“कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्छौं”

दामोदर आचार्य/अध्यक्ष

कनकासुन्दरी गाउँपालिका, जुम्ला

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचनबाट नयाँ जनप्रतिधिहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । भने जनप्रतिनिधिहरु पनि त्यही अनुसारका बाचा गरेर जनताबाट अनुमोदित भएका छन् । स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम र बजेट पनि ल्याइसकेका छन् ।

जनप्रतिनिधिहरु कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् । शिक्षा, स्वास्थ्य र रोजागरी सिर्जना गर्न कस्ता योजना बनाएका छन् त ? यीनै विषयमा केन्द्रीत रहेर जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाई हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
आर्थिक बर्षको अन्तिम भएको हुँदा विकासका कामको समिक्षा र आगामी आर्थिक बर्षका योजना कसरी सम्पन्न गर्ने भन्ने सन्र्दभमा व्यस्त छु ।

नीति, कार्यक्रम र बजेट पनि ल्याइसक्नुभएको छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?
हाम्रो पालिका शिक्षा स्वास्थ्यमा केही रुपमा अहिले पनि पछाडी छ । यहाँको शिक्षा स्वास्थ्यको अवस्था सुधार गर्नुपर्ने छ । त्यससँगै कृषि र पशुपालनको सम्भावना हुँदा हुँदै पनि मानिसहरु अहिले पनि निर्वाहमुखी कृषि पशुपालन गरिरहेको अवस्था छ । यसका लागि हामीले विशेष गरेर शिक्षा, स्वास्थ्य र कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका छौ ।

यसअघिका जनप्रतिनिधिहरुले प्रतिवद्धताअनुसारको सबै काम पुरा गर्न नसकेको गुनासो छ, तपाईले त्यस्ता जनगुनासो नआउनेगरी आफ्ना प्रतिवद्धता कसरी पु्रा गर्नुहुन्छ ?
पहिलेका जनप्रतिनिधिहरुले आफ्नो प्रतिवद्धताअनुसारको काम गर्न नसकेको गुनासो आयो होला । हामी भने त्यस्तो गुनासो नआउने गरी हामी काम गर्छौ । त्यसको लागि हामीले पालिकामा रहेका राजनितिक दल, बुद्धिजिवी, समाजसेवीहरुका राय सल्लाह लिएर काम अगाडी बढाएका छौं ।

अर्को तपाईले भनेको अनुसार मैले निर्वाचन ताका गरेका प्रतिवद्धता पुरा गर्ने गरी नै योजना निर्माण गरिएको छु । मैले गर्न सक्ने कामको बारेमा मात्र जनतालाई भनेको छु, त्यही अनुसार अगाडी बढ्छु । हामीले गरेका प्रतिवद्धता भनेको शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा हो । ति काम हामीले अनुभुती हुनेगरी हाम्रो कार्यकालमा गर्छौ ।

विपद् व्यवस्थापन प्रतिकार्य योजना के बनाउनुभएको छ ?
हाम्रो कनका सुन्दरी गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धी विगतकै सरकारको पालामा कार्यविधि बनाइसकेका छौं । हिजो मात्रै यस विषयमा बैठक बसेर आउन सक्ने सम्भावित विपद्का घटनाबाट हुन सक्ने जोखिम कम गर्न पूर्व तयारी योजना बनाएका छौं । घटना भइहाले तत्काल राहतका प्याकेजहरु पनि हामीले ल्याउने योजना बनाएका छौं ।

कृषि उत्पादनमा वृद्धि, त्यसको बजारिकरण कसरी गर्नुहुन्छ ?
हाम्रो गाउँपालिका कृषि र पशुपालनको लागि उपयुक्त रहेको छ । त्यसैलाई मध्यनजर गरेर वडा नम्बर १, २ र ३ भेडा पालनको लागि उपयुक्त छ । यी वडाहरुमा भेडापालन पकेट क्षेत्र बनाएर हामीले किसानलाई प्रोत्साहित गर्नेगरी योजना बनाएका छौं ।

अर्कोतर्फ ओखर, सिमी आलुको लागि पनि हाम्रो पालिका उपयुक्त भएकाले उत्पादन बढाउन किसानलाई अनुदानका कार्यक्रमसहित बिऊ पनि उपलब्ध बनाउने हाम्रो योजना छ । तपाईले भनेजस्तै बजारिकरणको भने यहाँ धेरै समस्या रहेको छ । बजारिकरण गर्नको लागि हामीले प्रदेश सरकारसँग समन्वय गरेर यहाँको उत्पादन बाहिर निर्यात गर्ने छौं । मैले आफ्नो घोषणापत्रमा पनि यीनि कुराहरुमा विषेश जोड दिएको छु ।

रोजगारी सिर्जना गर्ने तपाईका योजना के हुन ?
बेरोजगारी समस्या हाम्रो पालिकाको मात्र समस्या होइन । यो देशभरकै समस्या हो । तथापी हामीले कृषि र पशुपालनमा नै आम युवाहरुलाई आकर्षित गर्ने र स्वरोजगार बनाउने योजनामा छौ । मैले अघि भनेजस्तै कृषि र पशुपालनको पकेट क्षेत्र घोषणा गरेर त्यहाँ नागरिकहरुलाई यसतर्फ आकर्षित गर्ने र बजारको ग्यारेन्टी गरेर सबैलाई गरिखाने गराउने योजना हो । त्यसको अलावा विभिन्न सीपहरु सिकाएर पनि उनीहरुको सीप बजारमा बिकाउ हुने जनशक्ती उत्पादन गरेर रोजगारी दिने हाम्रो योजना छ ।

शिक्षाको गुणस्तर र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच कसरी पुरयाउनुहु्न्छ ?
हाम्रो नीति कार्यक्रम र बजेटको प्राथमिकतामा नै शिक्षा, स्वास्थ्य रहेको छ । हामी निर्वाचित हुन वित्तिकै, अविभावक शिक्षक, विद्यार्थीहरुसँग अन्तरक्रिया गर्यौ । हामीले शिक्षामा रहेका विक्रितिहरु अन्त्य गर्ने छौ । र दरबन्दीअनुसारको शिक्षक तय गरिने छ ।

विद्यार्थीरुलाई विद्यालय बाहिर नजाउन भन्नको लागि हामीले ५० रुपैयाँ बराबरको खाजा दिने दिने निर्णय गरेका छांै । स्वास्थ्य क्षेत्रमा पनि हामीले १५ शैयाको अस्पताल निर्माण गर्दै छौ भने सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनेगरी अन्य काम पनि गर्ने छौ ।

तपाईको प्रतिक्रिया