शिक्षक असफलताले शाखा अधिकृतको यात्रा

सुनिता खत्री
शाखा अधिकृत, हुलाक निर्देशनालय, सुर्खेत ।

जसले जीवनमा मेहेनत गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, जस्तोसुकै चुनौती आएपनि आफ्नो लक्ष्य पुरा गर्न पछाडी नहट्ने मानिसनै समाजको सफल व्यक्ति बन्न सक्छन । यस्तै मध्येका एक हुन हुलाक निर्देशनालयका शाखा अधिकृत सुनिता खत्री । उनले सानैदेखि धेरै मेहेनत गरिन । पढाईलाई पहिलो प्राथमिकता दिइन । शिक्षक जागिरी छोडेर लोकसेवा पढिन । अनि शाखा अधिकृतसम्म बन्न सफल भइन । आजको राष्ट्रसेवकमा उनै खत्रीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सामान्य बाल्यकाल
बुवा भक्तिराम खत्री र आमा मातादेवी खत्रीको कोखबाट वि.स.२०४५ साल असार १९ गते दैलेखको दुल्लु नगरपालिका–८ घ्यातिदुमा सुनिता कुमारी खत्रीको जन्म भएको हो । उनी घरको पहिलो सन्तान हुन । उनका ३ बहिनी दुई भाई रहेका छन् । उनको बुवाको कृषि र व्यापार गर्थे । सामान्य परिवारमा जन्भिएकी सुनिताको बाल्यकाल गाउँमै बित्यो । उनले सानो कक्षा महादेव प्राविबाट शुरु गरेकी हुन ।

पाँच कक्षासम्म त्यहि विद्यालयमा पढेकी उनले ६ र ७ कक्षा धुलेश्वर संस्कृत मावि चगर्तामा पढिन । ८ कक्षादेख भने विजया उच्च मावि दुल्लुमा पढेकी सुनिताले त्यहि माविबाट २०६० सालमा एसएलसी पास गरिन । घरको काम गर्दै उनले विद्यालय जानुपथ्र्यो । साँझ बिहान घरको घाँस, दाउरा काटेर एक घण्टा हिडेर विद्यालय जानुपथ्र्यो । कम बोल्ने स्वभाव र सबैसँग मिलनसार स्वभावकी थिइन सुनिता ।

मट्टीतेलबाट बत्ती बालेर पढ्थिन
सुनिताले धेरै दुखले पढेकी हुन । उतिबेला अहिलेको जस्तो विद्युत पनि थिएन । अन्य बैकल्पिक उर्जाका श्रोतहरु पनि आइसकेका थिएनन । अनि उनको बुवाले बजारबाट मट्टीतेल किनेर ल्याउथे । त्यही तेलमा धागो हालेर बत्ती बनाएर पढ्थिन ।

राती ११ बजेसम्म पढ्ने उनले बिहान पाँच बजे उठेर पँधेरोमा गएर पानी ल्याएर फेरी पढ्थिन । अनि बिहानको नास्ता खाएर फेरी घरको काम गरेर विद्यालय जान्थिन । यसरी नै उनले आफ्नो प्लस टु सम्मको पढाई पुरा गरिन । कक्षामा सधै उत्कृष्ट नम्बर ल्याउने उनले आफ्नो पहिलो प्राथमिकता पढाइलाई दिन्थिन । उनले द्रोर्णाचल क्याम्पस दैलेखबाट व्याचलर गरेकी हुन ।

शिक्षक बन्ने लक्ष्य
गाउँमा त्यतिबेला पढाएर शिक्षक बनाउनुपर्छ भन्ने सोच थियो । जागिरीका अन्य विकल्प पनि थिएनन । उनले पनि शिक्षक बन्ने नै लक्ष्य लिएकी थिइन । अनि त्यहि अनुसार शिक्षा सङ्कायमा नै सुनिताले व्याचलरसम्म पढिन । अनि गाउँको आफुले पढाएको विद्यालयमा नीजि श्रोतमा शिक्षक भएर ४ बर्ष पढाइन । उनी शिक्षक बन्ने लक्ष्यका साथ लागिन तर परिस्थिति परिवर्तन भयो ।

