असफलताले छेक्दैन मेहेनतिको बाटो

सुर्खेत १२ साउन ।

जसले सानैदेखि लक्ष्य लिएर आफ्नो ध्यान पढाईमा दिएर अगाडि बढ्छ, वास्तवमा त्यहि व्यक्ति नै सफल हुन्छ । लक्ष्य पूरा गर्नतर्फ दत्तचित्त भएर लाग्ने व्यक्ति नै समाजका नेतृत्व र सामाजिक काम गर्ने व्यक्ति हुन्छ । यस्तै लगनशीलमध्येका एक हुन भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल । सामान्य परिवारमा जन्मिएका उनले आफ्नो पहिलो प्राथमिकता पढाईलाई दिए । आफुले लिएको सरकारी सेवामा काम गर्ने लक्ष्यलाई पच्छ्याईरहे र नायव सुब्बा हुँदै अधिकृतसम्म बन्न सफल भए । आजको राष्ट्रसेवकमा उनै पोख्रेलसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सामान्य बाल्यकाल

बुवा बिनीराम पोख्रेल र आमा ईन्द्रकलापोख्रेलको कोखबाट २०२६ साल भदौ १ गते अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा
नम्बर ५ खोइरेनीमा कृष्णप्रसाद पोख्रेलको जन्म भएको हो । घरको कान्छो छोराको रुपमा जन्मिएका पोख्रेलका चार दाजुभाइ र दुई दिदीबहिनी छन् । सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल गाउँमै बित्यो ।

उनको बुवाले कृषि कर्म गर्थे । कृषकको छोरा कृष्णले पाँच कक्षासम्मको पढाई आफ्नै गाउँमा खेतवारी, र घाँस, गोठाला गर्दै पढे ६ कक्षादेखि भने सार्वजनिक माध्यमिक विद्यालय बहखोरमा पढे । त्यहि माविबाट उनले २०४३ सालमा एसएलसी पास गरे ।

माध्यमिक तहसम्मको गर्दापनि उनका घाँस दाउरा र वस्तुभाउको गोठालो जानेलगायतका गाउँले कामको जिम्मेवारी काँधबाट हटिसकेको थिएन । सबैसँग मिलनसार पोख्रले सहयोगी स्वभावका थिए ।  सबै कुरामा ध्यान दिने उनले आफ्नो पढाईलाई पहिलो प्रथामिकता दिन्थे । उनी कहिलेपनि कक्षामा फेल भएनन् ।

सरकारी जागिरी खाने लक्ष्य

त्यतिबेला लोकसेवा पढ्ने र पोष्टिङ हुनेहरुको लर्को थियो । पोख्रेलपनि आफु एसएलसी पास गरेपछि सरकारी जागिरी खाने ध्याउन्नमा थिए । त्यहि अनुसार उनले आफ्नो ध्यान पढाईमा नै दिन्थे । उनी राती ११ बजेसम्म पढ्थे भने बिहानै पाँच बजे उठेर पढ्ने गर्थे

उनको घरको आर्थिक  अवस्था निकै कमजोर भएकाले आफ्नो लक्ष्य पूरा हुन्न कि भन्ने चिन्तापनि गर्ने गर्दथे । तर ती कुराहरुलाई बिर्सदै जसरी भएपनि आफ्नो लक्ष्य पूरा गर्छु भनेर एकोहोरो भएर लागिपरेका थिए । तर उनले यतिबेला भने धेरै चुनौतिहरुको सामाना गर्नुपर्यो । आपूmले भनेजसरी पढ्ने वातावरण पाउन सकेनन ।

चार वर्ष पढाई रोक्नुपर्यो

सामान्य किसान परिवारमा जन्मिएका कृषको उतिबेलाको कृषि पेशा निर्वाहमुखी मात्र थियो । ठूलो परिवार भएकाले सबै भाईबहिनीलाई पढाई खर्च पुर्याउन समस्या थियो । अनि उनले एसएलसी पास भएरपनि चार वर्ष आफ्नो पढाई रोक्नुपर्यो । उनले बोकेको लक्ष्य पूरा गर्ने योजना खुम्चिदै गयो । सानोमा बोकेको लक्ष्य पूरा गर्नलाई शारिरीक परिश्रम समेत उनले गर्नुपर्यो ।

तर उनले आफ्नो पढाईलाई बिर्सिएनन । घरमै बसेर भएपनि उनले स्वध्ययन गरिरहे । अनि २०४६ सालमा सुर्खेतमा आए । सुर्खेतमा आएर खरिदार पदमा विज्ञापन खुलेको थियो, पोख्रेलले पनि दरखास्त दिए । भनेअनुसारको तयारी नपुगेर होला उनले पहिलो पटकमा नाम निकाल्न सकेनन ।

