राजनीतिमा रमाउँदै कलाकार, भन्छन्- देशको मुहार फेर्न सक्षम छौँ

काठमाडौं : स्थानीय तहको चुनाव आउन डेढ महिना मात्र बाँकी छ। वैशाख ३० का लागि तोकिएको चुनावका लागि दलहरू प्रचारप्रसारमा व्यस्त छन्।

कार्यकर्ता भित्र्याउने लहर चलेको छ दलभित्र। मानौं, चलचित्रमा खलनायकबाट नायिकालाई मुक्त गर्ने हिरोको जस्तै रोल प्ले गरिरहेका छन् दलका नेताहरू।

यतिखेर राजनितिक गरमागरम चलिरहँदा चलचित्रको पर्दामा कम देखिन थालेका कलाकारहरू पनि राजनीतिक दलमा खुलेर लागेका छन्। केही समय अघि माओवादीको सदस्य त्यागेर राप्रपामा महामन्त्री लड्न पुगेकी रेखा थापा अहिले राप्रपाको चुनावी गतिविधिमा सक्रिय छन्। महामन्त्रीमा पराजित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

राप्रपाको सदस्य बनेपछि कुनै समय माओवादीको अध्यक्ष प्रचण्डसँगै नृत्य गरेकी रेखालाई अहिले प्रचण्ड साहुजी जस्तै लाग्ने टिप्पणी गर्न थालेकी छन् उनले। । जनताकै अधिकारकै निम्ति त्यही पार्टीबाट आवाज उठाएकी रेखालाई त्यो पार्टी र पार्टीका नेतृत्वप्रति वितृष्णा छाएको छ।

‘मलाई प्रचण्ड र केपी ओली साहुजी जस्तो लाग्छ’, उनले भनिन्, ‘सधैँ हामी यही पुरानै अनुहारमा रुमलिरहने? तिनै पुरानो अनुहारलाई सत्तामा पुर्‍याउँदा के परिवर्तन भए त?’

चलचित्र हिरोबाट नेपाली सिने जगतमा पाइला टेकेकी रेखाले किस्मत , जीवन रेखा, मेरो एउटा साथी छ, लंका , रावण , काली लगायतका २०० भन्दा बढी चलचित्रमा अभिनय गरेकी छन्। उनी एक सफल निर्माता पनि हुन्।

रेखा जस्तै नायिका करिश्मा मानन्धर पनि राजनीतिमा खुलेर पौडिन थालेकी छन्। उनी केही दिन अघि मात्र नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

एमाले अध्यक्ष केपी ओलीसँग ६ महिनाको अन्तरमा करिश्माले दुई पटक भेट गरेर केही दिन अघि पार्टी नै प्रवेश गरिन्। तत्कालिन नयाँ शक्ति पार्टीमा रहदा बाबुराम भट्टराईको गुनगान गाएर नथाक्ने करिश्मालाई आज नेकपा एमाले र एमालेका अध्यक्ष केपी ओली असाध्यै मन परेको छ। ‘ओली ज्यूको व्यक्तित्वप्रति म प्रभावित छु , उहाँको कुरा सुनेर म कहिल्यै थाक्दिनँ’, उनले पार्टी प्रवेश गर्ने दिन ओलीप्रति गुणगान गाउँदै भनेकी थिइन्, ‘ म देशका विभिन्न भागमा पुग्दा अर्को पार्टीको मान्छेले उहाँको गुणगान गाएका हुन्छन्।’

उनले एमालेमा प्रवेश कुनै स्वार्थ नभएको प्रष्टाएकी छन्। ‘मलाई यो पद चाहियो , त्यो पद चाहियो भनेर कुनै सौदाबाजी नगरी निःस्वार्थ ढंगले पार्टीमा प्रवेश गरेको छु’, उनले भनिन्, ‘एमालेमा रहेर राजनीति गर्ने रहर जागेको छ, जिम्मेवारी दिए पछि पनि हट्दिनँ।’

पछिल्लो समय ८ कक्षाबाट फेरि पढाइमा लागेकी उनले स्नातक तहमा अध्ययन गरिरहेकी छन्। ३ दशक नेपाली रजतपटमा रमाएकी करिष्माले २०४२ सालमा सन्तान चलचित्रबाट सिने जगतमा पाइला टेकेकी थिइन्। दंगा फसाद नामक हिन्दी चलचित्रमा समेत अभिनय गरेकी उनका ट्रक ड्राइभर, बाबुसाहेव, वसन्त, ढुकढुकी, भाउजू लगायतका चलचित्र चर्चित छन्।

रेखा र करिश्मा मात्रै होइनन् नेकपा माओवादी केन्द्रमा रहेका युवराज लामा पनि आफ्नै ढंगले लागिरहेका छन्। उनी केही समय अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव समेत भइसकेका छन्। देउता, खानदान, खेलौना, देवदूत, देशपरदेश लगायतका चलचित्र छन्।

चुनावमा बिक्ने फिगरलाई भित्र्याउने र मतदाता आकर्षित गर्नेमा दलका नेताहरू कम्मर कसेका छन्। कलाकार पनि वर्षौँ संघर्ष गरेका नेता कार्यकर्तालाई पछि पारेर अवसर लिन तछाडमछाड नै गरिरहेका छन्। ‘पोइल जान पाम शिव, पोइल जान पाम’ भन्ने गीत गाउने कोमल वली त एमाले पार्टीमार्फत राष्ट्रियसभा सदस्य नै बनिसकेकी छन्। देश र जनताका लागि भनेर पदमा पुग्ने तर माखो नमार्ने नेताहरूको साथ पाएर कलाकार पनि मक्ख छन्।

गायक चेतन सापकोटा माओवादी केन्द्रको प्रचारात्मक गीत गाउँदै हिडेँका छन्। यस्तै गायक विमल राज क्षेत्रीले कांग्रेस र बद्री पंगेनीले एमालेप्रति आस्था देखाइरहँदा कलाकार शिवशंकर जोगिन्दर र निर्माता रोज राणाले पनि कांग्रेसमा खुलेर लागेका छन्।

चपली हाइटका हिरो राज घिमीरे पनि माओवादी केन्द्रमै आस्था राख्छन्। गोदावरी – ४ मा उनी यसअघि वडा अध्यक्षमा चुनाव लडेका थिए।

थाहाखबरबाट

तपाईको प्रतिक्रिया