व्यापारीबाट कम्प्यूटर अप्रेटर हुँदै सहायक सिडियोसम्म

हरि देवकोटा
प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, सुर्खेत ।

जसले जीवनमा संघर्ष गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, चुनौतीको सामाना गर्दै आफ्ना अल्पकालिन आवश्यकता भन्दा दिर्घकालिन सोच राख्ने व्यक्तिनै समाजको सफल व्यक्ति बन्ने गरेको उदाहरणहरु छन् । यस्तै मध्यका एक हुन जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हरि देवकोटा । उनले सानैदेखि मेहेनत गरे ।

आफ्नो सिर्जनशिलतासँगै पढाईलाई प्राथमिकता दिए । व्यापार गर्दै पढ्दै गरेका उनले उनले लोकसेवा आयोगको तयारी पनि गरे । लोकसेवा आयोगको परीक्षामा पहिलो पटक सहभागी भएका उनी सफल बने ।

अहिले देवकोटा जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रशासकीय अधिकृत पदमा रहेका छन् । आजको राष्ट्रसेवकमा उनै देवकोटासँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सिर्जनशिल बाल्यकाल
बुवा धन प्रसाद देवकोटा र आमा याम कुमारी देवकोटाको कोखबाट २०३८ फागुन ६ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ चनौटेमा हरि देवकोटाको जन्मभयो, उनी घरको जेठो छोरा ।

देवकोटाका ६ भाईबहिनी थिए । उनको बुवा शिक्षक भएकाले पनि बाल्यकालदेखि नै उनले खासै अभाव खेप्नु नपरेपनि मेहेनत भने धेरै गर्थे । उनको बाल्यकाल पनि चनौटेमा बित्यो । उनले कक्षा एकदेखि नै अमरज्योती नमूना माध्यमिक विद्यालयमा पढे ।

त्यही माविबाट २०५४ सालमा एसएलसी पास गरे । सहयोगी स्वभावका उनी साथीहरुसँग मिलनसार थिए । सानैदेखि उनी सिर्जनशिल थिए । उनले घरको सबै काम गर्न जानेका थिए । घरको काम गर्दै पढ्दै गरेका उनले आफ्नो प्राथमिकता पढाईलाई दिन्थे ।

कक्षामा कहिले फेल भएनन्
हरि कहिले पनि आफ्नो कक्षामा फेल भएनन् । उनी घरमा पनि उत्तिकै काम गर्थे । साथीहरुसँग पनि खेल्थे भने राती ११ बजेसम्म पढ्थे । बिहान पाँच बजे उठेर फेरी पढ्ने गर्थे भने घरको सबै काम जानेका उनले काम गरेर विद्यालयमा पढ्न जान्थे । उनी कक्षामा कहिले पनि फेल भएनन् । गुरुहरुले पनि उनलाई धेरै राम्रो मान्थे ।

व्यापारी बन्ने लक्ष्य
देवकोटा सानैदेखि सिर्जनशिल स्वभावका थिए । उनले कम्यूटरसम्बन्धी राम्रो दख्खलता राख्थे । अनि उनले आफ्नो लक्ष्य अनुसारकै व्यापार गर्न थाले । कम्प्यूटर सम्बन्धीका काम गर्नेगरी उनले वीरेन्द्रनगरमै व्यापार थाले ।

बिहान क्याम्पस जाने र दिउँसो व्यापार गर्ने उनको दैनिकी थियो । आफ्नो व्यापारमा उनले तीन जनालाई रोजगारी समेत दिएका थिए । व्यापार गरेपनि उनले आफ्नो पढाईलाई भने प्राथमिकता दिन्थे ।

उनले त्यतिबेला तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आईकम पढ्दै थिए । देवकोटाले व्यापार गर्दै पढ्दै गरेका थिए । त्यसरी नै आइकम सके । अनि विविएस पढ्दै थिए ।

घरमा भने शिक्षक बन्नुपर्छ भनेर भन्ने गर्थे । घरमा शिक्षकै बन्नुपर्छ भन्ने छैन भनेर बुवा आमालाई कन्भिन्स गर्थे । तर उनले आफ्नो काम र पढाईलाई नछोडेर आफ्नो लाइनमा लागिरहे । संघर्ष गरिरहे ।

कम्प्यूटर व्यापारले लोकसेवा तयारीमा सहयोग
गाउँमा सबै निजामती सेवामा थिए । गाउँमा मानिसहरुले सरकारी जागिरी खान उनलाई सुझाव दिन्थे । घरमा पनि जागिरी खानुपर्छ भनेर भन्थे । उनले सबैको सुझावको आधारमा निजामती सेवाको जागिरी खाने सोच बनाए । आफ्नो लक्ष्य परिवर्तन गरे ।

अनि उनले कम्प्यूटर अप्रेटरको जागिरीको लागि तयारी गरे । उनको व्यापार पनि कम्प्यूटर सम्बन्धीको भएको हुँदा उनलाई अप्रेटरको तयारी गर्न पनि सहज भयो । एक हिसाबले भन्दा व्यापारले लोकसेवा आयोगको तयारी गर्न मद्दत पुग्यो ।

लोकसेवाले लिने कम्प्यूटर अप्रेटरमा परीक्षा दिएको पहिलो पटकमा नै उनले २०६१ सालमा नाम निकाल्न सफल भए । त्यसपछि जाजरकोट निर्वाचन कार्यालयमा कम्प्यूटर अप्रेटर भएर पोष्टिङ भए । त्यहाँबाट सरुवा राजस्व कार्यालय नेपालगञ्जमा गएर केही समय काम गरे ।

सहायक सिडियो
काम गर्दै जाँदा उनी बढुवा भएर कारगार कार्यालय सुर्खेतमा जेलरको रुपमा काम गरे । काम गर्दै जाँदा दैलेख र जाजरकोटमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाए । सामान्य परिवारबाट उनी सहायक सिडियोसम्म भए ।

अहिले देवकोटा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन् । मेहेनत र परिश्रमले मानिसलाई ठुलो स्थानसम्म पुर्याउने उनको अनुभव छ ।

जीवनमा संघर्ष
उनको परिवार सामान्य थियो । उनले सानैदेखि संघर्ष गर्दै पढ्दै गरेका हुन । घरको काम गरेर ए विद्यालय शिक्षा लिन जान्थे । घरको पहिलो सन्तान भएकोले आफ्ना आवश्यकताहरु भाई बहिनीहरुलाई पनि बाँड्नुपथ्र्यो ।

जतिनै दुख गरेपनि उनले आफ्नो पहिलो प्राथमिकता पढाईमा दिन्थे । व्यापार गर्दै पढ्दै गरेका उनी हरेक काममा सिर्जनशिलता प्रयोग गर्थे । आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । यी सबै कुरालाई व्यवस्थापन गर्दै उनले लोकसेवाको तयारी गरेर नाम निकाले ।

अनि सहायक सिडियोसम्म बने । अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् । उनी भन्छन जीवनमा सफलता प्राप्त गर्न संघर्ष गर्न आवश्यक छ । पढाईलाई पनि उत्तिकै चासो दिनुपर्छ । निजामती सेवामा रहेका उनले कृषि क्षेत्रमा लागेर व्यवसायिक कृषि गर्दै आफु मात्रै होइन अरुलाई पनि आत्मनिर्भर बनाउने योजनामा छन् ।

तपाईको प्रतिक्रिया