पढाइको निरन्तरता

सुर्खेत आएका उनी घरमा नगएरै यतै पढ्ने योजना बनाए । एसएलसी पास भएपछि ४ वर्ष रोकिएको पढाईलाई फेरि निरन्तरता दिने गरी तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आइकम पढ्न शुरु गरे । वि.सं. २०५० सालमा आइकम पासपनि भए । सामान्य खर्चमा आन्तरिक व्यवस्थापन गर्दै उनले व्याचलर पढ्न शुरु गरे । शिक्षा क्याम्पसमा भर्ना भएका उनले शिक्षा संकायमा पढ्न शुरु गरे ।
क्याम्पस पढ्दै लोकसेवाको तयारी

पोख्रेलले आफ्नो पढ्ने वातावरण जेनतेन तयार गरे । अनि व्याचलर पढ्दै लाेकसेवा  तयारीपनि गरे । बिहान कलेज जाने अनि दिनभर काेठामा  बसेर उनले लोकसेवाको तयारी गर्थे । पढाईप्रति उनको लगाव धेरै थियो । चौबीस घण्टाको एक दिनमा १० घण्टाभन्दा बढि त उनको किताब र पढाईमै बित्थ्योे । त्यसरी पढ्दै गएपछि पोख्रेलमा हिम्मत बढ्यो ।  अन्य काममा ध्यानै नदिएर आफ्नो लक्ष्य पूरा गर्नेगरी निरन्तर लागि रहे ।

सरकारी सेवामा प्रवेश

वि.संं २०५१ सालमा व्याचलर पढ्न शुरु गरेका पोख्रेल क्याम्पसको पढाईसँगै लोकसेवाको तयारीमा निरन्तरपनि लागिरहे । अनि लोकसेवाले नायव सुब्बा पदमा केहि कर्मचारी माग गरेको थियो । उनले दरखास्त दिए, अनि त्यसमै ध्यान दिइरहेका उनले जसरी पनि नाम निकाल्न सक्छु भन्ने अठोट गरे । त्यसपछि परिक्षा दिए । २०५३ सालमा नायब सुब्बामा नाम निकाल्न सफलपनि भए ।

अनि जिल्ला हुलाक कार्यालय मु्गुमा पोष्टिङ भए । साढे ४ वर्र्षसम्म जिल्ला हुलाक कार्यालयमा काम गरेका पोख्रेल सरुवा भएर त्यतिबेलाको क्षेत्रीय हुलाक निर्देशनालय सुर्खेतमा आए । त्यसपछि जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय जाजरकोटमासमेत कामका सिलसिालमा पुगेका पोख्रेल २०६६ सालमा अधिकृतमा बढुवा भए ।

वि.संं २०७० सालमा तत्कालिन गाविसको कार्यालय छिञ्चुमा आए । अनि केहि समय मालपोत कार्यालय कैलालीमा काम गरेका उनी मालपोत कार्यालय मेहेलकुना सुर्खेतमा सरुवा भए । २०७८ चैत ६ गतेदेखि भेरीगंगा नगरपालिका सुर्खेतमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत पोख्रेल अहिलेपनि उत्तिकै सक्रियताका साथ सेवामा खटिएका छन ।

जीवनमा संघर्ष

सानैदेखि संघर्ष गर्दै आएका पोख्रेलले आफ्नो लक्ष्य पूरा गर्न आफ्नो ध्यानभरी पढाईमा दिए । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले चार वर्ष पढ्न पाएनन । तर उनले घरमा स्वअध्ययन भने गरिरहे । जीवनमा धेरै संघर्ष र चुनौतीको सामाना उनले गर्नुपर्यो । घर व्यवहार चलाउनुपर्ने जिम्मेवारी पनि थपिदै गयो । सबै चुनौतीहरुलाई सामना गर्दै उनले आफ्नो लक्ष्य पूरा गरिछाडे ।

जीवन भनेको संघर्ष नै हो, उनी भन्छनः मेहेनत गरे अवश्य नै सफलता प्राप्त हुन्छ । उनले आफ्नो भावी जीवनमा यहि नै गर्छु भन्ने योजना नबनाएपनि भविष्यमा कृषि क्षेत्रलाई व्यवसायिक गराउन पहल गर्ने र धेरै मानिसहरुलाई स्वरोजगार बनाउने उनको योजना छ ।

तपाईको प्रतिक्रिया