अनि लोकसेवामा लागिन
उनले पढाइरहेको विद्यालयमा राहत दरबन्दी शिक्षकमा दरखास्त खोलियो । त्यही राहत शिक्षकको लागि उनले पनि आफ्नो योग्यताअनुसार दरखास्त हालिन । तर सुनिताको पास हुन सकिनन । उनलाई सुनियोजित ढङ्गले फेल बनाइएको महशुस भयो । राहत शिक्षकमा नाम ननिस्कनु उनको लागि अवसर बन्यो ।

उनले नीजि स्रोतमा नै केही समय पढाइन । त्यसपछि दैलेखकै एउटा संस्थामा काम गर्ने अवसर मिलेको थियो तर उनीले काम गरिनन् । उनको श्रीमान निजामती कर्मचारी थिए । उनले लोकसेवातिर लाग्न प्रेरणा दिए । अनि उनले लोकसेवाको तयारी शुरु गरिन ।

लोक सेवा तयारी गर्न लागेको करिब एक बर्षपछि सुनिताले नायब शुब्बामा नाम निकाल्न सफल भइन । नाम निकालेर तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालयमा पोष्टिङ भईन । निजामती सेवामा लाग्ने प्रेरणा उनको श्रीमानले दिएका थिए ।

त्यसपछि शाखा अधिकृत भइन
नायब सुब्बामा काम गर्दै गर्दा उनले शाखा अधिकृतको समेत तयारी गरिन । सुनिता जुन काममा लाग्छिन त्यो काम पुरा गर्नैपर्ने सोच राख्छिन । अनि २०७३ सालमा शाखा अधिकृतमा नाम निकालेर दैलेखको गुराँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर गईन ।

त्यसपछि त्यहाँबाट सरुवा भएर उनी ललितपुर महानगरपालिका हुँदै सञ्चार तथा सुचना प्रविधि मन्त्रालय गइन हाल हुलाक निर्देशनालय सुर्खेतको शाखा अधिकृत भएर काम गरिरहेकी छन् । उनले जीवनमा धेरै संघर्ष र मेहेनत गरेर यो स्थानमा आएकी हुन ।

जीवनमा संघर्ष
उनको परिवार सामान्य थियो । सबै कुरा गुजारामा चलाउनुपर्ने हुन्थ्यो । उनले सानैदेखि संघर्ष गर्दै पढ्दै गरेकी हुन । घरको काम गरेर एक घण्टाको दुरीमा हिडेर विद्यालय शिक्षा लिन जान्थिन । घरको पहिलो सन्तान भएकोले आफ्ना आवश्यकताहरु भाईबहिनीहरुलाई पनि बाँड्नुपथ्र्यो ।

जति नै दुख गरेपनि उनले आफ्नो पहिलो प्राथमिकता पढाईमा दिन्थिन । बिवाहपछि घरपरिवार सम्हाल्नुपर्ने एकातिर थियो । आफ्नो पढाई पुरा गर्नुपर्ने अर्कोतिर थियो । जीवनलाई सहज बनाउन उनले धेरै मेहेनत गर्नुपर्यो ।

सुनिताले यी सबै चुनौतीलाई सामाना गर्दै सफलतामा पुगिन । अहिले उनी शाखा अधिकृत पदमा हुलाक निर्देशनालय सुर्खेतमा छन् । उनी भन्छिन जीवनमा सफलता प्राप्त गर्न संघर्ष गर्न आवश्यक छ ।

निजामती सेवामा रहेकी सुनिताले निम्न वर्ग र असाय वालवालिका जसले पढ्ने क्षमता राख्छन तिनिहरुको पढाई बनाउन एउटा कोष बनाएर सहयोग गर्ने योजनामा छन् । उनको आगामी योजना भनेको समाज सेवा गर्ने रहेको छ ।

तपाईको प्रतिक्रिया