अभिभाकहरु जागरुक भए शैक्षिक गुणस्तर सुधार्न सकिन्छ

भूपेन्द्र नेपाली प्रधानाध्यापक/सरस्वति माध्यमिक विद्यालय काँडासिम्ता, सुर्खेत ।

सिम्ता गाउँपालिकामा पर्ने सरस्वति माध्यमिक विद्यालय काँडासिम्ताका प्रधानाध्यापक हुन् भूपेन्द्र नेपाली । करिव दश बर्षदेखि उनी शिक्षण पेशामा आबद्ध छन् । शिक्षकको प्रेरणाका कारण यो पेशामा आबद्ध भएका हुन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्की रहेका बेला उनी भने शैक्षिक गुणस्तर सुधार्न अभिभावहरु बढी जिम्मेवार हुनुपर्ने बताउँछन् । शिक्षकले पढाएर मात्रै गुणस्तर नसुध्रिने भन्दै उनले अभिभावकले पनि शिक्षकले पढाए, नपढाएको हेरदेख गर्ने, विद्यार्थीलाई पढ्नमा प्रेरित गर्नुपर्ने बताउँछन् । प्रस्तुत छ : उनै भूपेन्द्रको जीवन भोगाई र शिक्षण पेशाको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश:

सुखद् बाल्यकाल
बुवा कर्णबहादुर र आमा प्रेमकुमारी नेपालीका जेठो छोरा हुन् भूपेन्द्र । सिम्ता गाउँपालिका वडा नं. ७ चोल्पामा विस २०४७ फागुन ११ गते उनको जन्म भएको हो । उनको बाल्यकाल समग्रमा सुखमय थियो ।

बुवा शिक्षण पेशामै आबद्ध भएका कारण उनलाई आर्थिक अभावहरु भोग्नु परेन् । कहिलेकाँही मेलापात र गाइगोठालो जानु सामान्य नै थियो । एक बेला आमा विरामी भएको समयमा भने घरायसी काममा धेरै नै घटिनु परयो ।

त्यो बेला अर्मपर्म र घरधन्दामा खटिए । ‘आमा विरामी हुँदा त मेलापातमा धेरै खटिएँ, त्यस बाहेक अभाव र दुख कहिलै झल्नु परेन’ उनी भन्छन्, ‘समग्रमा बाल्यकाल निकै सुखद् थियो ।’ मध्यम बर्गिय परिवारमा हुर्किएका उनले हाँस्दै खेल्दै बाल्यकाल विताए ।

असफलतादेखि हारेनन्
भूपेन्द्र मध्यस्तरिय विद्यार्थी हुन् । उनले जनकल्यान प्राथमिक विद्यालय कोटकाँडाबाट कखरा चिनेका हुन् । जनकल्यान प्रावि गाउँभन्दा झण्डै एक घण्टा टाढाको दुरीमा थियो ।

गाउँमै अर्काे विद्यालय पनि थियो । तर अधिकांश विद्यार्थीहरु जनकल्यानमै जान्थे । कारण, भूपेन्द्रका बुवा कर्ण जनकल्यानमा शिक्षक थिए । गाउँको शिक्षकले राम्रो पढाइदेला भन्ने आशकै कारण अधिकांशले अभिभावकले बालकालिकालाई नकल्यानमै पठाउँथे । उनले पनि जनकल्यानबाट प्राथमिक शिक्षा आर्जन गरे । कक्षा ५ सम्मको पढाई जनकल्यानबाट पुरा गरे ।

कक्षा-६ देखि १० सम्मको पढाई भने हिमालय माध्यमिक विद्यालय चोल्पाबाट पुरा गरे । दुर्भाग्य २०६२ सालको एसएलसीमा असफल भए । असफल भए पनि हिम्मत हारेनन् । पुनः दोस्रो प्रयासबाट २०६३ सालमा एसएलसी पास गरे ।

त्यसपछि उच्च शिक्षा अध्ययनका लागि वीरेन्द्रनगर झरे । तत्कालीन सुर्खेत क्याम्पस शिक्षा (सुर्खेत बहुमुखी क्याम्पस)बाट आइएट र विएड पास गरे । केही समय स्थायी शिक्षकको तयारी गरे । अहिले पनि उनी सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । पढाइसँगै भलिबल खेल्न विशेष रुचि राख्थे ।

‘भलिबल खेल्न खुब रुचि राख्थे तर अगाडि कक्षामा पढ्ने दाइहरुले पालो नै दिन्थेनन्’ उनी भन्छन्, ‘भलिबल खेल्न रुचि थियो तर चाहे अनुसार कहिलै खेल्न पाइएन् ।’ उच्च शिक्षा पढ्दै गर्दा निकै अप्ठेरो समय गुजार्नु परयो ।

२०६६/०६७ सालमा उनी जन्डिसका कारण थलिए । सँगैका साथीभाई नेपाल प्रहरी र आर्मीमा भर्तिहुँदा उनी शारीरिक रुपमा निकै कमजोर भइसकेका थिए । ‘जन्डिस लाग्दा धेरै दुःख भोग्नु प¥यो, अब केही गर्न सकिन्न कि भन्ने लागेको थियो’ उनले सुनाए ।

शिक्षकको प्रेरणाले शिक्षण पेशामा आएँ
भूपेन्द्रका बुवा पेशाले शिक्षक थिए । गाउँमा शिक्षकलाई निकै सम्मान गरिन्थ्यो । बुवासँगै अन्य शिक्षकहरुलाई गाउँ समाजले गरेको आदर र सम्मानले उनको मन छोयो । समाजले शिक्षकहरुलाई यही सद्भावले उनलाई पनि शिक्षक बन्ने प्ररणा जाग्यो ।

शिक्षक भएपछि जीवन चलाउन सहज हुन्छ र गाउँमै बसेर समाजको सेवा गर्न सकिन्छ भन्ने सोचे । ‘म पनि ठूलो भएपछि शिक्षक बनेर समाज सेवा गर्छु’ भूपेन्द्रलाई एक दिन यस्तै लाग्यो ।

बाल्यकालदेखि देखेको सपना पुरा गर्न २०६९ सालमा पुरा भयो । अस्थायी रुपमै भए पनि २०६०९ सालदेखि उनी शिक्षण पेशामा आबद्ध भए । माध्यमिक शिक्षा आर्जन गरेको हिमालय माध्यमिक विद्यालय चोल्पामा शिक्षण गरे ।

शिक्षण पेशामा भविष्य विताउने उद्देश्य बोकेर शिक्षक सेवा आयोगको तयारी गरे । नभन्दै २०७२ सालमा स्थायी शिक्षक बन्न सफल भए । स्थायी शिक्षक हुँदा जीवनमा सबैभन्दा धेरै खुशी भए । स्थायी जागिरको सुरुवात सत्यदेवि माध्यमिक विद्यालय जुविखा कालीकोट गरे । तर त्यहाँ उनले करिव तीन बर्षमात्रै अध्यापन गराए ।

२०७५ सालमा सरुवा भएर सिम्ता सरस्वति माध्यमिक विद्यालयल काँडासिम्ता फर्किए । २०७७ कात्र्तिकदेखि प्रधानाध्यपक भएर विद्यालयको नेतृत्व गर्दै आएका छन् । विद्यालयको नेतृत्व सम्हाल्दा धेरै चुनौति र थोरै अवसर भएको उनको बुझाई छ ।

शिक्षकको प्रेरणाकै कारण यो पेशामा आएका उनी शिक्षकहरुलाई सरकारले गरेको सौतेनी व्यवहारका कारण मन दुखाउँछन् । ‘शिक्षक भएर समाज सेवा गर्न सकिन्छ भनेर यो पेशामा आएको हुँ’ उनी भन्छन्, ‘तर शिक्षकलाई सरकार गरेको सौतेनी व्यवहार देखेर दुख लाग्छ ।’ शिक्षकलाई निजामति कर्मचराी सरह सेवा सुविधा नदिएर अपहेलना गरेको उनको बुझाई छ ।

शिक्षक एक्लैले गुणस्तर सुधार्न सक्दैन
भूपेन्द्र दश बर्षदेखि शिक्षण पेशामा आबद्ध छन् । आफू रहेको विद्यालयले राम्रो अंक ल्यावस् । विद्यार्थीहरु पढाईमा अब्बल हुन् भन्ने चाहन्छन् । तर उनी एक्लैले चाहेर यो सम्भव हुँदैन ।

‘आफूले अंगालेको पेशा र संस्थालाई अब्बल बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ’ उनी भन्छन्, ‘तर शिक्षक एक्लैले शिक्षक एक्लैले चाहेर सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिदो रहेनछ ।’ विद्यालयको शैक्षिक गुणस्तर सुधार्न अभिभावक सबैभन्दा धेरै जिम्मेवार हुनुपर्ने उनको बुझाई छ ।

‘शिक्षकले कस्तो पढाउँछ, घरमा बालबालिकाले पढेका छन् कि छैनन् भनेर हरेक अभिभावले निगरानी गर्नुपर्दछ’ उनी भन्छन्, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकसँगै अभिभावक पनि जिम्मेवार बन्नुपर्दछ ।’ शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षक–अभिभावक संघ जिम्मेवार भएमात्रै सामुदायिक विद्यालयको गुणस्तरलाई अब्बल बनाउन सकिने उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया