै हामी एकछिन सुस्ताउँथ्यौँ फेरि अगाडि हिँड्थ्यौँ । त्यो पल अहिले सम्झँदा निकै आनन्द आउँछ । मुजाबगरबाट हिँडेको करिब दुई घण्टा पछि हामी रामारोशन भन्ने गाउँमा पुग्यौँ ।

यहाँ पुग्न यति समय नलाग्नु पर्ने हो तर बाटोका कारण र थकानले हामीलाई ढिला गरायो । अब रामारोशन इलाका नजिकै थियो तर हामी पुगिसकेका भने थिएनौँ । हामी शारीरिक रुपमा थाकिरहेका थियौँ भने मानसिक रुपमा झन फुर्तिला बन्दै गइरहेका थियौँ । एकछिन त्यहाँ पनि सुस्ताएर हामी रामारोशन गन्तव्यतिर प्रस्थान ग¥यौँ ।

एकछिनपछि रामारोशनको चिसो सिरेटोले हामीलाई स्वागत गरिहाल्यो । अब भने पुगियो सपनाको गन्तव्य, लामो समयदेखि सुनिरहेको नाम, स्थान र प्रतिक्षाको अन्तिम विन्दु रामारोशन । रामारोशन पुग्दासम्म करिब तीन बजेको हुँदो हो हामीले रामारोशनको प्रवेशद्वार नजिकै रहेको रामारोशन गेष्टहाउसमा कोठाको प्रबन्ध गरेर सामान राख्यौ ।

त्यहाँ पर्यटकहरुको खान बस्नको लागि केही होटेलहरु खोलिएका रहेछन् । हेर्दा सामान्य लाग्ने तर राम्रै सुविधा प्रदान गर्ने ती होटलहरु र मिजासिला साहुहरु अहिले पनि सम्झनामा छन् । हामी सामान राखेर हुत्तियौँ रामारोशनको विशाल क्षेत्र भित्र किनभने हामीलाई आजै घुम्नु थियो केही स्थानहरु ।

एउटा राष्ट्रिय निकुञ्ज जस्तो देखिने त्यो क्षेत्र मैले सोचेको भन्दा निकै फरक रहेछ । मैले त्यहाँ पुग्नु पूर्व रामारोशनलाई एउटा तालका रुपमा मात्र बुझेको थिएँ तर त्यहाँ पुगेपछि थाहा भयो कि त्यो त एक प्राकृतिक विविधतायुक्त संरक्षण क्षेत्र रहेछ । जसमा थुप्रै तालहरु, थुप्रै पाटनहरु, थुप्रै वनस्पतिहरु, जिवजन्तुहरु, चराचुरुङ्गीहरु आदि अवस्थित रहेछन् ।

हामीले प्रवेश ग¥यौँ रामारोशन संरक्षण क्षेत्रको प्रवेश द्वारबाट भित्र र प्रारम्भ ग¥यौँ जङ्गल सफारी अनि भ्रमणको आनन्द प्राप्तीको यात्रा । प्रवेशद्वारबाट भित्र जान बित्तिकै पहिलो ताल ‘बाटुले दह’ आइहाल्यो र हामीलाई स्वागत गरिहाल्यो । हामीहरु हतार हतार फोटो खिच्न थाल्यौँ । त्यो तालको किनारै किनार ढुङ्गाको पदमार्ग निर्माण गरिएको रहेछ ।

जुन पत्थरहरुलाई हामीले पहिलो पटक कुल्चने अबसर पायौँ । तिनै पत्थरहरुलाई कुल्चँदै हामी त्यो तालमा आएको पानीलाई नियाल्दै अगाडि माथितिर बढ्यौँ । त्यो पानीले हामीलाई अर्को ताल देखाइदियो ‘जिङ्गले’ ताल जुन तालबाट बगेको पानी बाटुले दहमा आउँदो रहेछ ।

अब हामीले भेटाएको ताल अघिको ताल भन्दा निकै ठुलो थियो । सम्भवतः यो ताल रामारोशनको सबै भन्दा ठुलो ताल हो । लम्बेतान भएर फैलिएको तालमा चराहरु, पानी हाँसहरु खै के के कुरा गरिरहेका थिए कुन्नि हामीलाई देखेर चुपचाप भए र अलि परपर गए ।

तालमा रहेका माछाहरु पनि हामीलाई देखेर उत्साहित भएको भान हुने गरी चलमलाउन थाले । हामी एकछिन त्यही तालको छेउमा बसेर कुराकानी ग¥यौँ र सुनसान निर्जन वनमा हामी मात्र दुई पर्यटक भएकाले डरायौँ र भन्यौँ, “कतै यहाँको भालुले हामीलाई स्वागत त गर्ने होइन

” हामी एकछिन हाँस्यौँ । वास्तवमा जङ्गल डर लाग्दो नै थियो र त्यहाँका स्थानीयले त्यहाँ हिंस्रक जनावरहरु पनि पाइने कुरा गरेका हुनाले पनि डर पलाउनु स्वभाविकै थियो । बाह्र बण्ड (ताल) अठार खण्ड (पाटन)का नामले परिचित रामारोशन विशाल, घना, डर लाग्दो र रहर लाग्दो पनि थियो । हामी जिङ्गले तालको माथिल्लो किनारसम्म पुगेरै छाड्ने दृढ इच्छा लिएर अगाडि बढ्यौँ ।

होटलमा कुरा गर्दा घुम्नको लागि कुनै गाइडको व्यवस्था खासै नभएको र एकजना दाइ घाँस काट्न उतै गएको हुनाले उहाँलाई अनुरोध गरे उहाँले घुमाइदिन सक्ने जानकारी पाएका थियौँ र उहाँ भेटिने आशाले अगाडि बढिरह्यौँ । हामी हिँडिरहेकै बेला एउटा गुफा जस्तो ओडार भेटियो, हामीले युद्धकालिन बंकरको याद ग¥यौँ ।

केही पर पुगेपछि घाँसको भारी बोकेर आइरहेको दाइलाई देख्यौँ र निकै खुसी भयौँ । उनीसँग कुरा गर्दा पो थाहा भयो त जङ्गलमा जनावरहरु भए पनि खासै डर नहुने रहेछ । उनले घुमाउन झ्याउ मानेर हो या साँच्चै हो थाहा भएन तर हाम्रो डरको पारो भने उनले घटाइ दिए ।

बाँकी अंश अर्काे शनिवार

तपाईको प्रतिक्रिया