सम्पादकीय : २० बर्ष बित्यो अब ध्यान पुगोस्

सुर्खेत उपत्यकाको प्रमुख राजमार्ग रत्नराज मार्ग सुर्खेत–नेपालगञ्ज सडक खण्ड निर्माण तथा स्तरोन्नती संगै ट्याक खोलिएको भेरीपुल (समझिघाट)– बामेखोला जोडने मोटरबाटो २० बर्षदेखि अलपत्र अवस्था रहेको छ । साविक लाटीकोइली गाउँ विकास समिति हुँदा वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट आएका जनप्रतिनिधि, जिल्ला विकास समितिको समन्वय, सहकार्य र विश्व खाद्य कार्यक्रमबाट खाद्यान्नका लागि काम कार्यक्रममार्फत बाटो खनिएको थियो ।

स्थानीयबासीन्दालाई रोजगारी सृजना गरी काममा लगाएर खाद्यान्न वितरण गर्ने उद्देश्यले ट्याक खोलियो तर लामो समयसम्म सुधार भने हुन सकेन । भेरीपुलबाट सुव्वाकुना–धुलियाविट हुँदै बजार आउनुभन्दा करिव ५ किलोमिटर दुरी कम हुने यो बैकल्पिक मार्ग यहाँबाट निर्वाचित जनप्रतिनिधिहरुको चिन्ता र चासोको विषय कहिल्यै बनेन् । यही निर्वाचन क्षेत्र र मतदाताको मतबाट विजयी भएका नेपाली काँग्रेसका नेता हृदयराम थानी, एमाले नेता यामलाल कँडेल, नवराज रावत संघीय सांसद तथा मन्त्री भए तर यो विषय प्राथमिकतामा कहिल्यै परेन ।

देश पुर्नसंरचना भएर तीन तहका शक्तिशाली स्थानीय, प्रदेश र संघका सरकार निर्माण भए यो बाटोले कहिल्यै प्राथमिकता पाएन । विगतमा गाउँ विकास समिति, जिल्ला विकास समिति र हाल वडा हुँदा बार्षिक केही बजेट विनियोजन गरेर ग्राबेल छर्ने, मर्मत, सुधार, अवरुद्ध भएको खण्ड खुलाउने कार्य भैरहेका थिए । यो सडक स्थानीय राजनीतिक दल र नेताहरुको विकासको मुद्धा बनेन् । अब पहल लिन आवश्यक छ । स्थानीय स्तरबाट केही चिन्ता र चासो देखाइएपछि वडामा खबरदारी गरिएको छ । नगरपालिकामा यस विषयले प्रवेश पाएको छ भने प्रदेश र संघबाट केही बजेट विनियोजन गरेर झिनो आशा पलाएको छ ।

सुर्खेत उपत्यका भित्रिनै एउटा बैकल्पिक मार्ग मात्रै नभएर यो सडक अब उपत्यकाको आवश्यकता पनि बनेको छ । मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायको भौतिक संरचना निर्माण भएको छ । इन्जिनियरिङ क्याम्पससम्म पुग्ने र वरीपरीको केही सडकको स्तरोन्नती गरेर पक्की बनाइएको छ । सानोसुर्खेत र बामेखोलाको विकासका लागि विश्वविद्यालय कोशेढुङ्गा बनेको छ । विश्वविद्यालय इन्जिनियरिङ सङ्काय ल्याउनका लागि यस क्षेत्रका नागरिकले ठुलो योगदान गरेका थिए ।

करिव २२ कठ्ठा स्थायी दर्ता जग्गा खरिद गरेर विश्वविद्यालयको नाममा पास गरेपछि विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायको भवन निर्माणले गति लियो । विश्वविद्यालय निर्माण हुन थालेपछि सडक तथा नालाको स्तरोन्नती गरियो । सडक स्तरोन्नती हुँदा यहाँको कृषि तथा पशु उत्पादनले बजार पाएको छ । बेमौसमी तरकारी उत्पादनबाट जिविकोपार्जन गरिरहेका यहाँका न्यून तथा मध्यम स्तरका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ ।

कर्णाली प्रदेश सरकाले आउँदो आर्थिक बर्षका लागि बामेखोला–भेरी सडकखण्डका लागि ४० लाख रुपैयाँ र संघबाट ५० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रममा यस सडक खण्डलाई समेत समेट्दै प्रदेश सरकारले ‘बामेखोला देखि भेरी पुलसम्म जोड्ने सडक स्तरोन्नती’ का लागि ४० लाख रुपैयाँ विनियोजन गरेको हो । यसमा स्थानीय तह, प्रदेश र संघको सहलगानीको वातावरण बनाएर यस सडकको स्तरोन्नती गर्न आवश्यक छ ।

यस अघि मध्यपश्चिम क्षेत्रीय सडक डिभिजन कार्यालय हुँदा यो सडकको वातावरणीय प्रभाव मुल्याङ्कन (आइइइ) अध्ययन समेत भएको छ । यसको अध्ययन रिपोर्ट सम्बन्धित कार्यालयमा सुरक्षित होला । यसको खोजी गर्दै वीरेन्द्रनगर–१० वडा कार्यालयले निर्माण गरेको डिपिआर अनुसार ७.३ किलोमिटर लम्बाईको उक्त सडकको स्तरोन्नती नाला बाहेक १२ मिटर चौडाईको बनाउँदा करिव १७ करोड खर्च लाग्ने अनुमान गरिएको छ । भेरीबाट सिंधै बामेखोला हुँदै तिनकुने चोक जोडने सडक निर्माण तथा स्तरोन्नती भए वीरेन्द्रनगर नगरको दक्षिणी क्षेत्रको विकासमा गतिविधि बढ्नेछ भने सुर्खेत उपत्यकाको सुन्दरता, भौगोलिक विकासको सन्तुलन, रत्नराजमार्गको वैकल्पिक मार्ग, सुर्खेत विमानस्तर दक्षिणतर्फ विस्तार हुँदा उपयुक्त विकल्प बन्न सक्नेछ ।

तपाईको प्रतिक्रिया