‘उषाले नै टोपेन्द्रलाई छिटो विहे गरौं भनिन्’

उषा चन्द/टोपेन्द्र शाही

जीवनमा कयौं साथी हुन्छन् । तर जीवनसाथी नै सबैभन्दा माथि हुने गर्दछ । जीवनमा सँगै बाँच्ने र मर्ने कसम खाएर प्रेमीप्रेमिकाहरु विहे गर्दछन् । तर विहे सहजै जुर्दैन । यसका लागि धेरै मेहनत र लगानी पनि गर्नुपर्ने हुन्छ । मन पराएर मात्र कहाँ पाइन्छ र ? मन पराएको मान्छेलाई पाउन धेरै मेहनत पनि गर्नु पर्दछ । यस्तै भयो दैलेखका टोपेन्द्र शाही र उषा चन्दको जीवनमा पनि । भाउजुको माइतीमा जाँदा पहिलोपटक टोपेन्द्रले उषालाई देखे । भाउजुको बहिनी भन्ने थाहा पाएपछि उषालाई आफ्नो बनाउने सोच टोपेन्द्रको मनमा पलायो । जब आफ्नै भाउजुको बहिनी उषालाई मन पराए, तब टोपेन्द्रले उषालाई मनाउन दुई पटकसम्म प्रेम प्रस्ताव गरे । अनि यो जोडीको सम्बन्ध गहिरो बन्दै गयो । एकदिन उनीहरुले भागेर विहे गरे । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

भाउजुमार्फत चिनजान
टोपेन्द्रका दाईले दैलेखको गोगनपानीबाट बिवाह गरेका थिए । टोपेन्द्र भाउजुसँगै गोगनपानी गए । त्यहाँ पुगेपछि भाउजुको बहिनी उषालाई देखे । देख्नेवित्तिकै उनले भाउजुको बहिनीलाई मन पराए । यो २०५७ सालको कुरा थियो ।

टोपेन्द्रले यो कुरा आफ्नो भाउजुसँग भने । पहिलो भेटमै टोपेन्द्रले उषालाई बोलाएका थिए । उषा पनि पहिलो भेटमा नै टोपेन्द्रबाट प्रभावित भएकी थिइन् । त्यसपछि उनीहरु बिचमा भेट्न पाएनन् । कहिलेकाँही भाउजु माइतीमा जानेबेला भने टोपेन्द्रले उषालाई सम्झिएको सन्देश पठाउँथे ।

दुईपटक प्रेम प्रस्ताव
एक बर्षपछि उषा आफ्नो दिदीको घरमा गइन् । दिदीको घरमा गएको बेला टोपेन्द्रसँग भेट भयो । धेरैपछि भेट भएपछि उनीहरुबिचमा कुराकानी भएको थियो । टोपेन्द्रले आफुले मन पराएको कुरा उषालाई बताउने निधो गरे ।

भोलिपल्ट बिहान उनले आफ्नो मनको कुरा बताउँदै आफुले मन पराएको भन्दै प्रेम प्रस्ताव राखे । उषाले पनि टोपेन्द्रलाई मन पराएकी थिइन् । तर उनले त्यो प्रस्तावको उत्तर दिइनन् । पछि भन्छु भन्दै लजाएकी थिइन् । उषा त्यतिबेला ९ कक्षामा पढ्दै थिइन् ।

त्योबेला अहिलेको जस्तो टेलिफोनको सुविधा थिएन । टोपेन्द्र त्यसबेला वीरेन्द्रनगरमा पढ्थे । उनी आफ्नो पढाइका लागि सुर्खेत झरे । उषाले पनि एसएलसी दिएर वीरेन्द्रनगर झरिन् । अनि उनीहरुबिचमा फेरि भेट भयो । भेटकाक्रममा टोपेन्द्रले दोस्रो पटक पनि प्रेम प्रस्ताव राखे । यसपाली भने उषाले प्रस्ताव स्वीकार गरिन् । अनि आफुले पनि मन पराएको बताइन् ।

भागी बिवाह
प्रेम झाँगिदै गयो । टोपेन्द्रले परिपक्व भएपछि मात्रै बिवाह गरौँला भनेर उषालाई बचन दिएका थिए । तर उषाले छिट्टै बिवाह गर्न भनिन् । घरपरिवारमा यसबारेमा केही थाहा थिएन । उषाकै प्रस्तावमा ढिलो गर्ने भनिएको बिवाह २०६२ सालमा भयो ।

उनीहरु वीरेन्द्रनगरबाट भागेर घरमा गए । बिवाह गर्दा टोपेन्द्र २१ बर्षका र उषा १७ बर्षकी थिइन् । सानै उमेरमा बिवाह हुँदा सबै कुरा थाहा पाएकी थिइनन् उनले । घरमा फरक अनुभव गरिरहेकी थिइन । घरपरिवार र टोपेन्द्रले उनलाई धेरै माया गरे । उनी विस्तारै घुलमिल हुँदै गइन् ।

मेहनतबाटै स्थायी जागिरे
बिवाह भएपछि उनीहरु वीरेन्द्रनगर आए । वीरेन्द्रनगरमा भाडामा बसेर पढाइलाई निरन्तरता दिन थाले । उनीहरुले अभावमै आफ् नो पढाइलाईं निरन्तरता दिए । टोपेन्द्रले नीजि विद्यालय पढाउन थाले । यसले खर्च धान्न सजिलो भयो । गाउँमा बुहारीले पढ्नुपर्छ भन्ने सोच थिएन । तर उषाले घरमै अध्ययन गरेर पनि आईएड सकिन् ।

टोपेन्द्र भने व्याचलर पढ्दै थिए । उनीहरुको बच्चा भयो । त्यसपछि झनै जिम्मेवारी बढ्दै गयो । एकातिर छोराछोरी हुर्काउनुपर्ने र अर्कोतर्फ पढाइलाई निरन्तरता दिनुपर्ने थियो । आर्थिक अवस्था पनि कमजोर थियो । टोपेन्द्रले गाउँमा अस्थायी शिक्षक भएपछि खर्च चलाउन सहज भयो । उषाले घरमै अध्ययन गरेर व्याचलर सकिन् । दुबै जना शिक्षकसेवा आयोगको तयारीमा जुटे ।

तर उषा अन्तरवार्तामा असफल भइन् भने टोपेन्द्रले स्थायी शिक्षकमा २०७० मा नाम निकालेर दैलेखको गुराँस गाउँपालिका ७ मा पोष्टिङ भए । उषाले फेरि आयोगको तयारी गरिन् । उनले मावि तहको शिक्षकमा २०७३ सालमा नाम निकालिन् । अहिले उषा सुर्खेतको वराहातालस्थित फिनिकाँडामा रहेको सरस्वती मावि सिरुपाटामा प्रधानाध्यापक छन् भने टोपेन्द्र जनसेवा मावि घुस्राको शिक्षक छन् ।

बाल्यकाल कस्तो थियो ?
बुवा केशरबहादुर शाही र आमा बालु शाहीको कोखबाट २०४१ साल पौष १० गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ चिसापानीमा टोपेन्द्र शाहीको जन्म भयो । सामान्य परिवारमा जन्मिएका उनको ११ बर्ष सम्मको बाल्यकाल गाउँमै वित्यो । उनले लक्ष्मी मावि रतिखोलामा १० कक्षासम्म पढे ।

त्यही माविबाट २०५७ सालमा एसएलसी गरेका उनले घरको काम गरेर विद्यालय जान्थे । घाँसदाउरा काट्ने काम गर्थे । सहयोगि स्वभावका उनी अरुको दुखमा साथ दिने गर्दछन् । यस्तै बुवा बलबहादुर चन्द र आमा बालकुमारी चन्दको कोखबाट विसं २०४४ साउन १५ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ५ सानाकाँडामा उषा चन्दको जन्म भयो ।

उनको बाल्यकाल सुखद् भएन । उनी पाँच बर्षको हुँदा उनको बुवाको निधन भयो । उनको घरको आर्थिक अवस्था कमजोर थियो । सानो कक्षा गाउँमै पढेकी उनले कृष्ण मावि सानाकाँडामा कक्षा ७ सम्म पढिन् । ८ कक्षादेखि भने उनले पार्वती मावि गोगनपानीमा पढिन् । पढाइ राम्रो थियो । उनले २०६२ सालमा पार्वती माविबाट एसएलसी पास गरिन् ।

सल्लाह र सहकार्य
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझदारीमा गर्छन् । काम गर्नुभन्दा पहिले उनीहरुको बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । प्रायः दुबैजना आफ् नो काममा व्यस्त हुने भएकाले कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् । विश्वास र मायाले नै जीवनलाई सफल बनाउन सकिने उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया