साथीको ससुराली जाँदा पहिलो भेट

देवी विसी/थिरेन्द्र विसी

भनिन्छ, विहे हुनका लागि जुर्नुपर्छ । कसैले चाहेर मात्र हु ँदैन, जीवनसाथी बनाउन वा कसैको प्रेम पाउनका लागि जुर्नु नै पर्छ । देखेको हु ँदैन, लेखेको हु ्न्छ भनेजस्तै भयो दैलेखका थिरेन्द्र विसी र देवी विसीको जीवनमा पनि ।

उनीहरुको जन्म फरक गाउँमा भयो । बाल्यकालमा पढ्न स्कुल पनि अलग नै थियो । एकदिन थिरेन्द्र साथीको ससुराली गाउँ गए । त्यहीबेला उनले देवीलाई देखे । अनि उनीहरुको लगन जुराउने ढोका खुल्यो । पहिलो पटक नै भेट हुँदा मन पराए । अनि प्रेम गरे । त्यसपछि बिवाह पनि भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

साथीको ससुराली जाँदा चिनजान
थिरेन्द्र विसी साथीको ससुरालीमा जान्थे । त्यहाँ उनले एकदिन एउटा केटीलाई देखे । साथीसँग उनी को हुन् भन्दै साधे । उनको साथीले ति केटीको नाम देवी भएको बताए। अनी दुबै जनाको भेट गराइदिने बचन पनि दिए।

देवीको बारेमा सबै कुरा सुनेपछि थिरेन्द्रले एकदिन भेट्ने निर्णय गरे । अनि साथीकै माध्यमबाट उनीहरु दुबैको भेट गराइयो । थिरेन्द्रले मन पराएको कुरा उनको साथीले देवीलाई सामान्य संकेत गरेका थिए।

उनीहरुको पहिलो भेट २०४५ सालमा भएको थियो । पहिलो भेटमा थिरेन्द्र मात्र होइन, देवीले पनि मन पराइन् । थिरेन्द्रले शुरुको भेटमा नै जीवनसाथी बनाउनुपर्छ भनेर सोच बनाइ सकेका थिए । सामान्य परिचयबाहेक त्यो दिन खासै कुरा केही भएन । तर दुबै जना भने एकअर्काप्रति आकर्षित भएका थिए ।

त्यो पहिलो प्रेमपत्र
त्यसबेला अहिलेको जस्तो टेलिफोन र सामाजिक संजालको जमाना थिएन । थिरेन्द्र भन्छन, ‘ अहिलेको जस्तो छिट्टै खबर पुग्ने सुविधा भएको भए त त्यहीदिन राती नै प्रेम प्रस्ताव र आफ्ना मनका कुरा व्यक्त गरिन्थ्यो होला, तर त्यो सम्भावना थिएन।’ दुबैजना भेट भएको दिनदेखि नै एक अर्कालाई सम्झना गरिरहेका थिए ।

मनभित्र प्रेमका मुनाहरु पलाउन थालेका थिए। अनि थिरेन्द्रले साथीमार्फत एउटा प्रेमपत्र कोरे । त्यही पत्रमार्फत आफुले मन पराएको कुरा देवीलाई भने । देवीलाई पनि आफुले मन पराएको मानिसको पत्र पाएपछि खुशी नै लागेको थियो । पत्रमा मायाप्रेम मात्र होइन, सबै व्यवहारिक कुरा पनि उल्लेख थियो ।

देवीले त्यो पत्र पढेपछि मायाको संसारमा डुबेको जस्तो लाग्यो । अनि केही दिनपछि उक्त पत्रको जवाफ देवीले पठाइन् । उनले आफुले पहिलो भेटमा भद्र र सालिन स्वभावको देखेको र आफ्नो मनमुटुमा बसालेको उल्लेख गरेकी थिइन् । पत्र पाएपछि थिरेन्द्र र देवीको प्रेम औपचारिक रुपमा अगाडी बढ्यो ।

भेट्ने दिन कुरेर बस्थे
उनीहरुको घरको दुरी करिब तीन घण्टाको पैदल दुरीमा थियो । थिरेन्द्र देवीलाई भेट्न तीन घण्टाको पैदल हिँडेर हरेक शनिबार देवीको गाउँमा जान्थे । उनीहरु भेटमा मायाप्रेमका कुरा गर्थे । माया गहिरो हुँदै गयो ।

शुरुमा त देवी कुरा गर्न लाज मान्थिन् । तर पछि भने उनी पनि खुलेर कुरा गर्न थालिन् । शनिबारको भेटमाबाहेक अन्यबेला उनीहरुबिचमा कुराकानी हुने कुनै माध्यम थिएन। घरपरिवारलाई छलेर उनीहरु भेट गर्थे ।

शुक्रबार आयो भने दुबैजना भोली भेट हुनेदिन भन्दै उत्साहित हुन्थे । त्यतिबेला प्रेम गर्दाको अुनभव सुनाउँदै उनीहरु भन्छन्, उतिबेलाको ति दिनहरु एकदमै रमाइला छन् । पहिलो पत्र पठाउँदा र त्यसको जवाफ आउँदा थिरेन्द्रलाई धेरै खुशी लागेको थियो । देवी पनि खुशी बनेकी थिइन् ।

