देशभरका विद्यालयको अनुगमन एकै वेबसाइटबाट हुँदै

काठमाडौं, ३ फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयको अवस्था अब वेबसाइटमा नै हेरी अध्ययन गर्न सकिने प्रणाली विकास गर्ने तयारी गरेको छ ।

विद्यालय नक्सांकन नाम दिइएको उक्त प्रणालीले सबै विद्यालयको अवस्थाबारे विवरण उपलब्ध गराउने शिक्षा मन्त्रालयको भनाइ छ । ‘देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको काम भइरहेको छ ।

विद्यालयको आवश्यकता अनलाइनबाट नै हेरेर आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिन्छ,’ सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले भने, ‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेबसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ ।’

कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेबसाइटमा हेरेर थाहा हुने शिक्षा मन्त्रालयको भनाइ छ । यसबाट सार्वजनिक शिक्षाको गुणस्तर उठाउन सहयोग पुग्ने तथा योजना निर्माणका लागिसमेत सहज हुने विश्वास मन्त्रालयले लिएको छ ।

विद्यालय राम्रो बनाउन प्रध्यानध्यापकलाई बढी सक्रिय बनाउनुपर्ने मन्त्री पौडेलको भनाइ थियो। देशभर १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको र ७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको मन्त्री पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया