संघर्षबाट उदायका प्रधानाध्यापक रामजाली

महेन्द्र रामजाली/प्रधानाध्यापक
भैरव प्रावि गुराँस गाउँपालिका वडा नं. २, लम्चुडी, दैलेख ।

संघर्ष गरेर जसले आफ्नो पढाईलाई पहिलो प्राथामिकता राख्छ त्यो व्यक्ती सफल हुन्छ । अभाव र चुनौतीलाई सामना गर्दै अगाडी बढ्ने व्यक्ति सफलताको शिखरमा पुग्दछन् । यस्तै मध्येका एक हुन भैरव प्रावि गुराँस गाउँपालिका–२ दैलेखका प्रधानाध्यापक महेन्द्र कुमार रामजाली ।

सानैदेखि मेहेनत र संघर्ष गर्दै आएका उनले सबैतिरका चुनौतीको सामाना गर्दै संघर्ष गरे । उनले अबसर पनि भेट्टाए । शिक्षक बनेका उनी गाउँको विद्यालयको प्रधानाध्यापक हुन सफल भए । आजको राष्ट्रसेवकमा उनै रामजालीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सामान्य बाल्यकाल
बुवा नर बहादुर रामजाली र आमा गणेश कुमारी रामजालीको कोखबाट वि.सं. २०३२ साल चैत २ गते दैलेखको गुराँस गाउँपालिका वडा नं. २ पुरैनी टोलमा महेन्द्र कुमार रामजालीको जन्म भएको हो । उनी घरको पहिलो सन्तान हुन ।

उनका दुई बहिनीहरु रहेका छन् । उनको बाल्यकाल भने गुराँस गाउँपालिका वडा नं. ४ को डबल गैरामा बितेको हो । उनले सानो कक्षा लक्ष्मी नेराप्रावि गाइबान्नामा पढे ।

पाँच कक्षासम्म त्यही विद्यालयमा पढेका उनले ६ र ७ कक्षा अहिलेको लक्ष्मी मावि रतिखोलामा पढे । ८ कक्षादेखि भने सिता जनसहयोग मावि डुङ्गेश्वर गाउँपालिका अवलपराजुलमा पढे ।

त्यही माविबाट २०४९ सालमा उनले एसएलसी पास गरेका रामजालीको बुवाले कृषि पेशा गर्थे । सामान्य आर्थिक अवस्थाका कारण घरको साँझ, बिहान घरको काम गर्दै पढ्नुपथ्र्यो । ८ कक्षा पढ्दादेखि नै बाहिर बसेका उनले घरबाट खाने कुरा बोकेर दाउरामार्फत बनाएर खान्थे ।

दियालो बालेर पढ्थे
उनले माध्यमिक तहसम्म पढ्दा धेरै दुख गरेर पढे । त्यतिबेला विद्युत नहुँदा सल्लाको दियालो बालेर उनले पढ्थे । दिनभर विद्यालय पढेर उनी कहिले काँही चार घण्टा हिडेर घरमा जान्थे । घरमा जाँदा पनि घरको सबै काम सकेर पढ्न आइपुग्थे ।

सानैदेखि पढाईलाई प्राथमिकता दिने गरेका रामजालीले राती ११ बजेसम्म पढ्थे । बिहान ५ बजे उठ्थे । कोठा लिएर बसेको हुँदा पानी बोकेर ल्याउनुपर्ने, खाना बनाउनुपर्ने लगायतका सबै काम गरेर अनि विद्यालय जानुपथ्र्यो । सबै ठाउँमा विद्यालय पनि खुलिसकेका थिएनन । अनि सानो कक्षा पढ्न पनि घरभन्दा बाहिर जानुपरेको थियो ।

पढाउँदै पढ्दै
एसएलसी पासपछि उनले एउटा संस्थामा जागिरी पाए । त्यतिबेला एसएलसी पास गरेका व्यक्तिहरु धेरै हुन्थेनन अनि उनले जागिरी पाएपछि २ बर्ष उक्त संस्थामा जागिरी गरेका उनले आफ्नो पढाई खर्च बनाइसकेपछि २०५३ सालमा सुर्खेतको साविक वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भए । पढाईलाई पहिलो प्राथमिकता राख्ने उनले व्यवस्थापन सङ्काय अन्तरगत आइकम पढे ।

उनले २०५५ सालमा आइकम पास गरे । अनि उनले शिक्षकको जागिरी पाए । गुराँस गाउँपालिका वडा नम्बर २ मा रहेको भैरव प्राथमिक विद्यालयमा अस्थायी दरबन्दीमा पढाउन थाले । घरको आर्थिक अवस्था पनि सामान्य थियो । सामान्य परिवारमा जन्मिएका पहिलो सन्तान रामजालीले सबै काम पुरा गरेर पढ्नुपथ्र्यो ।

शिक्षा सङ्काय पढे
आइकम गरेका रामजालीले आफ्नो जागिरी शिक्षकतर्फ भएपछि शिक्षा सङ्कायतर्फ पनि पढाई शुरु गरे । उनले सुर्खेत शिक्षा क्याम्पसमा आइएड् पढ्न शुरु गरे । उनले गाउँमा पढाउँथे भने परीक्षा दिन मात्रै क्याम्पस आउँथे । घरमै स्वअध्ययन गरेर पनि उनले आफ्नो पढाईलाई खस्किन दिएनन । २०५८ सालमा शिक्षा सङ्काय तर्फबाट आइएड् पास गरे उनले ।

अनि स्थायी शिक्षक भए
उनले अस्थायी दरबन्दीमा शिक्षक भएर काम गरिरहेका थिए । व्यवस्थापन र शिक्षा सङ्कायमा दुबैमा उनले प्रविणता प्रमाणपत्र उत्तिर्ण गरिसकेका थिए । अनि शिक्षक सेवा आयोगले शिक्षक माग गरी बिज्ञापन खोल्यो । शिक्षक सेवा आयोगको तयारी गर्दै पढाउँदै गरे रामजालीले ।

जुनसुकै काममा पनि मेहेनत गर्ने उनले आफ्नो पढाईलाई प्रमुखता दिन्थे । त्यही मेहेनतकै कारण २०६३ सालमा स्थायी शिक्षकमा उनले नाम निकाल्न सफल भए । उनी २०५५ सालमा अस्थायी शिक्षक भएर पढाइरहेको बिद्यालयमा स्थायी भएर काम गर्न थाले ।

राम्रो काम गरेपनि उनलाई आफैले पढाइरहेको भैरव प्रावि गुराँस गाउँपालिका २ लम्चुडीको प्रधानाध्यापक बनाईयो । सामान्य जीवनबाट उनी मेहेनत गर्दै प्रधानाध्यापकसम्म भए ।

जीवनमा संघर्ष
सानोदेखि नै संघर्ष गर्दै आएको उनले आफ्नो पढाईलाई नै पहिलो प्राथमिकता दिए । पढाई पुरा गरेर ठुलो मानिस बन्ने लक्ष्य एकातिर थियो । भने अर्कोतिर घर बुवापछिको जिम्मेवारी पुरा गर्नुपर्ने थियो ।

सामान्य परिवारमा रहेका उनले घरको जिम्मेवारी पुरा गर्नुपर्ने मात्र होइन बहिनीहरुलाई समेत पढाउनुपर्ने थियो । उनले अवसर पनि भेट्टाए । शिक्षक बनेका उनी प्रधानाध्यापकसम्म हुन पुगे । सामान्य परिवारबाट मेहेनत गर्दै उनी सफल व्यक्ति बनेका छन् । अहिले उनी सन्तुष्ट छन् । उनको आगामी योजना भनेको समाज सेवा गर्नेछ ।

तपाईको प्रतिक्रिया