भागेर विहे
उनीहरुले लामो समय प्रेमीप्रेमीका भएर माया गरे । करिब १८ महिनापछि उनीहरुले बिवाह गर्ने निर्णय गरे । दुबैको घरपरिवारमा यस विषयमा धेरै जानकारी थिएन । अब त सँगै बस्नुपर्छ भनेर सल्लाह गरे ।

घरपरिवारमा पनि यस विषयमा जानकारी गराउने उनीहरुको सोच थियो । तर अस्वीकार गर्ने डरले उनीहरुले २०४६ माघ १३ गते भागि बिवाह गरे । बिवाह गर्ने समयमा थिरेन्द्रले स्थायी शिक्षकको जागिर खाइ सकेका थिए ।

बिवाह गरेर घरमा जाँदा देवीलाई केही फरक अनुभव भयो । विरानो गाउँ, विरानो ठाउँसँगै घरमा पाउँनालाई सत्कार गर्नुपर्ने केही अफ्ठेरो महसुश त भएको थियो । तर थिरेन्द्रको परिवारको माया र साथले उनी घुलमिल भइन् ।

हनिमुन जान गाडी चल्थेनन्
भर्खर बिवाह गरेको जोडी रमाइला ठाउँहरुमा जाने र मायाप्रेमको कुरा गर्ने भनिन्छ । थिरेन्द्रले पनि हनिमुन जानुपर्छ भन्ने सोच बनाएका थिए । तर त्यसबेला चलन पनि थिएन । अहिलेको जस्तो आवातजावत गर्न यातायातको सुविधा पनि थिएन । अनि हनिमुन मनाउन जाने योजना योजनामै सिमित हुनपुग्यो ।

जीवनमा संघर्ष
बिवाहपछि उनीहरुले संघर्ष धेरै गरे । थिरेन्द्र गाउँकै विद्यालयमा स्थायी शिक्षकको रुपमा काम गर्थे । छोराछोरी हुर्काउनुपर्ने, आफ्नो पेशासँगै अन्य सामाजिक काम गनुपर्ने मात्र नभएर धेरै संघर्ष गर्नुपर्यो ।

संघर्ष नै जीवन भनेर बुझेको यो जोडीले हरेक काममा मेहेनत गर्थे । त्यही मेहेनतकै कारण थिरेन्द्र प्रधानाध्यापक हुँदै गुराँस गाउँपालिकाको शिक्षा शाखामा श्रोत शिक्षकको रुपमा काम गरिरहेका छन् ।

देवीले आफ्ना जिम्मेवारी सम्हालिरहेकी छन् । देवीकै सहयोगमा आफु यहाँसम्म आएको थिरेन्द्र बताउँछन् । उनको छोरीले एमए पास गरेकी छन् । एक जना छोराले विएससी गरेर जागिरमा छन् भने अर्का छोरा कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन् । फुर्सदको बेला यो जोडी विभिन्न ठाउँमा घुम्न पनि जान्छन् ।

गाउँमै वित्यो बाल्यकाल
बुवा भक्तबहादुर बुढा र आमा मैनकला बुढाको कोखबाट २०२६ साल कात्तिक १७ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ जोरेबाँझमा थिरेन्द्रको जन्म भयो । उनको बाल्यकाल गाउँमै वित्यो । उनले जयजनता मावि जोरेबाँझमा कक्षा ८ सम्म पढे ।

९ कक्षादेखि भने वीरेन्द्रनगरमा रहेको अमरज्योति माध्यमिक विद्यालयमा पढे । त्यही विद्यालयबाट उनले एसएलसी पास गरेका हुन् । स्नातक भने शिक्षा क्याम्पस सुर्खेतमा पढे । यस्तै बुवा प्रेमबहादुर थापा र आमा धनसरा थापाको कोखबाट विसं २०२९ साल फागुन ४ गते दैलेखको गुराँस गाउँपालिका ७ लालिकाँडामा देवी विसीको जन्म भयो ।

उनको पनि परिवार मध्यम वर्गकै थियो । देवीको बाल्यकाल पनि गाउँमै वित्यो । उनले शान्ति मावि लालिकाँडामा ८ कक्षासम्म पढेकी हुन् भने एसएलसी पास भने जयजनता मावि जोरेबाँझबाट गरेकी हुन् । सरल स्वभावकी उनि सबैको सम्मान गर्न जानेकी छन् ।

प्रेम अनुभव
उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने र सुखदुखमा साथ दिनु नै प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुन्छ । उनीहरु भन्छन्, शंकाले सम्बन्ध विगार्छ ।

उनीहरुले अबको योजना सामाजिक सेवामा नै विताउने छ । अन्य जोडीहरुलाइ पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हासिल हुने सुझाव दिन्छन् ।

तपाईको प्रतिक्रिया