पहिलो भेटमै मन परयो, परिवारको सहमतिमा विहे

सम्बन्धले मानिसलाई सामाजिक बनाउँछ । यसकारण पनि मानिसले जीवनमा धेरैसँग सम्बन्ध स्थापित गर्ने प्रयास गर्दछ । तर केही सम्बन्धहरु भने व्यक्तिले चाहेर सम्भव हुँदैन । त्यसमा पनि जीवनसाथी छनौट गर्ने विषय सबैका लागि सहज हुँदैन ।

यसकारण जीवनमा केही सम्बन्धहरु आफन्तले नै जुराइदिन्छन् । यस्तै भयो डाक्टर केएन पौडेल र मोनिका गौतमको जीवनमा पनि । हाल प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टर पौडेल विहे गर्ने योजनामा थिए ।

त्यहीबेला उनका आफन्तले मोनिकासँग भेट गराए । पहिलो भेटमै उनीहरु एकअर्काप्रति आकर्षित भए । अनि विहे भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

आफन्तमार्फत पहिला भेट
डाक्टर केएन पौडेलको बिवाहका लागि घरमा चर्चा चल्यो । उनी पनि बिवाह गर्ने सोचमै थिए । आफन्तले केएनको बिवाहका लागि भन्दै केटी देखाउन लगे । आफन्तले देखाउन खोजेकी केटी थिइन् मोनिका गौतम ।

मोनिका काठमाडौंमा पढ्दै थिइन् । मोनिकालाई पनि केएनसँग भेट गराउने भनि पहिले नै जानकारी दिइएको थियो । अनि दुबै जनालाई काठमाडौंमा भेट गराइयो । पहिलो भेटमै दुबै जना एकअर्कामा आकर्षित भए । केएन भन्छन, ‘मैले उनलाई पहिलो भेटमा नै उनी मेरो जीवनसाथी भन्ने लागेको थियो, सायद विहेकै कुरा दिमागमा बोकेर भेट्न गएकाले पनि त्योबेला त्यस्तो लाग्यो होला ।

म त उनलाई देख्ने वित्तिकै आकर्षित भएको थिएँ ।’ मोनिकालाई पनि केएन देख्दा भलाद्मी जस्तो लागेको थियो । उनले पनि त्यो भेटलाई महत्वपूर्ण र जीवनको सुरुवात भएको ठानिन् । उनले केएनलाई भेट गराउने व्यक्तिप्रति मनमनै धन्यवादसमेत दिएकी थिइन् । पहिलो भेटमा उनीहरुबीच सामान्य कुराकानी मात्र भएको थियो ।

पहिलो भेट नै बिर्सन सकेनन्
पहिलो भेटमा दुबै जनाले एकअर्कालाई मन पराए । पहिलो भेट उनीहरुका लागि स्मरण गर्न लायक नै बन्यो । अनि रातमा निद्राबाट बिउँझदा पनि केएनले आँखा वरपर मोनिकालाई देख्न थाले । उता मोनिकालाई पनि पहिलो भेट बिर्सन नसकिने भयो ।

उनी जतिबेला पनि बिवाह गर्न राजी हुने सोचमा थिइन् । अनि दुबै परिवारमा विहेको कुराकानी अगाडी बढ्यो । घरपरिवारको योजनामा दुबैको इन्गेजमेन्ट भयो । त्यसपछि दुबैजना उत्साहित भए । तर धेरै कुराकानी भने भएको थिएन । दुबै परिवारले छिट्टै नै बिवाह गराइदिने सहमति गरे । उनीहरु कहिलेकाँही फोनमा कुराकानी गर्ने बाहेक धेरै कुरा भने गरेका थिएनन् ।

परिवारको सहमतिमा विहे
त्यो काठमाडौंको पहिलो भेट अब बिवाहमा परिणत हुने निश्चित भयो । परिवारकै सल्लाहमा उनीहरुको २०७१ साल माघ २८ गते बिवाह भयो । इन्गेजमेन्ट भएको एक महिनापछि उनीहरुको विहे भएको थियो ।

बिवाहपछि उनीहरुबीच गहिरो माया बस्दै गयो । विहेअघि उनीहरुबीच धेरै कुराकानी हुन पाएको थिएन । एकअर्काको बानी र व्यवहार पनि बिवाहपछि मात्र थाहा पाए केएन भन्छन्, ‘बिहेपछि त छुट्नै मन नलाग्ने भयो, जतिबेला पनि सँगै बसेर कुराकानी गरिरहुँ जस्तो हुन्थ्यो ।’

मोनिकालाई पनि त्यस्तै हुन्थ्यो । केएन कतै बाहिर गएको बेला पनि छिट्टै आइदिए जस्तो लाग्थ्यो उनलाई । बिवाह भएर घरमा आउँदा केहीदिन बिरानो लागे पनि मोनिकालाई केएनको मायाले ति सबै कुरा बिर्साइदियो ।

रमाइलो हनिमुन
बिवाहपछि उनीहरु हनिमुन मनाउन घरबाट निस्किए । १४ दिनसम्म हनिमुनका लागि बाहिर गएका उनीहरु भारतको नैनीताल र नेपालको पोखरा लगायतका ठाउँमा पुगे ।

धेरैदिन त्यतै बसेका उनीहरु त्यो क्षण अहिले पनि दिमागमा ताजै छ रहेको र धेरै रमाइलो भएको बताउँछन् । त्यससँगै उनीहरु भारतका विभिन्न ठाउँसँगै बैंककमा पनि घुम्न गएका थिए ।

संघर्षले सफलता
बिहेपछि यो जोडीले अभाव भोग्नु परेन । तर संघर्ष भने धेरै गरे । मोनिका आफ्नो पढाइका लागि विहेपछि काठमाडौं गइन् । केएनले एमडी गरेर विकट जिल्लाहरुमा स्वास्थ्य सेवा दिनुपर्छ भन्ने सोच बनाए । उनी सुर्खेत आए ।

सुर्खेत आएका केएनले २०७२ मा साविकको क्षेत्रिय अस्पतालमा अस्थायी रुपमा काम गर्न थाले । दुई बर्षपछि उनी स्थायी भएर काम थाले । अहिले उनी प्रदेश अस्पताल सुर्खेतमा सिनियर कन्सल्टेन्ट फिजीसिएन एवम मेडिशिन विभागको प्रमुख भएर काम गरिरहेका छन् ।

दुबैले एकअर्काको काम र पढाईलाई धेरै साथ र सहयोग दिन्थे । अहिले पनि उनीहरु संघर्षमै छन् । केएन बिहानदेखि रातीसम्म काममै हुन्छन् । मोनिकालाई पनि घरव्यवहार सम्हाल्नुपर्ने र छोरालाई हुर्काउनुपर्ने हुन्छ ।

मोनिकाको साथले नै आफु यो स्थानमा आउन सकेको केएन बताउँछन् । परिवारलाई धेरै समय दिन नपाइने पेशामा केएन छन । तर त्यो पेशालाई बुझेकी छन् मोनिकाले । एकअर्काको विश्वास र साथले नै संघर्षबाट सफलता पाइने उनीहरु बताउँछन् । अहिले उनीहरु वीरेन्द्रनगरमा बस्छन् ।

सुखद थियो बाल्यकाल
बुवा टंकलाल पौडेल र आमा कमलालक्ष्मी पौडेलको कोखबाट विसं २०३९ साल फागुन २७ गते काठमाडौंमा केएन पौडेलको जन्म भयो । उनका बुवा सरकारी सेवामा थिए ।

सानोमा पौडेलले केही अभाव भोग्नु परेन । उनले सानो कक्षा काठमाडौंमा पढे । २०५६ सालमा एसएलसी पास गरेका उनले प्लसटु साइन्समा गरे ।

दुई बर्षको तयारीमा उनले सरकारी छात्रावृत्तिमा डाक्टर पढ्ने मौका पाए । पौडेलले कलेज अफ मेडिकल भरतपुरबाट एमविविएस पढे । त्यसपछि सरकारी छात्रावृत्तिमा नै धरानबाट एमडी गरे ।

उनी बाल्यकालदेखि पढाइमा धेरै मेहेनत गर्थे । यस्तै बुवा मातृका गौतम र आमा लक्ष्मी न्यौपानेको कोखबाट २०४९ साल साउन ४ गते बुटवलमा मोनिका गौतमको जन्म भयो ।

उनका बुवा सरकारी सेवामा हुँदा बाल्यकाल अर्घाखाँची र बुटवल लगायतका ठाउँमा वित्यो । उनले २०६४ सालमा एसएलसी पास गरिन् । प्लसटु पनि २०६७ सालमा काठमाडौंबाट गरेकी उनले बिबिए पनि काठमाडौंबाट नै गरेकी छन् । एमबिएम्म पढेकी गौतम समझदार र सहयोगी स्वभावकी छन् ।

के हो प्रेम ?
उनीहरुका अनुसार आपसमा कुरा बुझ्ने, सुख र दुखमा साथ दिनु नै प्रेम हो । जोडीमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुने उनीहरुको भनाइ छ ।

शंकाले सम्बन्ध विगार्ने उनीहरुको बुझाइ छ । उनीहरुको अबको योजना भनेको सामाजिक सेवामा नै विताउने छ । अन्य जोडीलाई विश्वास र आपसी समझ्दारीमा जीवन विताउन यो जोडीको सुझाव छ ।

तपाईको प्रतिक्रिया